अमेरिका-चीन व्यापार युद्धको भरपुर फाइदा उठाउँदै छिमेकी भारत, आइफोन उत्पादनको हब बन्दै

उन्नत सापकोटा
२०८२ बैशाख १८ गते १३:२६ | May 1, 2025
अमेरिका-चीन व्यापार युद्धको भरपुर फाइदा उठाउँदै छिमेकी भारत, आइफोन उत्पादनको हब बन्दै


काठमाडौं। चीनमाथि अमेरिकाले फेरि व्यापार युद्ध थालेपछि अमेरिकी टेक जायन्ट एप्पलले दक्षिण भारतमा नयाँ प्लान्टबाट आइफोन उत्पादन थालेको छ। अमेरिकी करबाट आफ्ना उत्पादनलाई जोगाउन एप्पल चीनबाट भारतमा सिफ्ट भएको हो।

Tata
GBIME
NLIC

एप्पलले चीनमा भइरहेको आइफोन उत्पादनलाई अमेरिका र चीनबीच कर युद्ध चुलिएपछि भारततर्फ सार्न आक्रामक ढंगले रणनीति कार्यान्वयन गरिरहेको छ।

व्यापार युद्ध चुलिएपछि एप्पलले भारतलाई चीनको विकल्पका रुपमा लिएको हो। वासिङ्टन र बेइजिङबीचको व्यापारिक सम्बन्ध तनावपूर्ण हुँदै गएपछि एप्पलले भारतलाई वैकल्पिक उत्पादन बेसका रुपमा विकास गर्ने रणनीतिक बनाएको छ।

एप्पलले मेड इन चाइनाभन्दा मेड इन इण्डिया ब्राण्डमा उत्पादन हुने आइफोन अमेरिकामा बढीभन्दा बढी बिक्री गर्ने योजना बनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा १४५ प्रतिशतसम्म भन्सार लगाउने निर्णय गरेपछि आपूर्ति चक्र बिथोलिएर आइफोनको मूल्य अत्यधिक बढ्ने चिन्तामा एप्पल छ। त्यसैलाई चिर्न एप्पलले चीनबाट आइफोन उत्पादनलाई भारत सार्न थालेको हो।

भारतलाई भने अमेरिकाले २६ प्रतिशत ट्यारिफ लगाएको छ।

भारतको तमिलनाडू राज्यको होसुरमा टाटा इलेक्ट्रोनिक्सले केही दिन अघिबाट मात्रै आइफोन एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याएको छ।

ताइवानको फक्सकनले कर्नाटक राज्यमा २ अर्ब ६० करोड अमेरिकी डलर लगानीमा अर्को नयाँ प्लान्ट निर्माण गरिरहेको छ। केही दिनभित्र यो प्लान्टबाट पनि आइफोन उत्पादन सुरु गर्ने तयारी छ।

यो प्लान्टबाट प्रति घण्टा ३००-५०० आइफोन उत्पादन गर्न सकिने कम्पनीले बताएको छ। साथै, यही प्लान्टबाट आइफोन १६ र १६ इ मोडलको उत्पादन थाल्ने तयारी छ। प्लान्ट पूर्णरुपमा सञ्चालनमा आएपछि करिब ५० हजार जनाले रोजगारी पाउने अनुमान छ। प्लान्ट सन् २०२७ डिसेम्बरसम्ममा पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी छ।

विश्वभर उत्पादन हुने आइफोनमध्ये ७५ प्रतिशतभन्दा बढी चीनमा उत्पादन हुँदै आएको छ। भारतको हिस्सा १८ प्रतिशत छ।

एप्पलले सन् २०२६ को अन्तिमसम्म अमेरिकामा बिक्री हुने आइफोन भारतीय प्लान्टबाट उत्पादन गर्ने घोषणा गरिसकेको छ।

एप्पलले चीनमाथि लगाइएको कर छल्न मार्च महिनामा मात्रै २ अर्ब डलरबराबरको ६०० टन आइफोन अमेरिका सिपिङ गराएको थियो। यो मासिकरुपमा सिपिङ गरिएको हालसम्मकै सर्वाधिक हो। भारतमा टाटा र फक्सकनका प्लान्टमा उत्पादन गरिएका आइफोन एप्पलले अमेरिकी बजार पुर्‍याएको थियो।

एप्पलका लागि टाटा नयाँ आपूर्तिकर्ता हो। फक्सकन र टाटाले भारतमा मात्रै ५ वटा आइफोन फ्याक्ट्री सञ्चालन गरिरहेका छन्। ५ मध्ये दुईवटा प्लान्ट तमिलनाडूमै छन् भने एउटा कर्नाटकमा छ। एप्पलले सन् २०१७ बाट भारतमा आइफोन उत्पादन थालेको थियो।

भारतमा रहेका प्लान्टबाट आइफोन मात्रै नभएर इयरपड्सको उत्पादन पनि सुरु भएको छ। फक्सकनको हैदराबादस्थित प्लान्टबाट इयरपड्स उत्पादन सुरु भएको हो। यहाँ उत्पादन हुने इयरपड्स एप्पलले निर्यातकै लागि उपयोग गर्नेछ।

एप्पलले सन् १९८३ मा अमेरिकाकै रहेका दुईवटा प्लान्टबाट उत्पादन गर्थ्यो। टेक्ससमा १ लाख ५० हजार वर्गफिट र क्यालिफोर्नियामा अटोमेटेड सुविधासहितको प्लान्ट प्रयोग गरेर एप्पलले म्याक कम्प्युटर (म्याकिन्टोस्) उत्पादन गर्ने गरेको थियो।

श्रम लागत, आपूर्ति शृंखला व्यवस्थापन र उत्पादन विस्तारको चुनौतीसँग जुध्न एप्पललाई विदेशमा उत्पादनतर्फ आकर्षित गर्‍यो।

सन् १९९२ मा फ्रेमन्ट कारखाना बन्द हुनु एप्पलको उत्पादन यात्रामा एउटा महत्वपूर्ण मोड बन्न पुग्यो। जापानी उत्पादन प्रविधिबाट प्रेरित भएर स्वचालित अमेरिकी कारखाना बनाउने एप्पलका संस्थापक स्टीभ जब्सको सोच भए पनि उनले त्यो महत्त्वाकांक्षा पूरा गर्न सकेनन्।

एप्पल सन् २००० को दशकको सुरुवातमा चीन प्रवेश गर्‍यो। त्यतिबेला चीन विश्व अर्थतन्त्रसँग आफ्नो आर्थिक सम्बन्धलाई प्रगाढ बनाउँदै विस्तार गर्ने लयमा थियो। एप्पलले ताइवानी इलेक्ट्रोनिक्स निर्माता फक्सकनसँग साझेदारी गर्दै उत्पादन लागत घटाउने लक्ष्य लियो।

एप्पलले सुरुमा निकै लोकप्रिय बनेको आइपडसहित अन्य ग्याजेट्स चीनबाट उत्पादन गर्न थाल्यो। आइपडलाई एप्पलले सदाका लागि बन्द गरिसकेको छ।

सन् २००४ मा आइपुग्दा एप्पलले क्यालिफोर्नियाको एल्क ग्रोभस्थित आफ्नो अन्तिम अमेरिकी उत्पादन केन्द्र बन्द गर्‍यो।

एप्पलले सन् २००७ बाट आइफोन बिक्री गर्न थाल्यो। विभिन्न सहुलियतसहित कर छुटका आकर्षक स्किम पछि अमेरिकी टेक जायन्ट एप्पलको उत्पादन चीनमा दरिलोसँग जम्यो।

चीन सरकारले आफूकहाँ उत्पादन भएका एप्पलका उत्पादनको निर्यातलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गर्‍यो। विशेष आर्थिक क्षेत्र निर्माण गरेसँगै चीनको पूर्वी हेनान प्रान्तको झेङ्झाउ त आइफोन सिटीकै नामबाट चिनियो।

झेङ्झाउ अहिले पनि विश्वको सबैभन्दा ठूलो आइफोन उत्पादन साइट हो। त्यहाँ ९० भन्दा बढी एसेम्ब्ली लाइन निर्माण गरिएको छ। झेङ्झाउमा रहेको प्लान्टबाट प्रति दिन ५ लाख आइफोन उत्पादन हुने गर्छ। प्रति मिनेट ३५० वटा आइफोन उत्पादन यही प्लान्टबाट हुने गर्छ।

तर, कोरोना महामारीपछि भने एप्पललाई चिनियाँ प्लान्ट उपयुक्त बन्न छोडेको विश्लेषण गर्न थालियो। कोरोना महामारीका क्रममा एक जनालाई संक्रमण भए पनि सारा सहर ठप्प पार्ने कठोर लकडाउनले आपूर्ति चक्र निकै बिथोलिनुका साथै एप्पलको व्यापारमा धक्का पुग्यो।

दोस्रो भनेको आर्थिक हैसियत र शैक्षिक योग्यता निरन्तर बढ्दै गएपछि चीनका युवाहरु कम मूल्यमा काम गर्न तयार हुन छोडे। जसले गर्दा इलेक्ट्रोनिक्स् प्लान्टहरुमा युवा जनशक्तिको आकर्षण घट्दै गयो।

सस्तो जनशक्तिले कुनैबेला चीन छिर्न आतुर बनाएको एप्पललाई पछिल्लो समय यो कारणले पनि भारत सिफ्ट हुन बल पुगेको विश्लेषण गरिएको छ।