मुद्दतीको पैसा सेयर बजारमा आउँदा पनि नेप्सेको ओरालो ट्रेन्ड, लगानीकर्ता किन अन्योलमा?

सुनिल कुँवर
२०८२ बैशाख १७ गते ०६:०६ | Apr 30, 2025
मुद्दतीको पैसा सेयर बजारमा आउँदा पनि नेप्सेको ओरालो ट्रेन्ड, लगानीकर्ता किन अन्योलमा?

काठमाडौं। सूचकहरू अनुकूल हुँदाहुँदै सेयर बजार बढ्न सकेको छैन। बरु वैशाख ७ यता नेप्से ९१ अंकले ओरालो लागेको छ। ११ र १४ गते दुई दिनमा ५.६६ अंकले बढेको नेप्सेमा सोमबार र मंगलबार गरी २९.६१ अंकको गिरावट आएको छ।

Tata
GBIME

मुद्दती निक्षेपको ब्याजदर साधारण बचतभन्दा तल्लो विन्दुमा आएका कारण संस्थागत लगानीकर्ताहरूले सेयर बजारमा पैसा खन्याइरहँदा पनि नेप्से किन ओरालो लागिरहेको छ त?

बजारका जानकारहरू हरेकजसो सूचक सेयर अनुकूल भए पनि अर्थतन्त्रमा मन्दीको ‘ह्याङओभर’ कायम रहेकाले नेप्से उकालो लाग्न नसकेको बताउँछन्।

‘उद्योगी व्यवसायी यसअघिकै मन्दीका कारण थला परेका छन्। त्यही भएर उनीहरू तत्कालै उठेर दौडिन सक्ने अवस्थामा भएनन्। कन्फिडेन्स नआएकाले सेयर बजारमा सकारात्मक संकेत नदेखिएको हो,’ एक ब्रोकरले भने, ‘ब्याजदर तल्लो विन्दुमा छ। बजारमा लगानी गर्नका लागि अहिले उपयुक्त समय हो। तर, अहिले कुनै कुरा पनि प्रेडिक्टेबल छैन। गभर्नर नियुक्तिमा अन्योल छ। गठबन्धनमा खटपट रहेको जस्तो अभिव्यक्ति जिम्मेवार नेताहरूबाटै आएको छ। सडकमा धेरैवटा समूहको आन्दोलनले लगानीकर्तामा अन्योल बढाएकाले ब्याजदर तल्लो विन्दुमा आउँदा पनि बजार माथि जान सकिरहेको छैन। उल्टो घटिरहेको छ।’

विगतमा बैंकमा तरलता फालाफाल भइ ब्याजदर सस्तो हुँदा सेयर बजारमा तत्कालै प्रभाव देखिने गरेको थियो। २०७८ भदौमा बैंकहरूको कर्जाको ब्याजदर ८.४८ प्रतिशतमा आइपुग्दा नेप्सेले कीर्तिमान बनाएको थियो।

त्यतिबेलाभन्दा अहिले ब्याजदर सस्तो छ। वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर ८.४ प्रतिशतमा झरेको छ। अपेक्षितरुपमा ऋण विस्तार नभएपछि बैंकहरूले ग्राहकलाई बोलाएरै सेयर धितो कर्जा दिइरहेका छन्।

तर, ब्रोकरले भनेजस्तै अन्योलका कारण बजारमा असर परेको छ।

एक महिनायता विभिन्न समूहले निरन्तर आन्दोलन गरिरहँदा सरकारले समाधान खोजेको छैन। नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय झनै पेचिलो बनेको छ। सरकारले सिफारिस समितिमा रिक्त सदस्य छानेको छैन। सरकार ढल्ने हल्ला मत्थर भएको छैन। सरकारमा रहेका प्रमुख दुई दलबीचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको अभिव्यक्ति ती पार्टीका शीर्ष नेताबाटै आइरहेको छ।

‘राजनीति अस्थिर भाे। ढुक्क हुने अवस्था भएन। कतैतिर पनि स्टेबिलिटी छैन। आज लगानी गरे पनि भाेलि के हुन्छ भन्ने लगानीकर्तामा परेकाे छ,’ एनआईएमबी एस क्यापिटलका डीसीइओ सचिन्द्र ढुंगानाले भने, ‘अर्कातिर कम्पनीकाे वित्तीय रिपोर्टले प्रतिफलको ग्यारेन्टी देखाएन। त्यही कारण ब्याजदर सस्तो र तरलता फालाफाल हुँदा पनि बजारले पत्याएन।’

लगानीकर्ताले लगानी गर्ने नयाँ उपकरण पाएका छैनन्। ठूलो आकारको निक्षेप बैंकहरूले लागत बढ्ने त्रासका कारण अस्वीकार गरिरहेका छन्।

बैंकहरूले मुद्दती निक्षेपलाई निरुत्साहित गरेपछि लगानी डाइभर्ट हुन थालेको छ। डिबेन्चरमा देखिएको आकर्षण यसको उदाहरण हो। सेयर बजारमा संस्थागत लगानीकर्ताका रुपमा रहेका म्युचुअल फण्ड, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतले मुद्दतीको निक्षेप घटाएर अरु ठाउँतिर लगानी बढाइरहेका छन्।

लगानीकर्तासँग फालाफाल पैसा हुँदा समेत बजारमा त्यसको प्रभाव नदेखिनुलाई उनीहरूको कन्फिडेन्स कमजोर भएको रुपमा लिनुपर्ने ‍विश्लेषकहरू बताउँछन्।

‘बैंकहरूले नै व्यवसाय गर्न सकिरेहका छैनन्। केही सुधार हुँदै गएको हो कि भनेजस्तो देखिएपनि ढुक्कको अवस्था बनेको छैन। जानीजानी कसैले पनि आफ्नो रकम फाल्न चाहँदैन,’ एक मर्चेन्ट बैंकरले भने, ‘सबैतिर अनिश्चितता भएकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् जस्तो लाग्छ।’

असारमा तेस्रो साता कांग्रेस र एमालेले सत्ता समीकरण गर्दा डेढ महिनामा ४६ प्रतिशतले बढेर साउन ३१ गते ३००० विन्दुमा पुगेको नेप्से अहिले २६३१.९८ विन्दुमा आइपुगेको छ।

कांग्रेस र एमालेको सत्ता समीकरण भत्किने हल्लादेखि राजावादीको प्रदर्शनले बजारलाई तरंगित बनाइरहँदा गभर्नर नियुक्तिमा देखिएको अन्योलले थप अनिश्चितता पैदा गरेको छ।

राष्ट्र बैंकका गभर्नरले लिने नीतिसँग सेयर बजार जोडिन्छ। यसअघिका गभर्नर महाप्रसाद अधिकारीलाई सेयर लगानीकर्ताले बजार विरोधीका रुपमा लिएका थिए। अधिकारीको कार्यकाल सकिन लागेको खुशीयालीमा फागुन १८ गते २८९० विन्दुमा पुगेको नेप्से उनको बिदाइपछि देखिएको अन्योलका कारण निरन्तर ओरालो यात्रामा छ।

सेयर बजारका विश्लेषक मुक्ति अर्याल राजनीतिक र नीतिगतरुपमा ‘प्रेडिक्टेबल’ नहुँदा बजारले कन्फिडेन्स नपाएको बताउँछन्।

‘बजारले कन्फिडेन्स खोजेको छ। गभर्नर र सरकारको स्थायित्व खोजेको छ,’ उनले भने, ‘नयाँ गभर्नर आएपछि बजारले पक्कै पिकअप लिन्छ। तर, गभर्नरको नियुक्ति कहिलेसम्म हुन्छ भन्न सक्ने अवस्था छैन।’