
काठमाडौं। उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएकामा असन्तुष्टि जनाएपछि ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन्।
तामाङले कुलमानलाई हटाइएकामा सार्वजनिकरुपमै असन्तुष्टि जनाएका थिए। यस्तै आगामी आर्थिक वर्षको बजेटको तयारीका सम्बन्धमा ओली र तामाङबीच केही विवाद भएको थियो।
‘बजेटको विषयमा प्रधानमन्त्री र मेरोबीचमा विवाद भएको थियो। मैले आफ्नो गृह जिल्लामा ३ करोडभन्दा कम बजेटका धेरै योजनाको खाँचो छ भनें। तर, प्रधानमन्त्रीले ३ करोडभन्दा कमका योजनामा बजेट दिन सकिंदैन भन्नुभयो। त्यसो गरे रामेछापको विकास पछि पर्ने कुरा गरेपछि प्रधानमन्त्री रिसाउनुभएको थियो,’ तामाङले भने।
आफूसँग विवाद गरेपछि ओलीले गृहमन्त्री रमेश लेखकलाई तामाङलाई राजीनामा दिन लगाउन भनेका थिए।
ओलीको आग्रह अनुसार बुधबार दिउँसो गृहमन्त्री रमेश लेखकले तामाङलाई फोन गरेर राजीनामा गर्न भनेका थिए। तर तामाङले ‘म राजीनामा गर्दिन’ भन्दै जवाफ फर्काए।
तामाङको जवाफ लेखकले ओलीकहाँ पुर्याए। लगत्तै ओलीले तामाङलाई बर्खास्त गरेका हुन्।
‘मलाई राजीनामा गर्न गृहमन्त्रीले भन्नु भएको थियो,’ तामाङले बिजमाण्डूसँग भने, ‘मैले राजीनामा गर्दिन, किन गर्ने भनेको थिएँ। तर, एकाएक हटाएको जानकारी आयो।’
तामाङ गत साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए। उनी कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट हुन्। ऊर्जामन्त्री दीपक खड्का भने शशांक कोइराला निकट मानिन्छन्।

कुलमानको विषयलाई लिएर खडका र तामाङबीच खटपट बढेको थियो। खड्काले कुलमानलाई हटाउने तयारी अगाडि बढाएपछि तामाङले सार्वजनिकरुपमै विरोध गरेका थिए।
निरन्तर घाटा बेहोरेको प्राधिकरणलाई कुलमानले नाफामा लगेको भन्दै हटाउनु गलत हुने बताएका थिए। त्यतिखेर तामाङले कुलमानसँग पटक पटक स्पष्टीकरण मागिएकामा असन्तुष्टि जनाउँदै ‘कुलमानले दीपक खड्काको घरमा भाँडा माझिदिनुपर्ने हो?’ भनी प्रश्न गरेका थिए।
उनले त्यसो भनेको ठिक एक महिनापछि चैत ११ गते खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले कुलमानलाई बर्खास्त गरेको थियो। कुलमानलाई बर्खास्त गरेपछि राज्यमन्त्री तामाङको सम्बन्ध ऊर्जासचिव सुरेश आचार्यसँग पनि चिसिएको थियो। आफू सहभागी कार्यक्रममा अतिथिको रुपमा मञ्चमा बस्न अस्वीकार गरेको विषयमा तामाङले चैत अन्तिम साता आचार्यसँग स्पष्टीकरण मागेका थिए।
ओलीले असहयोग गरेको भन्दै उनको पार्टी एमालेबाट शिक्षामन्त्री भएकी विद्या भट्टराईले दुई दिनअघि मात्र राजीनामा गरेकी थिइन्।
सरकारको कामकारवाही मन नपरेको भन्दै गभर्नर सिफारिस समितिको सदस्यबाट विजयनाथ भट्टराईले मंगलबार राजीनामा गरेका थिए।