
काठमाडौं। घट्दो प्रतिफलका कारण लगानीकर्ताको रोजाइमा पर्न छोडेका वाणिज्य बैंकको सेयरमा बिग्रिँदो वित्तीय अवस्थाले दबाब बढाएको छ। चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा ९ वटा वाणिज्य बैंकहरुको नाफा ओरालो लागेको छ।
बैंकहरुले पोहोर ९ महिनाको तुलनामा यसपालि १.४ प्रतिशतले खुद नाफा बढाएकामा धेरै सूचक बिग्रिंदै गएका छन्। खराब कर्जा औसतमा ४.७२ प्रतिशत पुगेको छ। यो २०८० चैतको तुलनामा १.५६ प्रतिशत विन्दुले धेरै हो।
नाफा खुम्चिएका कारण बैंकहरुको प्रतिफल क्षमता कमजोर बन्दै गएको वित्तीय विवरणले देखाउँछ। ९ महिनामा ४१ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुसँग लाभांश वितरण क्षमता ४ अर्ब ६८ करोड रुपैयाँ मात्र छ।
६ वटा वाणिज्य बैंकहरु सेयरधनीलाई प्रतिफल दिनसक्ने अवस्था देखिंदैनन्। उनीहरुको वितरणयोग्य नाफा ऋणात्मक छ। पुँजी वृद्धिको तुलनामा बैंकहरुले व्यवसाय विस्तार गर्न सकिरहेका छैनन्।
खराब कर्जा अस्वाभाविक बढ्दै गएका कारण बैंकहरु पुँजीकोष दबाबले अहिले आक्रामकरुपमा व्यवसाय विस्तार गर्न सक्ने अवस्थामा छैनन।
केही बैंकहरुको व्यवसाय विस्तारमा पुँजीकोषले अहिले नै ब्रेक लगाइदिएको छ। अर्कातिर खराब कर्जा वृद्धिले उनीहरुको गैर बैंकिङ सम्पत्ति(नन् बैंकिङ एसेट्स) थुप्रिंदै गएको छ।
बैंकको वित्तीय अवस्थामा देखिएको दबाबलाई यसपटक खराब कर्जा अनुपातले बाहिर ल्याइदिएको जानकारहरु बताउँछन्।
‘एनपीए बढ्दा बैंकहरुमा थप दबाब देखिएको छ। यसले एकातिर बैंकको प्रोफिटाबिलिटी घटेको छ भने पुँजीकोष दबाबका कारण बैंकहरुले व्यवसाय गर्नै नसक्ने अवस्था देखियो,’ विश्लेषक अनलराज भट्टराईले भने, ‘अर्कातिर गैरबैंकिङ सम्पत्ति बढ्दै जाने अवस्था आयो। अहिलेको यो दबाबबाट पोजेटिभ ट्रेन्डमा जानसके आगामी त्रैमासमा सुधार हुनसक्छ।’
बैंकहरुको खराब कर्जा निरन्तर बढ्दै गइरहेको छ। कर्जाकै ब्याजदर एकल अंकमा आउँदा समेत नयाँ ऋणको माग बढिरहेको छैन। त्यसो त लगानी गरेको रकम समेत नउठ्दा प्रोभिजनिङ बढाउनु परिरहेको छ।
स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट बैंकहरुको तेस्रो त्रैमासको रिपोर्टले सेयर लगानीकरक्ता थप हच्किने अवस्था आएको बताउँछन्।
‘बैंकको खराब कर्जा बढेको छ। यसले उनीहरु अझै पनि दबाबमा हरेको देखाउँछ। यो बजारका लागि राम्रो होइन,’ उनले भने, ‘बैंकको सेयर अहिलेको मूल्यभन्दा तल जाने अवस्था छैन। नभए रिपोर्टले झनै असर गर्ने थियो। जे भएपनि लगानीकर्ता बैंकको सेयर किन्न थप हच्किने स्थिति बनेको छ।’
नेप्से आइतबार १६.६८ अंकले घट्दा बैंकिङ उपसमूहको सूचक ०.७० प्रतिशतले ओरालो लाग्यो।
अर्थतन्त्रमा शिथिलताको असर बैंकहरुमा परेका कारण राष्ट्र बैंकले सहुलियत पुग्ने खालको नीति लिएको छ। राष्ट्र बैंकले बैंकको नाफामा सुधार हुने गरी असल कर्जाको प्रोभिजनिङ घटाएको छ।
बैंकहरुको अहिलेको वित्तीय अवस्था लगानीकर्ताका लागि अपेक्षित नै भएको भट्टराईको भनाइ छ। ‘यो रिजल्ट अपेक्षित नै थियो। तर, बजारले कर्पोरेट अर्निङलाई मात्रै लिड लिंदैन। कस्तो नीति लिने नयाँ गभर्नर आउँछन् भन्ने विषयमा बजारको ध्यान छ। नयाँ गभर्नरको टुंगो नलागेसम्म बजारले कुनै डाइरेक्सन लिंदैन,’ भट्टराईले भने।