नौ महिनामा भित्रियो २७ अर्बको ३२,४४४ विद्युतीय सवारी, चार पांग्रेमात्रै झण्डै २५ अर्बको

बिजमाण्डू
२०८२ बैशाख ७ गते १४:०३ | Apr 20, 2025
नौ महिनामा भित्रियो २७ अर्बको ३२,४४४ विद्युतीय सवारी, चार पांग्रेमात्रै झण्डै २५ अर्बको


काठमाडौं। चालु आवको ९ महिनामा ३२ हजार ४४४ युनिट विद्युतीय सवारीसाधन आयात भएका छन्। भन्सार विभागले आइतबार निकालेको तथ्यांक अनुसार चालु आवको साउनदेखि चैतसम्म ९ महिनामा ३२ हजार ४४४ युनिट विद्युतीय सवारीसाधन आयात भएका छन्। जसमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, प्यासेन्जर चार पाङ्ग्रे र कमर्सियल सबै रहेका छन्।

Tata
GBIME
NLIC

उक्त विद्युतीय गाडीहरु खरिद गर्न २७ अर्ब बराबर खर्च भएको छ। जसबाट सरकारले १३ अर्ब ७२ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

यसमा चार पाङ्ग्रे इभी २४ अर्ब ७६ करोड रुपैयाँ बराबरको १० हजार ४५ युनिट, दुई पाङ्ग्रे इभी ८० करोड रुपैयाँ बराबरको ८ हजार ३४८ युनिट र तीन पाङ्ग्रे इभी १ अर्ब ४६ करोड रुपैयाँ बराबरको १४ हजार ५१ युनिट आयात भएका छन्।

यसैगरी, पेट्रोल इन्जिन बाइक तथा स्कुटर १७ अर्ब रुपैयाँ बराबरको कुल १ लाख ४१ हजार ८३३ युनिट आयात भएका छन्। जसले भन्सार शुल्क १७ अर्ब ४२ करोड रुपैयाँ बुझाएको छ।

पेट्रोल तथा डिजल चार पाङ्ग्रे सवारी साधन ९ अर्ब ७७ करोड रुपैयाँ बराबरको ६ हजार २४८ युनिट आयात भएका छन्। यसबाट सरकारले १७ अर्ब रुपैयाँ भन्सार शुल्क बुझाएको छ। यसमा प्यासेन्जर र कमर्सियल दुवै सवारीसाधन छन्।