
काठमाडौं। शीर्ष दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनेको ९ महिना पुरा नहुँदै भित्रभित्र असमझदारी बढ्दो छ। पदावधि पुरा नहुँदै कुलमान घिसिङलाई नेपाल विद्युत प्रधिकरणबाट हटाएकोमा कांग्रेस रुष्ट छ। यता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि कांग्रेस र एमालेबीच हानथाप छ।
दुई ठुला दलको बलशाली सरकार सञ्चालनका लागि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र पनि बनेको छ। यद्यपि यही संयन्त्रमा रहेका कांग्रेस महामन्त्री गगन थापाले सरकारको कामप्रति निरन्तर आलोचना गरिरहेका छन्। कार्यसम्पादनमा तीव्रता आवश्यक रहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुस्त काम गरिरहेको आरोप उनले लगाएका छन्।
गगनको तीव्र असन्तुष्टिका बीच प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा सरकार परिवर्तन हुने दाबी गरे २०८१ को अन्तिम दिन। दुई दलका शीर्ष नेताको कुराकानी र चालढालबाटै सरकार परिवर्तनको गन्ध आफूले पाएको प्रचण्डको तर्क छ।
प्रचण्डको दाबी र कांग्रेसको असन्तुष्टिलगत्तै प्रधानमन्त्री ओलीले नयाँ वर्षकै दिन च्यासलस्थित मुख्यालयमा सचिवालय बैठक डाके। उक्त बैठकमा ओलीले संयन्त्रको विषय संयन्त्रमै राख्नुपर्ने गरी कांग्रेसलाई सचेत गरायो। ‘संयन्त्रको विषय संयन्त्रमै राख्न सकिन्छ। बाहिर राख्ने हैन,’ बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने।
लगत्तै यस विषयमा छलफल गर्न कांग्रेस सभापति देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगे। बैठकमा गभर्नर नियुक्ति र पछिल्लो असन्तुष्टिका विषयमा छलफल भए पनि प्रधानमन्त्री ओलीको सचिवालय र देउवाको सचिवालयले यसलाई नियमित भेटमात्र भन्यो। सरकारको भविष्यमाथि प्रश्न उठिरहँदा मंगलबार भएको दुई नेताबीचको भेटले राजनीति तरंगित बनायो।
भोलिपल्ट बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्यो बालुवाटारमा। यद्यपि बैठकमा समितिका संयोजक खड्का र कांग्रेस महामन्त्री थापा नै उपस्थित भएनन्। प्रधानमन्त्री ओली र देउवा सहभागी बैठकमा कांग्रेसको तर्फबाट संयन्त्रमा रहेका सदस्यहरु गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिए भने एमालेबाट सदस्य रहेका सबै जना सहभागी थिए।
बैठकमा दुई दलबीच राम्रै छलफल भएको र सरकार सञ्चालनमा कुनै समस्या नरहेको दाबी गरे गृहमन्त्री लेखकले। तर खड्का र थापाको अनुपस्थितिबाटै प्रष्टिन्छ सरकारको नेतृत्वप्रति कांग्रेसको असन्तुष्टि। सरकारमा एमालेको एकोहोरो पेलानले आजित भएको कांग्रेस नेताहरु यो संयन्त्रको बैठकबाट सन्तुष्ट थिएनन्। त्यसपछि देउवाले सुटुक्क पदाधिकारी बैठक डाके बिहीबार बिहानका लागि। कांग्रेस पदाधिकारी बैठक लामो चल्यो।
बैठकमा महामन्त्री गगन थापाले सरकारको काम ठीक नभएको बताए। अरु पदाधिकारीले भने सरकारमै बसेर सरकारको आलोचना गर्न नमिल्ने तर्क राखे।
राजावादीको सक्रियता देखाउँदै विपक्षी दलका नेता माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको संयुक्त सरकार बनाउनुपर्ने प्रस्ताव अघि सार्दै देउवासँग पटकपटक भेट गरिसकेका छन्। यो विषयले प्रधानमन्त्री ओली भने झस्केका छन्। सहमतिअनुसार आफूले अझै १५ महिना सरकारको नेतृत्व गर्ने समय बाँकी भएकाले अहिले नै सत्ता छाड्न नसकिने अडानमा ओली देखिन्छन्।
तर कांग्रेस भने ओलीको उट्पट्याङ शैलीको भाषण र काम गराइप्रति सन्तुष्ट छैन। प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनलाई पटकपटक बेवास्ता गर्दै आएका छन्। कांग्रेसले यो विषय सम्बोधन गर्न आग्रह गर्दा पनि ओलीले कुनै कदम चालेका छैनन्। गभर्नर नियक्तिको विषय, शिक्षक आन्दोलनदेखि बजेटका विषयमा कांग्रेस एमालेसँग असन्तुष्ट सुनिन्छ।
यो विषयमा कांग्रेस पदाधिकारी बैठकमा सबैले आफ्नो धारणा सुनाए। एमालेको शैलीबाट असन्तुष्ट देखिएका देउवा आइतबारबाट पाँच दिन बैंकक जाँदैछन्। यसबारे देउवाले पदाधिकारी बैठकमा पनि सुनाएका थिए। बजेट अधिवेशन र केन्द्रीय समिति बैठक डाकिरहेको अवस्थामा देउवाको बैंकक भ्रमणबारे कांग्रेस पदाधिकारीलाई चासो नहुने कुरै भएन।
‘तपाईं बैंकक किन जान लागेको?’ बैठककै बीच कांग्रेसका एक पदाधिकारीले सोधे।
‘विशुद्ध उपचारका लागि हो’ – देउवाले छोटोमा जवाफ दिए।
पदाधिकारी बैठकमा अहिलेको सरकार परिवर्तनको विषयमा देउवालाई पदाधिकारीले प्रश्न गरेका थिए। यद्यपि देउवाले अहिले सरकार परिवतर्नको अवस्था नै नरहेको जवाफ फर्काएको एक पदाधिकारीले बताए।
देउवाले आफू वैशाख ५ गते बैंकक पुगेर वैशाख ११ गते फर्कने तालिका रहेको बैठकमा सुनाए। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ गतेका लागि बजेट अधिवेशन डाकिसकेका छन्। यसैगरी वैशाख १७ गते देउवाले कांग्रेसको केन्द्रीय समिति डाकेका छन्।
यही बीचमा देउवा बैंकक किन जान लागे? कतै देउवाको यही भ्रमणमा राष्ट्रिय सहमतिको सरकारको खाका तयार हुने त होइन? संशयपूर्ण रहेको भन्दै राजनीतिक वृत्त तरंगित छ।