प्रचण्डको कसरतले ओली तरंगित, के कांग्रेस र एमालेबीच दूरी बढ्न थालेको हो?

प्रकाश भण्डारी
२०८२ बैशाख २ गते २१:१७ | Apr 15, 2025
प्रचण्डको कसरतले ओली तरंगित, के कांग्रेस र एमालेबीच दूरी बढ्न थालेको हो?
फाइल फोटो


काठमाडौं। नेपाली कांग्रेससँग गरेको सहमति अनुसार देखिने गरी काम गर्न नसकेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारको आयुलाई लिएर तर्सिन थालेका छन्।

Tata
GBIME
NLIC

९ महिना ठोस् नतिजा देखिने काम नगरी गुजारेका ओली खासगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेताहरूबाट सरकार विरोधी अभिव्यक्ति आउने क्रम बढेपछि त्रसित देखिएका हुन्। उनले नयाँ वर्षको पहिलो दिन सोमबार एकाएक पार्टी सचिवालयको बैठक राखेर कांग्रेस नेताहरूबाट तारनतार सरकारको आलोचना भइरहेको विषयमा छलफल गराएका थिए।

बैठकले सरकार ढल्छ भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अभिव्यक्ति दिनुलाई सत्ताबाट बाहिर रहनुपर्दाको कुण्ठा भएको निष्कर्ष निकाले पनि खासमा कांग्रेसबाट कतै धोका हुने त होइन भन्ने कोणमा छलफल भएको स्रोतले बतायो।

यसलाई बल पुग्ने गरी बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनभित्रका दललाई कुनै कुरा चित्त नबुझेको भए सार्वजनिक रूपमा अभिव्यक्ति दिनेभन्दा पनि संयन्त्रमा छलफल गर्न सकिने बताएका थिए।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रचण्डले भेटेको जानकारी पाएपछि ओलीले बैठक राखेका थिए।

गत असारमा सत्ता समीकरण गर्दा अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने तथा संविधान संशोधन गरेर निराशालाई चिर्ने लगायतका सात बुँदे सहमति भएकामा त्यस अनुसार काम हुन नसकेको भनेर कांग्रेसका नेताहरूले असन्तुष्टि व्यक्ति गर्ने क्रम बढ्दो छ।

हुन पनि सहमति अनुसार संविधान संशोधनको गृहकार्य अगाडि बढेकै छैन। आर्थिक शिथिलता हटाउने मामिलामा पनि सरकारको बल पुगेको देखिँदैन। बरु साउन अन्तिम साता कार्यकाल सकिन लागेका कुलमान घिसिङलाई बर्खास्त गरेर ओलीले निराशामा मलजल गरेको कांग्रेस नेताहरूको बुझाइ छ।

कांग्रेसका संस्थापन इतर नेता डा शेखर कोइरालाले हनिमुन अवधि सकिएपछि नै सरकारको कामको विरोध गर्दै आएकामा ओलीलाई सफल तुल्याउन भनेर दिनरात खटिएका महामन्त्री गगन थापाले समेत आलोचना गर्न थालेका छन्। कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको काम गराइप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

दुई तिहाइ बहुमतको सरकारको ‘पर्फमेन्स’ निक्कै कमजोर भएको कांग्रेस नेताहरूको बुझाइ छ। ‘प्रधानमन्त्रीको काम प्रभावकारी भएन भन्ने हो। हाम्रै पार्टीका साथीहरूले पनि काम गर्नुपर्‍यो भन्ने छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने।

कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएपछि कांग्रेसभित्र ओलीप्रति असन्तुष्टि बढेको छ। राजनीतिक नियुक्तिमा ओलीले एकलौटी गरेको कांग्रेस नेताहरूको बुझाइ छ।

‘राजनीतिक नियुक्तिहरू सन्तुलित हुनुपर्छ। राष्ट्र बैंकको गभर्नरको विषय पनि छ। सरकार प्रमुख भएकोले प्रधानमन्त्रीले यस विषयको सम्बोधन गर्नुपर्छ,’ महतले भने। कांग्रेस र एमालेबीच कुरा नमिल्दा गभर्नरको नियुक्ति हुन सकिरहेको छैन।

देशभरका सामुदायिक विद्यालयका शिक्षक दुई सातादेखि काठमाडौंको सडकमा छन्। यस्तै लघुवित्त पीडित र आवासीय चिकित्सकहरूले पनि सडकलाई आफ्ना माग उठाउने थलो बनाएका छन्। सडकमा उठेका मागलाई बेवास्ता गरेको भन्दै कांग्रेसमा सरकारप्रति असन्तुष्टि बढ्दो छ।

सरकारले आशा जगाउने गरी काम गर्न नसकेको परिणाम नै पूर्वराजा ज्ञानेन्द्र शाहले सलबलाउने हिम्मत गरेको कांग्रेसका नेताहरूको बुझाइ छ।

ओलीले आफू प्रधानमन्त्री हुँदा देश छोड्नेको लर्कोलाई निराशा बढेको रूपमा चित्रण गर्दै आशा जगाउनु सरकारको प्राथमिकता भएको बताएका थिए। तर, उनले सरकारको नेतृत्व सम्हालेको ९ महिनामा पोहोर ९ महिनाको तुलनामा धेरै युवा वैदेशिक रोजगारीमा गएका छन्।

त्यसो त सरकारको कार्यशैलीलाई लिएर ओलीको दल एमालेभित्रै पनि असन्तुष्टि छ। कुनै समय ओलीको चर्को बचाउमा उत्रिने उनी निकट नेताहरू नै पछिल्लो समय मौन छन्। उनीहरूले असन्तुष्टि सार्वजनिकरुपमा व्यक्त गर्ने हिम्मत भने गरेका छैनन्। ‘सरकारको बचाउमा नउत्रिनु नै असन्तुष्टि हो,’ एमालेका एक नेताले भने, ‘हाम्रो पार्टीमा कांग्रेसका नेताहरूलाई जस्तो अभिव्यक्ति स्वतन्त्रता छैन।’

कांग्रेस-एमालेबीचको बढ्दो असमझदारी र दुवै पार्टीभित्रको असन्तुष्टिलाई नजिकबाट नियालिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वमा नयाँ सरकारका लागि गृहकार्य गरिरहेका छन्। तर, देउवाबाट उनले ‘ग्रिन सिग्नल’ पाइसकेका छैनन्।

प्रचण्डको सक्रियतालाई लिएर एमालेमा संशय छ। सोमबारको सचिवालय बैठकले प्रचण्ड सरकार ढाल्न निरन्तर सक्रिय रहेको निचोड निकालेको थियो।

सत्ता गठबन्धनमा अविश्वास बढैको सन्देश गएपछि ओलीले मंगलबार देउवालाई बालुवाटारमा बोलाएर करिब एक घण्टा लामो वार्ता गरे। ‘गठबन्धनलाई बलियो बनाएर जाने सहमति भएको छ। कुराकानी सकारात्मक रूपले अघि बढेको छ,’ एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले भने।

ओलीको सचिवालयका एक सदस्यका अनुसार कांग्रेस नेताहरूले सार्वजनिक मञ्चबाट सरकारको विरोध गर्दा गठबन्धन नै धरापमा परेको सन्देश जाने भन्दै ओलीले देउवालाई पार्टीभित्रको असन्तुष्टि हल गर्न आग्रह गरेका थिए।

ओली-देउवाको छलफलपछि बुधबारका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ। देउवाले वैशाख १७ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन्।