वर्षको पहिलो कारोबार : सेयर बजार २७.१४ अंकले बढ्यो, ८ अर्ब ५४ करोडको किनबेच

बिजमाण्डू
२०८२ बैशाख २ गते १५:३६ | Apr 15, 2025
वर्षको पहिलो कारोबार : सेयर बजार २७.१४ अंकले बढ्यो, ८ अर्ब ५४ करोडको किनबेच

काठमाडौं। नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिनमा सेयर बजार उकालो लगेको छ। मंगलबार नेप्से २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा पुगेको छ। कारोबार रकममा पनि बढोत्तरी छ।

Tata
GBIME

कारोबारमा आएका व्यापार र म्युचुअल फण्ड बाहेकका समूहको सूचकले बजार बढाएका हुन्। लगानी २.७१ र विकास बैंक समूहको सूचक २.४६ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन १.९९, फाइनान्स १.५९ र जलविद्युत समूहको सेयर १.४७ प्रतिशतले बढेको छ।

२१२ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्। तीन विकास बैंकको सेयरमूल्य बढेर पोजेटिभ सर्किट नै लागेको छ। कर्पोरेट, ग्रीन र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा पोजेटिभ सर्किट लागेको हो। दोस्रो बजार कारोबारमा आएदेखि नै लगातार सर्किटस्तरमा बढिरहेका नेपाल माइक्रो इन्स्योरेन्स मंगलबार ९.९९ र क्रेस्ट माइक्रो लाइफ ९.९८ प्रतिशतले बढेका छन्। गुराँस लघुवित्तको सेयर ९.५८ प्रतिशतले बढेको छ।

३४ कम्पनीको सेयरमूल्य भने घटेको छ। तिनका लगानीकर्ताले गुमाएका छन्। बलेफी हाइड्रोपावरको सेयरमूल्य ९.६९ र वीन नेपाल लघुवित्तको ६.१३ प्रतिशतले घटेको छ।

८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच हुँदा बलेफी हाइड्रोपावरको सर्वाधिक २ अर्ब १ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ४२ करोड २२ लाख, राधी पावर ३६ करोड २२ लाख र सीइडीबी होल्डिङ्सको ३२ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसअघि २०८१ सालको अन्तिम दिन सेयर बजारले लगानीकर्तालाई निराश पारेको थियो। गत आइतबार नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा थियो भने कारोबार रकम ६ अर्ब २८ करोड २ लाख रुपैयाँ थियो।