
काठमाडौं। एसएलसी दिएर बसेका १६ वर्षे किशोर। देशमा २०६२/६३ को जनआन्दोलनले चर्को रुप लिँदै थियो। अघिल्लो दिन साथीहरुसँग ‘रंग दे बसन्ती’ फिल्म हेरेर फर्केपछि मनोज पौडेल दिनैजसो त्यही आन्दोलनमा उत्रिए। धोबीघाटमा पातलो थिए घरहरु। छतबाट चक्रपथ सहजै देखिन्थ्यो। आन्दोलनको माहोल तात्दै थियो।
मनोज कहिले छतबाट अरुले जस्तै थाल ठटाउँथे। साँझको ब्ल्याकआउटमा पनि घरको बत्ती पहिले निभाएर टोलभरीको नेतृत्व गर्थे। घर नजिकैको चक्रपथमा जनजाति महासंघको नेतृत्वमा दैनिक प्रदर्शन सुरु हुन थालेपछि त उनले थाम्नै सकेनन्। उनी पनि त्यही भीडको सदस्य बन्न पुगे। जुलुसमा जानु, पुलिसको लखेटाईमा पर्नु अनि खेतखेतै भाग्नु उनको दैनिकी बन्यो।
मनोजका लागि त्यो फगत उमेरको जोशमात्र थिएन। कुनै फिल्मले दिएको ऊर्जामात्र पनि थिएन। सानैदेखि उनीभित्र जन्मिएको यस्तो चेत थियो, जसले आजसम्म उनलाई अग्रगामी बाटोतर्फै डोर्याइरहेको छ। शिक्षाले फराकिलो पारिदिएको बौद्धिक चेतका साथ आज मनोज अझ फराकिलो र स्पष्ट दृष्टिकोणका साथ विश्वलाई हेर्न सक्ने भएका छन्।
देशमा प्रमुख परिवर्तन ल्याउने दुई जनआन्दोलन बीच हुर्किएका मनोज आफूलाई सानैदेखि ‘प्रो-चेन्ज’ माइन्डसेट भएका व्यक्तिका रुपमा चिनाउँछन्। ४६ को सेरोफेरोमा जन्मिएका र ६२/६३ मा आन्दोलनमै होमिएका मनोजको मिसन अहिले पनि फेरिएको छैन। फरक यतिमात्र हो उतिबेला नजानिँदो तवरले राजनीतिक परिवर्तनका लागि सडकमा उत्रिए। हाल देशको ‘आर्थिक एजेन्डा’मा परिवर्तन ल्याएर आर्थिक सामाजिक रुपान्तरणमा सहयोगी बन्ने मिसनमा छन्।
आइएक्सआई कर्पका अध्यक्ष मनोज पौडेल हाल परम्परागत प्रणालीहरुले साथ नदिएका ठाउँमा साहसी विकल्प दिनेगरीका लगानी तथा प्रविधि र परामर्श दिने विविध कम्पनीहरु एकैसाथ हाँकिरहेका छन्।

२०६२/६३ को जनआन्दोलनले नेपाललाई नयाँ दिशा दिएसँगै मनोजले पनि कलेज थाले। भक्तपुरको एसओएस कलेजबाट प्लस टु सकेर बेलायतको प्रतिष्ठित कलेज अक्सफोर्ड ब्रुक्स पुगेका उनले त्यहाँ आफ्नो सानैदेखिको रुचिको विषय अर्थशास्त्र र राजनीतिशास्त्र रोजे। लण्डन स्कुल अफ इकोनोमिक्सबाट आर्थिक विकासमा स्नातकोत्तर डिग्री लिएपछि उनको बाटो घरतिरै मोडियो।
बेलायतमै सेटल काकाको संरक्षणमा त्यहाँ पढेपनि मनोजको प्राथमिकतामा सँधै नेपाल फर्कनु थियो। त्यसपछिका वर्षहरु नेपालमै अनुसन्धानकर्ता र अर्थशास्त्रीका रुपमा काम गरेका उनी आर्थिक क्षेत्रको विकासका लागि ‘वैकल्पिक सोच’का पक्षधर हुन्।
उनी भन्छन्, ‘हामी देशलाई यस्तो विकल्प दिन सकौं जसले भावी दिनमा नेपालले आर्थिक विकासका लागि वैदेशिक लगानीको मुख ताक्नै नपरोस्। नेपालको जलविद्युत, हिमालय शृंखला अनि यहाँका जोशिला युवाहरु आफैं देशको लागि समाधानका उपाय पहिल्याउन सक्षम बनुन्। अनि देशको आर्थिक वृद्धि औसतमा होइन प्रत्येक व्यक्तिको ग्रोथमा झल्कियोस्!’
‘देशभित्रैबाट पुँजी जुटाउन सकिन्छ’
आइएक्सआई कर्पका अध्यक्ष मनोज पौडेल हाल परम्परागत प्रणालीहरुले साथ नदिएका ठाउँमा साहसी विकल्प दिनेगरीका लगानी तथा प्रविधि र परामर्श दिने विविध कम्पनीहरु एकैसाथ हाँकिरहेका छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति समेत हुन्।
वैकल्पिक पुँजी, शिक्षा, उर्जा, नीति निर्माण र भेन्चर सिर्जनासम्मको काम उनले नेतृत्व गरेको कम्पनी आइएक्सआई कर्प अन्तर्गत पर्छन्।
हाल आइएक्सआई कर्पले ती कम्पनीहरुलाई मद्दत गरिरहेको छ जसले पुरातन सोचहरुलाई चुनौती दिँदै नयाँ सोचका साथ आर्थिक रुपान्तरणका नयाँ सम्भावना पहिल्याउन काम गरिरहेको छ।
कम्पनी अन्तर्गतको आध्यान्त फण्ड म्यानेजमेन्टले नेपाल अपरच्युनिटी फण्ड -१ अन्तर्गत ३ अर्ब रुपैयाँ संस्थागत लगानी जुटाएर विभिन्न १६ परियोजनामा लगानी गरिसकेको छ। पहिलो फेजबाट सिकाइ र अनुभव लिइसकेको टिम दोस्रो फेजका लागि स्वीकृति पर्खिरहेको छ। पहिलो फेजमा ४० प्रतिशत लगानी उर्जा क्षेत्रमा गरेको कम्पनीले दोस्रो फण्ड ‘थिम बेस्ड’ इन्भेष्टमेन्टमा लक्षित हुने मनोज बताउँछन्।
कम्पनीको इन्स्टिच्युट फर गभर्मेन्ट एण्ड पब्लिक अफेयर्सले परामर्शदाताका रुपमा सुशासन, आर्थिक वृद्धिका लागि रणनीतिक साझेदारको भूमिका निर्वाह गर्दछ। नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडका सहसंस्थापक तथा निर्देशक मनोज काठमाडौं टेक्निकल स्कुलका सहसंस्थापक तथा अध्यक्ष पनि हुन्। काठमाडौं टेक्निकल स्कुलले श्रम बजारलाई आवश्यक जनशक्ति उत्पादनका लागि आवश्यक प्राविधिक शिक्षा तथा तालिम संचालन गर्दै आएको छ। इन्भेष्टमेन्ट एण्ड इन्फ्राका सहसंस्थापक तथा अध्यक्ष, प्राइम बैंकका निर्देशक, अध्यापक तथा लिडरसीप कोच मनोज उद्यमी र ‘इन्नोभेटर’ का रुपमा लगानी र अवसरका नयाँ बाटाहरु देखाइरहेका छन्।
देशमा चाहिने उद्यमशीलता र रोजगारीमूलक क्षेत्रको विकास, साना मझौला उद्योगदेखि ठूल पूर्वाधारहरुको निर्माणका लागि देशभित्रैबाट पुँजी जुटाउन सकिन्छ भन्ने क्यालकुलेसनमा पनि मनोज ढुक्क छन्।

नेपाल फर्किएलगत्तै लगानी बोर्डमा रिसर्च इकोनोमिस्टका रुपमा २ वर्ष काम गर्दा उनले ठूला परियोजनाहरुको सफलतामा ससाना नीतिहरुले कसरी प्रभाव पार्छ भन्ने बारेमा बुझ्ने मौका पाए।
आर्थिक पूर्वाधारहरु निर्माण गर्दा पैसाको नाफाघाट मात्र होइन नागरिकको आत्मविश्वास, जीवनस्तर, शिक्षा, स्वास्थ्य तथा व्यवहारिक परिवर्तनको मापन गरेर अघि बढ्नुलाई उनले सधैं महत्त्वका साथ हेरे।
‘कुनै पनि परियोजना बनाउँदा सरकारले तत्कालको नाफाघाटा भन्दा पनि १० वर्षको समग्र नाफाघाटा हेरेर निर्णय गर्नुपर्ने हुन्छ। र त्यो नाफा पनि नागरिकको जीवनस्तरसँग जोडेर हेर्ने हो। सन् २०१९ को लगानी सम्मेलनका लागि हरेक प्रदेशसँग समन्वय गरेर प्रोजेक्ट बैंक बनाउनका लागि म सातै प्रदेशका परियोजनाहरु हेर्न गएँ। त्यसले नेपालभरी कस्ता सम्भावना र चुनौती छन्, अनि यही व्यवस्थाको संरचनाभित्र बसेर कसरी योजनालाई सार्थक बनाउन सकिन्छ भन्नेबारे सिक्ने मौका पाएँ।’- मनोजका अनुसार त्यसपछि नै हो उनी इमोसनल एप्रोचमा काम गर्ने कि रियालिटी चेक गर्दै अघि बढ्ने भन्नेमा स्पष्ट भएको।
कतिपय पाठ इतिहासले सिकाउँछ। पढाइ र अनुभवले थप परिपक्व बनाउँदै लैजान्छ। देशमा चाहिने उद्यमशीलता र रोजगारीमूलक क्षेत्रको विकास, साना मझौला उद्योगदेखि ठूल पूर्वाधारहरुको निर्माणका लागि देशभित्रैबाट पुँजी जुटाउन सकिन्छ भन्ने क्यालकुलेसनमा पनि मनोज ढुक्क छन्।
उनी भन्छन्, ‘पहिले देशभित्रैको पुँजीलाई परिचालन गरेर नमुना प्रोजेक्टहरु सम्पन्न गरौं न! हामीले जति पनि राम्रा योजनाहरु छन् त्यसलाई इमान्दारीपूर्वक फङ्सनमा लैजान सकेमा लोभिएर विदेशी लगानी आउने वातावरण बनाउन सकिन्छ।’
आस गर्ने भन्दा पनि आशा जगाउने परिणाममुखी प्रोजेक्टहरु सम्पन्न गर्नकै लागि आध्यान्त फण्डको परिकल्पना गरेको मनोजले बताए।
++++
शिक्षालाई नै पुँजीका रुपमा लिने परिवारमा जन्मेका हुन् मनोज। बागलुङको राङखानीमा विद्यालय खोल्न नेतृत्व लिने उनकै हजुरबुवा थानेश्वर उपाध्याय थिए भने राङखानी गाउँको पहिलो एसएलसी पास थिए उनका बुवा डा. महाश्रम शर्मा। चितवनमा जन्मिए पनि मनोजको बाल्यकाल सरकारी सेवामा रहेका बुवाको सरुवाको सिलसिलासँगै जिल्ला जिल्लामा बित्यो।
उनी हुर्किएको पृष्ठभूमिका कारण मनोजलाई सानैदेखि देशमा भइरहेको राजनीतिक तथा सामाजिक परिवर्तनको हेक्का थियो। आफूले पनि भविष्यमा जे गरिन्छ त्यो परिवर्तनकारी हुनुपर्छ र वैकल्पिक धारलाई दिमागमा राखेर काम गर्नुपर्छ भन्ने बुझेका उनी पढेर नेपाल फर्किँदा आफ्नो लक्ष्यमा स्पष्ट थिए।
विश्वममै कहलिएको अक्सफोर्ड विश्वविद्यालयको अनुभव उनले यसरी सुनाए।
‘अक्सफोर्डको माहोल नै विद्वताले भरिएको थियो। त्यहाँका सार्वजनिक पुस्तकालय, विश्वविद्यालयका पुस्तकालयहरु म त हेरेरै दंग परें। प्रोफेसर अनि दार्शनिकहरुले दिने साँझका लेक्चर सुन्न हामीहरु वरिपरिका विभिन्न क्याम्पस चहार्थ्यौं। कहिले अमर्त्य सेनलाई सुन्न पुग्थ्यौं। म एकपटकमा लाइब्रेरीबाट २० वटा किताब ल्याउँथे। अनि त्यो पढेर फिर्ता गरेलगत्तै फेरि २० वटा बोकेर आउँथे। विश्वविद्यालयले कसरी लेख्ने पढ्ने भनेर सिकाउँछ तर कसरी सोच्ने भन्ने तिनै पुस्तकहरुले सिकायो!’
त्यसबाहेक के सिके त?
‘आफू कुनै पनि विषयमा एक्सपर्ट छु भन्ने होइन कि हरेक पल म सुरुवाती चरणमै छु भनेर थप सिकाइका लागि तयार रहने कला पनि मैले अक्सफोर्डमा सिकेको हुँ,’ उनी भन्छन्।
जब कुनै व्यक्तिमा आफू जान्ने सुन्ने भैसकें भन्ने अहम् पैदा हुन्छ त्यो समय नै उसको ज्ञान र विवेक मर्न जान्छ भन्ने मनोज समाज वा विश्वलाई बुझ्दा ‘म जान्ने छु’ भन्ने दम्भ र अहम् कहिल्यै राख्न नहुने बताउँछन्।
नेपाल चिन्ने क्रममा पनि उनलाई यही बुझाइले मद्दत गर्यो। जति देख्यो, जति हिँड्यो, जति काम गर्यो त्यति नै सम्भावनाका ढोकाहरु खुल्दै जान्छन् भनेर उनले महसुस गरे।
मनोज घरी आर्थिक कोणबाट सोच्छन् घरी सामाजिक र राजनीतिक दृष्टिबाट समाजलाई हेर्छन्।
सरकारभित्र पनि रिस्क लिएर क्रियटिभ काम गरौं भन्ने मान्छेहरु नभएका होइनन्। इच्छाशक्ति नभएको होइन। तर यस्तो संयन्त्र छ जसले त्यसलाई डिस्करेज गर्छ। धेरै व्यूरोक्र्याटहरुलाई जोखिम लिएर काम गर्ने सेफ इन्भायरमेन्ट दिइएको छैन।

उनी गर्भमै छँदा कसरी उनका बाआमाले हिँडेरै कालीकोटबाट सुर्खेत आइपुगेका थिए भन्ने कथा सानोमा उनले सुन्ने गरेका थिए। देश चिन्ने क्रममा उनी मोटरमा सरर त्यहीँ बाटो पुगे। अनि सम्झिँए कुन भूगोल कति समय लगाएर कसरी केन्द्रसँग जोडियो त्यसले त्यो ठाउँको विकास मात्र नभई त्यहाँका मानिसको बाँच्ने आधार पनि तयार गर्दो रहेछ।
वर्षौदेखि हेयको दृष्टिले हेरिएका र राज्यको प्राथमिकतामा नपरेका ठाउँमा पनि अथाह सम्भावना त छन्। पहिचान गरेर यथार्थमा परिणत गर्नुपर्ने चुनौती हो। नेपालका धेरै भूभागको यात्रापछि उनको वैकल्पिक सोचले दृढ लय समायो।
नेपाल सन् २०२६ मा विकासशील देशमा ग्र्याजुयट हुने तयारीमा छ। सन् २०३० सम्म देशलाई कहाँ पुर्याउने भन्ने लक्ष्यका साथ दिगो विकासका लक्ष्यहरु पनि छन्। तर ठूला ठूला लक्ष्य राख्दा राख्दै यसतर्फ कसले कसरी ड्राइभ गरिरहेको छ भन्ने प्रश्न पनि छ।
उद्यमी सोच आउनुअघि अर्थशास्त्रीका रुपमा सरकारी संयन्त्रमा बसेर काम गरेपछि मनोजले धेरै आत्ममन्थन गरे।
उनी भन्छन्- ‘नेपाललाई ४० बिलियन डलरको इकोनोमीबाट १०० बिलियन डलरको इकोनोमी बनाउन सरकारले मात्र काम गरेर मात्र हुन्छ त? ड्राइभ गर्ने हरेक तहको सरकारले कसरी खर्च गरेको छ। कसरी काम गरिरहेको छ सरकारको खर्चको चुनौती के कस्तो छ? हरेक तहका सरकारले पुँजीगत खर्च गरेको तरिका हेरौं! त्यसैले नेपालले राखेको लक्ष्य पूरा गर्न निजी क्षेत्रले ड्राइभ नगरी सुखै छैन भन्ने मलाई लाग्यो।’
सुरुमा उनले परामर्शदाताका रुपमा सेवा दिन थाले। उनकै शब्द सापटी लिँदा परामर्शमात्र दिने काम सेफ साइडमा त थियो तर बुद्धिमात्र होइन आफ्नै पुँजी पनि लगाएर काम गरौं भनेरै उनले एकसाथ विविध उद्यमहरुमा हात हाले।
‘सरकारभित्र पनि रिस्क लिएर क्रियटिभ काम गरौं भन्ने मान्छेहरु नभएका होइनन्। इच्छाशक्ति नभएको होइन। तर यस्तो संयन्त्र छ जसले त्यसलाई डिस्करेज गर्छ। धेरै व्यूरोक्र्याटहरुलाई जोखिम लिएर काम गर्ने सेफ इन्भायरमेन्ट दिइएको छैन। नियत राम्रै हुँदा पनि सिस्टम बाहिर गएर काम गरे विवाद भइहाल्छ। त्यसैले आफैंले प्रयास गरौं र सरकारलाई यसरी परिवर्तन ल्याउन सकिन्छ है भनेर म्यासेज पनि दिन सकौं भन्ने हाम्रो प्रयास हो।’- मनोजले सुनाए।
वैकल्पिक लगानीबाट उद्यम
वैकल्पिक लगानीको क्षेत्र नेपालका लागि नितान्त नयाँ क्षेत्र हो। एक्सेस टु फाइनान्सका इन्डिकेटर हेर्ने हो भने वास्तवमै अहिले उद्यमीहरुलाई सहायता चाहिएको छ। उद्यमीहरुलाई अघि बढाउन चाहिने पुँजी वैकल्पिक लगानीकै संयन्त्रबाट प्राप्त गर्दा उनीहरुले धेरै किसिमले लाभ पाउने मनोज बताउँछन्।
उनकै फण्ड म्यानेजमेन्ट कम्पनी आध्यान्तले सुरुवातमा ५० करोडको पुँजीबाट काम थालेको हो। पहिलो फेजमा नेपाल अपरच्युनिटी फण्ड-१ नामबाट १८ संस्थागत लगानीकर्ताहरुको ३ अर्ब रुपैयाँ जुटाएर १६ वटा परियोजनामा लगानी भइसकेको छ।

हामी अहिले जनसांख्यिक लाभको कुरा गरिरहेका छौं भने यहाँको श्रम बजारमा छिर्ने युवाहरुलाई राम्रो अवसर हुनु पर्दैन? नत्र उ विदेशियो भनेर रोइलो किन गर्ने? सरकारले दक्ष जनशक्ति उत्पादनका लागि छुट्याएको पैसाको रिजल्ट खोइ?
‘पहिलो फण्डमा हामीले ऊर्जा क्षेत्रमा ४० प्रतिशत लगानी गरेका छौं। कम्पनीले सुरुवातीदेखि बन्न लागेको चरणसम्मका ६ वटा हाइड्रोपावर प्रोजेक्टमा लगानी गरेको छ। कोभिडपछि ठप्प भएका कतिपय प्रोजेक्ट पुँजी नभएर अड्किएर बसेका पनि रहेछन्। त्यस्तोमा पनि हामीले लगानी गरेका छौं। संस्थागत लगानीकर्ता त्यहाँ जाँदा राम्रो परियोजना समयमा तयार हुने र कुशल व्यवस्थापन गर्न सकिन्छ भन्ने लाग्यो।’- मनोजले जानकारी दिए।
उनले पहिलो चरणमा २०० कम्पनीहरु हेरेर त्यसमध्ये लगानीका लागि १६ वटालाई छानेका थिए। पहिलो फण्डका दौरान धेरै सिक्ने मौका पाएको उनी बताउँछन्। त्यसको अनुभवका आधारमा दोस्रो फण्डमा कुन क्षेत्रमा कसरी जाने भन्ने बारे आफू अझ बढी स्पष्ट भएको अनुभव छ।
दोस्रो फेजका लागि धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा छ आध्यान्त। दोस्रो फेज थिममा आधारित लगानी हुने उनी बताउँछन्।
‘यसपटक महिला केन्द्रित फण्ड भनेर ल्याएका छौं। निर्णायक तहमा र प्रोफेसनल ब्याकग्राउण्डमा पनि महिला, अनि त्यसको व्यवस्थापनमा पनि महिला। समावेशीरुपमा महिला केन्द्रित फण्डमा गरिने लगानीका अलावा प्रविधि र ऊर्जाको क्षेत्रमा थप लगानी आध्यान्तले गर्नेछ।’
असंगठित तर अथाह सम्भावनाको क्षेत्र हो कृषि। मनोज कृषि क्षेत्रलाई विस्तारै संगठित बनाउने किसिमको परियोजनामा काम गरिरहेको बताउँछन्। भ्यालु चेन एप्रोचमा गएर उत्पादनदेखि उपभोगसम्मका चरणमा काम गर्न सकिन्छ भन्ने उनलाई लागेको छ।
म्यानुफ्याक्चरिङमा पनि पहिलो पुस्ताले गरिरहेको कामलाई स्तरोन्नति गर्ने र दोस्रो पुस्ताले नयाँ तरिकाले गर्न चाहन्छ भने त्यसमा सहयोग गर्न उनले चाहेका छन्। आध्यान्त मार्फत पर्यटन र आइसिटीमा पनि उनी लगानी गर्न चाहन्छन्।
किन निराश छ नयाँ पुस्ता?
देशमा राजनीतिक परिवर्तन त आयो तर आर्थिक सुशासनमा सुधार हुन सकेन। नयाँ पुस्तालाई जुन प्रोमिस गरिएको थियो त्यस अनुसारले खुशी हुने अवस्था बन्न सकेन। सूचकहरुमा सुधार त देखियो तर हरेक व्यक्ति खुशी हुने किसिमको रोजगारीका अवसरहरु खोइ?
आजको प्रमुख सवाल नै के हो भने के मानिसले खुशी हुने गरी रोजगारी पाएका छन्?
कुनै कम्पनीमा काम गर्दा ५ वर्षमा मेरो ग्रोथ कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर कोसँग छ?
एयरपोर्टमा कमाउन विदेशिनेको लस्कर देखिन्छ। तर यो बाध्यता १, २ वर्षका लागि हो की दीर्घकालका लागि हो यसको उत्तर को सँग छ?
हाम्रो भान्छा महंगिएको छ। उपभोगका सबै वस्तुहरु महंगिएको छ। रोजगारी छैन। सरकारी संयन्त्रमा खै स्मुथली काम हुन सकेको। एउटा सानो काम लिएर जानुस् त्यहाँ हुने ढिलासुस्तीले नै हतास बनाइदिन्छ।
मनोज अब हाम्रो एजेन्डा आर्थिक वृद्धि मात्र होइन बेरोजगारीलाई हटाउने हुनुपर्छ भन्छन्।
विश्वबजारमा आज इन्टर्नबाट काम सुरु गरेको व्यक्ति २० वर्षमा त्यही कम्पनीको सीइओ बन्न सक्नेगरी उसको ग्रोथ हुन्छ। हामीकहाँ पनि त्यसरी काम गर्नका लागि प्रेडिक्टेबल कन्ट्रयाक्ट हुनुपर्छ।

उनलाई लागेको छ हरेक व्यक्ति खुशी हुने गरीको वृद्धि भएकै छैन। सूचकहरुमा सुधार हुनुलाई व्यक्तिको सुधार हुनुसँग जोड्न नसक्दा निराशा व्याप्त भएको उनले महसुस गरेका छन्।
‘हामी अहिले जनसांख्यिक लाभको कुरा गरिरहेका छौं भने यहाँको श्रम बजारमा छिर्ने युवाहरुलाई राम्रो अवसर हुनु पर्दैन? नत्र उ विदेशियो भनेर रोइलो किन गर्ने? सरकारले दक्ष जनशक्ति उत्पादनका लागि छुट्याएको पैसाको रिजल्ट खोइ? नागरिक एप बनाएजस्तै युवाहरुको स्किल म्यापिङ गर्ने प्रविधि बनाउन सकिन्न?’- उनी भन्छन्- ‘हामी परिवर्तन खोज्छौं तर कामको शैली बदल्न खोज्दैनौं।’
उनले कोरा पढाइमात्र नभई कामका लागि आवश्यक दक्षता र अत्याधुनिक प्रविधिसँग युवालाई नजोडेसम्म सफलता नपाउने दाबी गरे।
वैदेशिक रोजगारीमा गएकाहरुले कमाएको पैसालाई लगानीको स्रोतसम्म जोडिदिन पहल गर्नुपर्ने पनि उनले देखेका छन्।
‘विश्वबजारमा आज इन्टर्नबाट काम सुरु गरेको व्यक्ति २० वर्षमा त्यही कम्पनीको सीइओ बन्न सक्नेगरी उसको ग्रोथ हुन्छ। हामीकहाँ पनि त्यसरी काम गर्नका लागि प्रेडिक्टेबल कन्ट्रयाक्ट हुनुपर्छ। यहाँबाट लेबर भएर काम गरिरहेको मान्छे कति वर्षमा म्यानेजर हुन सक्छ। त्यो त काम गराउने कम्पनीले पनि सोच्न पर्यो नि!’
सपनाको आधार आध्यान्त
सम्भावना भएका क्षेत्रहरुमा राम्रोसँग पुँजी, मानव संसाधन र प्रविधिको प्रयोग गर्न सक्यौ भने क्षेत्रगत संभावनालाई कार्यान्वयनमा लैजान सकिन्छ भन्छन् मनोज।
राजनीतिक स्थिरतासहित दिगो नीति लिन सकियो भने र योजनाहरु पूरा गर्ने वातावरण बनाउन सकियो भने देशले चाहेको समृद्धि सम्भव छ। लगानी खोज्न पनि कतै जानै पर्दैन यहीँ जुटाउन सकिन्छ।
अघिल्लो वर्षको उदाहरण दिँदै उनले भने-‘बीमा प्राधिकरणले वैकल्पिक लगानीमा प्राइभेट इक्विटी भेन्चर क्यापिटलले कुल लगानी साइजको १.५ प्रतिशत लगानी गर्न पाउने भन्ने बित्तिकै मार्केटमा ९ अर्ब रुपैयाँ रियल इक्विटी इन्जेक्सन हुने बाटो खुल्यो। अझै पनि हामीलाई लोन होइन फ्रेस इक्विटी चाहिएको छ। लोन लिनलाई बैंकले त डेब्ट इक्विटी रेसियो मिलाउन पर्यो। प्रमोटरले थप रकम हाल्नुपर्यो उसँग पैसा नभएको अवस्था छ भने थप ऋण लिएर त्यसको कसरी ब्याज तिर्छ? तब हो फ्रेस क्यापिटल चाहिने। त्यसका लागि प्राइभेट इक्विटी भेन्चर क्यापिटलको १.५ प्रतिशतलाई बढाएर १० प्रतिशत पुर्याइदिने बित्तिकै अघिल्लो वर्षकै हिसाबले हेर्ने हो भने पनि ६३ अर्ब रुपैयाँ आउँछ, जुन राम्रा प्रोजेक्टहरुमा लगानी गर्न सकिन्छ।’
मनोजको परिवर्तनको इच्छा त्यो दिनमात्र सार्थक हुनेछ जुन दिन कुनै नेपाली कम्पनी बिलियन डलर कम्पनीका रुपमा ग्लोबल ब्राण्ड बन्नेछ।

नेपालको आफ्नै सोभेरियन वेल्थ फण्डको चर्चा चलिरहँदा मनोज भने सरकारी फण्डहरुमा हाल भएकै पैसालाई वैकल्पिक लगानीको औजारका रुपमा प्रयोग गर्न सके राम्रो नतिजा आउने बताउँछन्। हालसम्म उपयोग गर्न नसकिरहेको फण्ड कुनै नयाँ संरचना बनाउँदैमा प्रयोगमा गइ नहाल्ने उनको धारणा छ।
‘पोहोर लगानी सम्मेलनबाट ६ अर्ब पैसा उठ्यो। अहिले धितोपत्र बोर्डले अल्टरनेटिभ इन्भेष्टमेन्ट फण्डलाई बजारबाट ३० अर्ब उठाउन दिएको छ । त्यो त जम्मा २ वर्षमा भएको कुरा न हो। यसलाई अझै बढाउँदै लैजान सकिन्छ। विदेशी लगानी भनिरहनुभन्दा पहिले यहीँ नै ठूलो स्केलमा लगानी अनलक गरौं। जब हाम्रै पुँजी राम्रोसँग मोबिलाइज हुन्छ लोभिएर विदेशी लगानी पनि आउँछन्।’
मनोज ठूला पूर्वाधार परियोजना मात्र नभई उद्यमशीलता र युवा रोजगारीसँग सम्बन्धित साना र मझौला उद्योगहरुलाई पनि राष्ट्रिय गौरवका परियोजना बन्नुपर्छ भन्छन्।
नेपालमा बसेर सपना देख्न नहिचकिचाउने उद्यमीहरु जन्माउनका लागि पनि यो आवश्यक छ भन्ने उनलाई लाग्छ। अनि मात्र विदेशबाट फर्केर यहाँ सपना देख्न आउने युवाहरु धेरै जन्मिन्छन् भन्छन् उनी।

नेपालमा बसेर सपना देख्न नहिचकिचाउने उद्यमीहरु जन्माउनका लागि पनि यो आवश्यक छ भन्ने उनलाई लाग्छ। अनि मात्र विदेशबाट फर्केर यहाँ सपना देख्न आउने युवाहरु धेरै जन्मिन्छन् भन्छन् उनी।
ब्रेक्जिटका बेला बेलायतले ‘मिनिस्ट्री अफ ब्रेक्जिट’ भनेर डेडिकेटेड टिम नै बनाएको थियो। अब सन् २०२६ मा नेपाल विकासशील राष्ट्रमा ग्र्याजुयट हुँदैछ भने नेपालले गर्ने व्यापार सम्झौताहरु कस्तो हुनुपर्छ भनेर कसले रिभ्यू गरिरहेको छ?
अहिले अमेरिकाले विश्वभर करका दरहरु हेरफेर गरिरहँदा नेपाललाई कस्तो लाभहानि हुन्छ, कहाँ कसलाई मोबिलाइज गर्न सक्छ? कुन नेपाली इन्टरप्राइज लाभ लिनका लागि कहाँ जान सक्छ भनेर खै कसले हेरिरहेको छ?
मनोज दक्षिण कोरिया र जापानको उदाहरण दिँदै भन्छन्- ‘त्यहाँ सरकारले नै उत्पादन कम्पनीलाई प्रमोट गर्दै आफ्ना कम्पनीहरुलाई ग्लोबल ब्राण्ड बन्न सघाइरहेछ। नेपालले पनि आफ्नै त्यस्तो ब्राण्ड जन्माउन पर्दैन ? स्विस घडीले कुन कम्पनीलाई चिनाउँछ? कम्पनीको नामभन्दा पनि स्विट्जरल्याण्डको घडी भनेर देश स्थापित भएको छ। अब हामी यो कम्पनी फलानो मान्छेको फलानो ग्रुपको भन्न छाडौं यो नेपाली कम्पनी हो भनेर विश्वमा स्थापित हुने ब्राण्ड बनाउन सहयोग गरौं न।’
मनोज नयाँ कम्पनीहरुलाई प्रवेश दिन नहिच्किचाउन आग्रह गर्छन्। ग्लोबल भ्यालुचेनमा हामी कहाँ फिट हुन सक्छौं र नेपालले के उत्पादन र निर्यात गर्न सक्छ त्यो हेरेर थालनी गर्नुपर्ने उनको भनाई छ।
मनोजभित्रको उत्साही युवा पनि सपना देख्छ- ‘नेपालमै बसेर त्यस्तो सपोर्ट सिस्टम तयार पारौं जसले कुनै एकमात्र भएपनि नेपाली ब्राण्ड युनिकर्न कम्पनी बन्न सकोस्।’
उनको परिवर्तनको इच्छा त्यो दिनमात्र सार्थक हुनेछ जुन दिन कुनै नेपाली कम्पनी बिलियन डलर कम्पनीका रुपमा ग्लोबल ब्राण्ड बन्नेछ।