
काठमाडौं। सेयर धितो कर्जामा गरेको कडाइ नेपाल राष्ट्र बैंकले खुकुलो बनाउँदै लगेपछि बैंकहरुले आक्रामकरुपमा ऋण लगानी गर्न थालेका छन्। बैंकहरुले चालु आर्थिक वर्ष ८ महिनामा सेयर धितोमा २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यो गत असारको तुलनामा ३१.५ प्रतिशतले बढी हो।
राष्ट्र बैंकले तीन वर्षअघि सेयर धितोमा लगाएको नीतिगत लगाम गत वर्षदेखि खुकुलो बनाउँदै आएको छ। अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब देखिएपछि तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले २०७८/७९ को मौद्रिक नीतिबाट सेयर धितो कर्जामा ४/१२ को सीमा लगाएका थिए।
उनले सोही वर्ष मौद्रिक नीतिको समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतसम्म पुर्याएपछि बैंकिङ प्रणालीबाट ऋण लिएर सिधै सेयरमा लगानी गर्ने बाटो बन्द भएपछि बजारको गति उल्टिएको थियो।
उच्च ऋण प्रवाहका कारण २०७८ भदौ २ गते ३१९८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्से राष्ट्र बैंकले कडाइ गरेपछि लगातार ओरालो लागेर २०७९ असोज ९ गते १८१५ विन्दुमा आइपुगेको थियो।
२०७८ असारमा सेयर धितो कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ पुगेकामा राष्ट्र बैंकको कडाइले नै २०७९ असारमा आइपुग्दा २५ अर्ब ७८ करोड रुपैयाँले घटेर ८० अर्ब ५० करोड रुपैयाँमा आइपुगेको थियो। सेयर धितोमा बैंकहरुको ऋण लगानी थप खुम्चिएर २०८० असारमा ७६ अर्ब ५३ करोड रुपैयाँमा झरेको थियो।
राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिपछि नीतिगत कडाइ क्रमश: हटाउँदै आएको छ। सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतमा झारेको राष्ट्र बैंकले ठूला लगानीकर्ताका लागि १२ करोड रुपैयाँको सीमा २० करोड पुर्याउँदै चालु वर्षको मौद्रिक नीतिबाट हटाइसकेको छ।
संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जाको सीमा हटाइएपछि १ करोडभन्दा बढीको ऋण लगानी ८ महिनामा ४१.५ प्रतिशतले बढेको छ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) देवेन्द्ररमण खनालले राष्ट्र बैंकको खुकुलो नीतिले सेयर धितो कर्जाको माग बढेको बताए।
‘राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई कर्जाको थ्रेसहोल्ड हटाएपछि लगानी बढेको हो। प्रणालीमा लिक्विडिटी बढेकाले तत्काल लगानी गर्न सकिने सजिलो क्षेत्र र क्यापिटल एडुकेसी रेसियोका हिसाबले पनि सजिलो हुने भएका कारण ऋण बढेको देखिन्छ,’ उनले भने, ‘ब्याजदर घटेका कारण कर्जाको माग बढेको छ। सस्तो ब्याजदरमा ऋण पाइने भएपछि बजारमा माग बढेको छ। पछिल्लो समय सेयर धितो कर्जामा ऋण बढेकाले बजार समेत चलायमान भएको छ।’
सेयर धितो कर्जा र नेप्से परिसूचक
आर्थिक वर्षसम्म | सेयर धितो कर्जा(रु करोडमा) | नेप्से परिसूचक(अंक) |
२०६९/७० | १२९३ | ५१८ |
२०७०/७१ | २००३ | १०३६ |
२०७१/७२ | २४०८ | ९६१ |
२०७२/७३ | ३७६८ | १७१८ |
२०७३/७४ | ४११७ | १५८३ |
२०७४/७५ | ४११२ | १२१२ |
२०७५/७६ | ४५४१ | १२५९ |
२०७६/७७ | ५०४१ | १३६३ |
२०७७/७८ | १०६२८ | २८८३ |
२०७८/७९ | ८०५० | २००९ |
२०७९/८० | ७६५३ | २०९७ |
२०८०/८१ | ८५१७ | २१०१ |
२०८१/८२ | ११८५० | २७३६ |
सेयर धितोमा बैंकहरुको ऋण लगानी पछिल्लो २० महिनामा ४१ अर्ब ९७ करोड रुपैयाँ बढेको छ।
फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५४ खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। यो वर्ष बैंकहरुको कुल ऋण लगानी ६ प्रतिशतले बढ्दा सेयर धितो कर्जा भने एक तिहाइले उकालो लागेको हो।
८ महिनामा बैंकहरुले ३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। बैंकहरुले अहिलेसम्म गरेको कुल लगानीमा सेयर धितो कर्जाको हिस्सा २.१६ प्रतिशत छ।
ग्लोबल आइएमई बैंकका सीइओ सुरेन्द्र रेग्मी बजारमा अझै पनि ऋणको माग अपेक्षाजनकरुपमा बढ्न नसकेको र लगानीकर्ताले सेयरमा नै पैसा हालिरहेको बताउँछन्। ‘इन्डष्ट्रीमा इफेक्टिभ डिमान्ड नै छैन। केही क्षेत्रबाहेक समग्रमा कन्जम्सनको स्थिति न्यून छ। त्यसैले बैंकको व्यवसाय सोचेअनुसार बढ्न सकेन,’ उनले भने, ‘सेयर धितोमा भने ऋणको माग आइरहेको छ।’
सेयर बजारका लागि अनुकूल मानिने सूचक ब्याजदर न्यून विन्दुमा छ भने तरलता फालाफाल छ। बैंकहरुले एकल अंकको ब्याजदरमै कर्जा दिइरहेका छन्। अहिले वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.४ प्रतिशत छ।
बजारका लागि अनुकूल सूचक हुँदा पनि नेप्सेले ३ वर्षअघिको रेकर्ड भने तोड्न सकेको छैन। गत साउनमा नेप्से ३००० विन्दु पुगेको नेप्से अहिले २६६२ अंकमा छ। गत बिहीबार ५.५७ अंकले घटेको नेप्से आइतबार ८.६२ अंकले ओरालो लाग्यो।
नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन मंगलबार लगानीकर्तामा केही उत्साह देखियो। परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ को विन्दुमा आएर बजारले सकारात्मक संकेत गरेको छ। तर, लगानीकर्ताहरुका अनुसार बजारले अपेक्षाकृत रुपमा फड्को मारेको छैन। जसरी सेयर धितो कर्जा सहज भएको छ त्यस अनुपातमा बजारले चलायमान भएको गति देखाइसकेको छैन।
बजार सूचक अनुकूल हुँदा पनि धेरेजसो लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन्। बजार कारोबारले गति लिन केही समय लाग्ने देखिएको छ।
‘सेयर धितो कर्जा र बजारको सम्बन्ध सकारात्मक रहँदै आएको छ। यसअघि बजार पेनिक हुनुको कारण राष्ट्र बैंकको कर्जा नीति नै हो,’ एक ब्रोकरले भने, ‘अहिले यो नीति उल्टिएर कर्जा लगानीको स्थिति पुरानै अवस्थामा फर्किएको छ। तर, सबै सूचक अनुकूल हुँदा पनि गभर्नर नियुक्तिमा विवाद, राजावादीको आन्दोलन लगायतले बजारको मनोविज्ञान बिगारेको छ।’