घरमाथिबाट अश्रुग्यास हानेको छैनौं, एयरपोर्ट र संसद भवन कब्जा गर्ने भनेपछि प्रहार भयो : प्रहरी

बिजमाण्डू
२०८१ चैत्र २० गते १७:१४ | Apr 2, 2025
घरमाथिबाट अश्रुग्यास हानेको छैनौं, एयरपोर्ट र संसद भवन कब्जा गर्ने भनेपछि प्रहार भयो : प्रहरी

काठमाडौं । नेपाल प्रहरीले गत शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि मात्रै नियन्त्रणमा लिन कारबाही अघि बढाएको जनाएको छ।

Tata
GBIME

अहिले सामाजिक संजालमा प्रदर्शन बिथोल्न प्रहरीले भूमिका खेल्यो र घरको माथि बसेर अश्रु ग्यास प्रहार गरेको आरोप लागिरहेको छ।

यसैबारे स्पष्ट पार्न र शुक्रबारको घटनाबारे जानकारी दिन आज प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता दिनेश आचार्यले घरको माथिबाट अश्रु ग्यास नफालेको बताएका छन्।

‘टियर ग्यास घरमाथिबाट फालेको छैन। प्रहरी प्रदर्शन बिथोल्न खोज्यो भन्ने भाष्य गलत हो। प्रदर्शन अराजक भएपछि अश्रुग्यास र गोली हानिएको हो,’ उनले भने।

मञ्चबाट दुर्गा प्रसाईं र रविन्द्र मिश्रसहितका नेताले विमानस्थल र संसद् भवन कब्जा गर्न आह्वान गरेको र त्यसपछि परिस्थिति बिग्रन नदिनमात्र प्रहरीले अश्रुग्यास प्रहार गरेको उनले बताए।

‘स्टेजमै लक्षित गरेर अश्रुग्यास हानिएको पनि होइन,’ उनले भने।

प्रसाईं र मिश्र लगायतले नेताहरुको घर तोडफोड गर्न समेत उक्साएको र त्यसपछि भिड अराजक बनेपछि प्रहरीले कारबाही सुरु गरेको आचार्यले बताए।

उनले पहिलो अश्रुग्यास बिहान १२:५० मा ‘फायर’ भएको समेत जानकारी दिए।

‘परिस्थिति भड्काउन होइन। अराजक बनेपछि नियन्त्रणमा लिन मात्र हो,’ उनले भने।

उनले दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन प्रहरीले खोजे पछि विभिन्न परिस्थितिका कारण त्यो असम्भव भएको समेत बताएका छन्।