पोखरामा स्कुटर आगजनी घटना अनुसन्धानका क्रममा चोरीका १० स्कुटर बरामद, ८ पक्राउ

बिजमाण्डू
२०८१ चैत्र १८ गते १५:१८ | Mar 31, 2025
पोखरामा स्कुटर आगजनी घटना अनुसन्धानका क्रममा चोरीका १० स्कुटर बरामद, ८ पक्राउ
बरामद स्कुटर । तस्वीर : नेपाल प्रहरी

पोखरा। घरबाट चोरी भएको एउटा स्कुटर जलाएको अवस्थामा फेला परेको घटना अनुसन्धानका क्रममा प्रहरीले ८ जनालाई पक्राउ गर्नुका साथै चोरीका १० वटा स्कुटर बरामद गरेको छ।

Tata
GBIME

गत बुधबार राति पोखरा-२० भलाम स्थित घरमा पार्किङ गरी राखिएको ग११प ७५३७ नम्बरको स्कुटर चोरी भएको भन्ने जाहेरी आएको थियो। स्कुटर जलाएको अवस्थामा भेटियो। घटना अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले सुरुमा १६ र १७ वर्षका दुई किशोरलाई नियन्त्रणमा लिएको थियो।

गत शनिबार दिउँसो पोखरा-१६ लामाचौरको माथिल्लो दिपमा ग८प ५४२९ नम्बरको स्कुटर चलाइरहेका दुई किशोरलाई रोकेर सोधपुछ गर्दा स्कुटर चोरेर ल्याएको खुलेको थियो। उनीहरुले गत बिहीबार राती पोखरा-६ हल्लनचोकमा पार्किङबाट स्कुटर चोरेर ल्याएको बयान दिएका थिए। स्कुटर चोर्ने र केही दिन चलाएर अन्यत्र लगेर छाड्ने गरेको बताएपछि खोज्दै जाँदा चोरीका १० वटा स्कुटर बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घटनामा संलग्न आरोपमा प्रहरीले पोखरा-१६ दिप बस्ने २० वर्षीय दीनेश गुरुङ र अन्य ७ जना (१३ देखि १६ वर्ष उमेर समूहका) किशोरलाई नियन्त्रणमा लिएर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।