त्रिभुवन आर्मीलाई हराउँदै नेपाल पुलिस बन्यो प्रधानमन्त्री कप क्रिकेटको च्याम्पियन

बिजमाण्डू
२०८१ चैत्र १६ गते १५:१० | Mar 29, 2025
त्रिभुवन आर्मीलाई हराउँदै नेपाल पुलिस बन्यो प्रधानमन्त्री कप क्रिकेटको च्याम्पियन
च्याम्पियन टोली नेपाल पुलिस। तस्बिर: क्यान


काठमाडौं। नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो।

Tata
GBIME

सिद्धार्थनगरस्थित सिद्धार्थनगर क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले ४३ ओभरमा अलआउट हुँदै १५४ रन बनाएको थियो। आर्मीको ब्याटिङ पूर्णत वसीर अहमद र विनोद भण्डारीमा निर्भर रह्यो।

शीर्षक्रमका पाँच ब्याटरले दोहोरो अंकको रन नै जोड्न नसक्दा ९.१ ओभरमा २५-५ को दयनीय अवस्थामा आर्मी थियो। यस्तोमा बसीर र विनोदले साझेदारी गर्दै आर्मीको इनिङ्स अघि बढाए। बसीरले सर्वाधिक अविजित ८६ रन बनाउँदा भण्डारीले २९ तथा विवेक यादवले ११ रन बनाए।

बलिङमा पुलिसका करण केसी र सागर ढकालले समान ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी र गुल्सन झाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसले २५.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाउँदा अमित श्रेष्ठले ३९ तथा दीलिप नाथले अविजित ३१ रनको योगदान दिए।

बलिङतर्फ आर्मीका सहाब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए पनि पुलिसलाई लक्ष्यमा पुग्न रोक्न सकेनन्।

प्रधानमन्त्री कपमा पुलिसको यो चौथो उपाधि हो। अघिल्लो संस्करणमा पनि पुलिस नै च्याम्पियन बनेको थियो।