
काठमाडौं। तीनकुने हुँदै गैरीगाउँ र कोटेश्वर क्षेत्रमा शुक्रबार भएको अराजक घटनापछि लगाइएको कर्फ्यु हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजोदेखि आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको थियो। त्यसयता उक्त आदेश स्थगन गरेको हो।
अराजक प्रदर्शनसँगै बानेश्वर-तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको थियो। गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो।

उक्त आदेश शनिबार बिहान ७ बजेपछि स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनाएका छन्। कर्फ्यु हटेसँगै उक्त क्षेत्रमा आवागमन खुलेको छ। ती क्षेत्रमा प्रहरीलाई सतर्क अवस्थामा राखिएको छ।
