काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदानमा बद्मासी अन्त्य गरेको दाबी गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले मंगलबार ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनमा मन्त्री अधिकारीले अनुदान लिनेको विवरण सार्वजनिक गरेर आफूले अब बद्मासी नहुने अवस्था बनाएको दाबी गरेका हुन्।
‘विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुन्छ। मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गरेर अब पारदर्शी हुने सुनिश्चित गरेको छ,’ उनले भने।
उनले विगतमा जस्तो सिधै मन्त्रालयबाट अनुदान जाने प्रक्रिया रोकेको बताए। कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको साथले मात्र कृषि राज्यले लिएको लक्ष्य पूरा हुने बताए।











