सिंगापुरमाथि नेपालको ऐतिहासिक जितमा जिलेस्पीको निर्णायक गोल



बिजमाण्डू
२०८१ चैत्र ८ गते २०:४४ | Mar 21, 2025
सिंगापुरमाथि नेपालको ऐतिहासिक जितमा जिलेस्पीको निर्णायक गोल
तस्बिर: एन्फा

काठमाडौं। नेपाली फुटकल टोलीले सिंगापुरमाथि ऐतिहासिक जित निकालेको छ। एएफसी एसियन कप छनोट अन्तर्गतको मलेसियाविरुद्धको खेलको तयारीका लागि सिंगापुर पुगेको नेपाली टोलीले घरेलु टोलीमाथि १-० गोलको ऐतिहासिक जित निकाल्न सफल भएको हो।

Tata
GBIME
Nepal Life

नेपाल र सिंगापुर यसअघि तीन पटक आमनेसामने भएकोमा कुनै पनि खेल नेपालले जित्न सकेको थिएन।

आज नेपाललाई जिताउन जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२ औँ मिनेटमा मनिष डाँगीको पासमा गरेको गोल नै नेपालको जितका लागि पर्याप्त बन्यो।

नवनियुक्त प्रशिक्षक म्याट रसको कुनै पनि पुरुष राष्ट्रिय टोलीको प्रशिक्षकमा डेब्यु खेल थियो। फिफा वरीयतानमा सिंगापुर १ सय ६० औँ स्थानको टोली हो भने नेपाल १ सय ७५ औँ स्थानको टोली हो। नेपालले सिंगापुरसँग पछिल्लो पटक ३६ वर्ष अगाडि खेलेको थियो जसमा ७-० गोलको पराजय ब्यहोरेको थियो।

नेपालले अब अब २५ मार्चमा एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा मलेसियाविरुद्ध खेल्नेछ। यो समूहमा नेपाल र मलेसियासहित लाओस र भियतनाम छन्। त्यस्तै सिंगापुरले भारत, बंगलादेश र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।