सांसदहरुलाई भण्डारीको प्रतिप्रश्न- उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त?



बिजमाण्डू
२०८१ चैत्र ५ गते १४:५७ | Mar 18, 2025
सांसदहरुलाई भण्डारीको प्रतिप्रश्न- उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त?
दामोदर भण्डारी

काठमाडौं। उद्योगमन्त्री दामोदर भण्डारीले संसदीय समितिमा कार्टेलिङ गरेर सिमेन्ट र डण्डीको मूल्य बढाउने उद्योगीको पक्षमा अभिव्यक्ति दिएका छन्।

Tata
GBIME
Nepal Life

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकमा आफ्नै पार्टीका सांसद समेत आफूमाथि खनिएको अवस्थामा मन्त्री भण्डारीले कार्टेलिङ गर्ने उद्योगीको पक्ष लिएका हुन्।

उनले खुला बजारमा वस्तुको भाउ उद्योगीले नै तोक्ने बताए।

‘अहिले हामी खुला बजारमा छ। वस्तुको मूल्य व्यवसायीले निर्धारण गर्छ। हामीले अवलम्बन गरेको कानुनी व्यवस्थाले यही भनेको छ,’ उनले भने, ‘सरकारको काम भनेको नीतिमा रहेको जटिलता हटाउने हो। वस्तुको मूल्य त बजारले नै निर्धारण गर्छ।’

उनले सिमेन्ट र डण्डीको भाउ बढ्नुमा लोडसेडिङ लगायत अनेक कारण रहेको बताए। ‘हिजो हामीले लोडसेडिङमुक्त भयो भन्यौं। तर, आज पनि लोडसेडिङ छ। मूल्य बढेको विषय खोज्ने हो भने यसका अनेक कारण छन्,’ उनले भने, ‘अहिले उद्योगको अवस्था के छ समितिले नै अध्ययन गरोस्।’

मन्त्री भण्डारीले हेटौंडा र उदयपुर सिमेन्टले प्रति बोरा १५० रुपैयाँ घाटा खाएको भन्दै उत्पादन लागतबारे मन्त्रालयले कार्यदल गठन गरेर अध्ययन गरिरहेको र चाँडै नै त्यसले प्रतिवेदन बुझाउने बताए।

‘राष्ट्र बैंकले प्रत्येक महिना जारी गर्ने मुद्रा स्फीति दरभन्दा बढी भएमा त्यो नियन्त्रण हुन्छ। उद्योग पनि बचोस्, निर्माण पनि हुन्छ भनेर हामीले नेगोसियसन गरेको हो। हामीले बनाएको कार्यदलले हप्ता १० दिन भित्र कस्ट अफ प्रोडक्सनबारे यथार्थ ल्याउने छ,’ उनले भने।

उद्योगीले उद्योगमन्त्रीको साथ पाएर कार्टेलिङ गरी मूल्य बढाएको आफ्नै पार्टी एमालेका सांसदको भनाइमा भण्डारीले प्रतिप्रश्न गरे- उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त?