
विराटनगर। सिमेन्ट उद्योगीको सिको गर्दै स्टील उद्योगीले पनि कार्टेलिङ गरी मूल्य बढाएका छन्। फागुन २० गतेदेखि टीएमटीको अर्डर र बिक्री रोकेका स्टील उद्योगले किलोमा ४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरी बिक्री खोलेका छन्।
काठमाडौंमा शुक्रबार र शनिबार भेला भएका उद्योगीले हरेक हप्ता टीएमटीको मूल्यवृद्धि गर्ने सहमति गरेका छन्।
भ्याटबाहेक प्रति किलो ७८ देखि ८० रुपैयाँमा हार्डवेयर पसललाई टीएमटी दिइरहेका उद्योगले उद्योगीको भेलाको निर्णय अनुसार आइतबारदेखि ८२ देखि ८४ रुपैयाँ बनाएका छन्। उद्योगले अर्डर पनि लिन थालेका छन्।
पूर्वमा सबैभन्दा सस्तो डन्डी बिक्री गर्ने पशुपति आइरनले हार्डवेयर पसललाई किलोको ७८ रुपैयाँमा टीएमटी बिक्री गर्दै थियो। पशुपतिले आइतबारदेखि यस मूल्यलाई ८२ रुपैयाँ बनाएको छ।
त्यस्तै, सबैभन्दा महँगो टीएमटी बिक्री गर्ने प्रिमियर स्टीलले मूल्य ८० बाट ८४ रुपैयाँ बनाएको छ। किलोको ७९ रुपैयाँमा बिक्री गर्दै आएका हुलास वायर र स्वस्तिक रोलिङले ८३ रुपैयाँमा बिक्री गर्न थालेका छन्।
स्टीलमा एकैपटक किलोमा ४ रुपैयाँ मूल्यवृद्धिलाई अस्वाभाविक मानिन्छ। व्यवसायीले यसलाई ठूलो मूल्यवृद्धि भनेका छन्।
‘किलोको ४ रुपैयाँ बढाएर आइतबारदेखि बिक्री र अर्डर दुवै खुलिसकेको छ। उधारोमा कसैलाई नदिने नीति छ। मूल्य अझै बढ्ने छ। हेर्दै जानुस्,’ एक उद्योगका बिक्री अधिकृतले बिजमाण्डूसँग भने।
विराटनगरको निरौला हार्डवेयरका अनन्त निरौलाले स्टील उद्योगले किलोको ४ रुपैयाँ बढाएर आइतबारदेखि अर्डर लिन थालेको पुष्टि गरे। ‘टीएमटीको मूल्य किलोमा एकैपटक ४ रुपैयाँ बढ्नु धेरै हो,’ उनले भने, ‘उद्योगका कर्मचारीसँग कुरा गर्दा मूल्य अझै वृद्धि हुने चाल पाएका छौं।’
शंकर हार्डवेयरका संचालक शंकर गुप्ताले पनि उद्योगहरूले आइतबारदेखि मूल्य बढाएर माल दिन थालेको बताए।
‘सिमेन्टजस्तै क्रमशः मूल्यवृद्धि गर्दै जाने कुरा सुनिरहेका छौं। सरकारको नियमनकारी निकाय र उपभोक्तावादी संस्था निष्क्रिय भएजस्तो छ। हामीलाई त के छ र? सस्तोमा ल्याए सस्तोमै र महँगोमा ल्याए महँगोमै बेच्ने हो,’ व्यवसायी गुप्ताले भने, ‘मार पर्ने त आखिर उपभोक्तालाई नै हो। मूल्यवृद्धिको असर सरकारी आयोजनामा पनि पर्छ।’
गुप्ताले २५ पैसामा समेत बार्गेनिङ गर्ने उद्योगले एकैपल्ट किलोको ४ रुपैयाँ बढाउनुलाई ‘सरकारी अधिकारीको आड भरोसा पाएपछिको नतिजा’ भने।
‘टीएमटीको यो मूल्यवृद्धिले निर्माण कार्यको लागतमा ठूलो असर गर्छ। उद्योगीले बिक्री नै रोकेर मूल्य बढाउनुमा राजनीतिक व्यक्तिको पनि हात हुन सक्छ,’ उनले भने।
मूल्य, उत्पादन र आपूर्तिमा सहमति गर्न भनेर स्टील उद्योगी शुक्रबार काठमाडौंमा भेला भएका थिए। भेलामा सबै उद्योगी सहभागी भएनन्। केही ठूला उद्योगपति अनुपस्थित भए। त्यसैले अहिलेलाई किलोको ४ रुपैयाँ वृद्धि गर्ने र क्रमशः बढाउँदै जाने सहमति गरेको ती उद्योगीले जानकारी दिए।
उद्योगीहरु नाम खुलाउँदा भने भेला गरेर मूल्यवृद्धि गरिएको तथ्य स्वीकार गर्दैनन्।
नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका उपाध्यक्ष एवम् स्वस्तिक रोलिङका संचालक रमेश राठीले मूल्यवृद्धिको निर्णय अस्वीकार गरे। ‘कहीँ कतै बैठक भएको छैन। जहाँसम्म मूल्यवृद्धिको कुरा छ, फागुन १९ कै दरभाउमा कसैलाई टीएमटी लिनु छ भने मेरो उद्योगमा आउनू। जति पनि उपलब्ध छ तर उधारो पाइँदैन,’ उनले भने।
उनले कुनै उद्योगले पनि बिक्री र अर्डर कहिल्यै बन्द नगरेको दाबी गरे। ‘स्टील उद्योगहरू अहिले पनि आपसी प्रतिस्पर्धा र आफ्नो लागतका हिसाबमा चलेका छन्। आपसी सहमतिमा मूल्यवृद्धिको कुरा भएकै छैन,’ उनले भने।
उद्योग संगठन मोरङका कार्यकारी सदस्य एवम् प्रिमियर स्टिलका संचालक सौरभ शारडाले पनि आफ्नो उद्योगले मूल्यवृद्धि नगरेको दाबी गरे। ‘हामीले त १० दिनकै अगाडिकै मूल्यमा बिक्री गरिरहेका छौं। मूल्यवृद्धिको कुरा कसले ल्यायो मैले बुझ्न सकिन,’ उनले भने।