‘सालको पात टपरी…’ को भ्युज १० करोड नाघ्दा गायक, सर्जक र संगीतकार प्रफुल्ल



बिजमाण्डू
२०८१ फागुन २५ गते १५:०० | Mar 9, 2025
‘सालको पात टपरी…’ को भ्युज १० करोड नाघ्दा गायक, सर्जक र संगीतकार प्रफुल्ल


गण्डकी। गायक कुलेन्द्र विश्वकर्माले त्यो बेला नै भनेका थिए, ‘गीतले यतिसम्म चर्चा पाउला भनेर पहिले सोचिएको थिएन।’ जतिबेला उनको लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी…’ युट्युब ट्रेन्डिङमा थियो।

Tata
GBIME
Nepal Life

छोटो अवधिमा युट्युबमा धेरै हेरिएको/सुनिएको पहिलो लोकदोहोरी गीत बनेको थियो। २०७५ असोजमा युट्युबमा सार्वजनिक उक्त गीतले हालसम्म युट्युबमा १० करोडभन्दा बढी ‘भ्युज’ बटुलेको छ। शुक्रबार गीतको ‘भ्यूज’ले १० करोड पार गरेपछि गायक विश्वकर्माले गीतको सफलताको खुसी दर्शक-स्रोतालाई बाँडे।

नेपाली गीतसंगीतप्रतिको दर्शकको माया र साथकै कारण ‘सालको पातको टपरीले…’ले सफलता पाएको उनले बताए। गायक विश्वकर्मा आफ्नो सांगीतिक जीवनको मानक गीतका रुपमा उक्त गीतलाई लिन्छन्। गीतमा विश्वकर्मा र विष्णु माझीको स्वर छ। नवराज पन्तको शब्द रचना रहेको उक्त गीतमा वसन्त थापाले संगीत दिएका छन्।

गीतकार पन्तले ‘सालको पातको टपरी..’ लाई अत्यधिक रुचाइनुले राम्रो सिर्जनालाई स्रोता-दर्शकले पछिसम्म साथ दिँदा रहेछन् भन्ने प्रमाणित भएको बताए। ‘मलाई गीतकारका रुपमा यही गीतले पहिचान दियो। राम्रो कामको प्रशंसा भइरहँदा खुसी लागेको छ,’ उनले भने, ‘नेपाली लोकदोहोरीलाई नयाँ मोड दिन सफल गीतका रुपमा प्रतिक्रिया पाउँदा आफ्नो सिर्जनाप्रति गौरवको महसुस हुँदोरहेछ।’

हाल अमेरिकामा रहेका गीतकार पन्तले त्यहीँ बसेर यो गीत रचना गरेका थिए। बाल्टीमोरस्थित एक कम्पनीमा काम गरिरहेका बेला गायक एवं संगीतकार वसन्त थापाले गीत मागेपछि छिनभरमै पन्तले उक्त गीतको थेगो तयार पारेका थिए। ‘गुन्गुनाउँदै काम गर्दै थिएँ, एक्कासि गीतको थेगो फुर्‍यो। कागजको चिर्कटोमा शब्द उतारेँ,’ पन्तले भने, ‘कामबाट कोठामा फर्केपछि गीतलाई साफी गरेर संगीत भर्न वसन्त दाइलाई पठाएँ। पहिले थेगो लेखेपछि बल्ल ‘सालको पातको टपरी…’को धुन तयार भएको थियो।’

पराइ भूमिमा बसेर लखेको त्यही गीतले पन्तलाई गीतकारका रुपमा थप उचाइ दियो। प्रायः गीतका रचनाकारबारे उतिसाह्रो चासो नलिइने र गीतकार आझेलेमा पर्ने प्रवृत्तिबीच ‘सालको पातको टपरी…’ सार्वजनिक हुँदा गीतकार पन्तका विषयमा संगीत वृत्तमा पनि उत्तिकै चर्चा चलेको थियो।

उक्त गीत सफल हुनुमा शब्द, संगीत र स्वर तीनै पक्षको भूमिका रहेको भन्दै प्रशंसा भयो। ‘मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढावलाई मैले कथानक बनाएर गीतमा उतारेँ। वसन्त दाईले जीवन्त संगीत दिनुभयो। कुलेन्द्र विश्वकर्मा र विष्णु माझी जस्ता मुर्धन्य गायक गायिकाको स्वरले गीत सबैको मनप्रिय बन्यो,’ गीतकार पन्तले भने।

पन्तका ‘डाँडै फुर्के सल्लो…’ र ‘मायालुको सहर…’मा लगायत गीत पनि चर्चित छन्। बागलुङको बागलुङ नगरपालिका-१२ अमलाचौरमा जन्मेका पन्तले अमेरिकामै बसेर ‘सालको पातको टपरी’, ‘कुन्नी कस्ले लग्यो’, ‘पानपाते ठूली’, ‘एक्लो सिमल’ ‘रानी महल’, ‘आँखी गाजल’लगायत कैयन गीत रचना गरेका छन्।

‘कला र गीतसंगीतको सीमाना नहुने रहेछ, न त कुनै भूगोलले सिर्जनाकर्म रोक्न नै सक्दोरहेछ,’ उनी भन्छन्, ‘जिजीविषाले जहाँ पुगे पनि मेरो गीत लेखन र अरु सिर्जनाकर्मको जमिन भनेको त्यही गाउँघर र परिवेश हो जहाँ म जन्मे, हुर्के, बढेँ।’

गायक तथा संगीतकार वसन्त थापाले मौलिकता, सिर्जनात्मकता, प्रस्तुतिमा नयाँपन र साधनाले नै सर्जकलाई सफलता दिलाउने बताए। ‘सालको पातको टपरी’ गीत पनि त्यसकै उदाहरण रहेको उनको भनाइ छ। ‘आफ्नो सिर्जनाकर्मबाट सन्तुष्ट छु। एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित पनि भएको छ,’ उनले भने।

समाजमा सुषुप्त मौलिक लोकभाकालाई टिपेर त्यसलाई नयाँपन दिनमा उनी पोख्त छन्। लोकदोहोरीमा भरिने संगीत अहिले व्यावसायिक बनेको र नयाँ नयाँ प्रयोग पनि भइरहेको उनले बताए। ‘पहिले सरसापटीमा लय दिने अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो, अहिले त्यो छैन। गायक तथा निर्माताहरु स्वयं नै संगीत चाहियो भनेर आउनुहुन्छ,’ थापाले भने।

झ्याउरे लयमा ठेट शब्द र मनछुने स्वरका कारण ‘सालको पात…’लाई अत्यधिक स्रोता-दर्शकले रुचाएको उनले बताए। उक्त गीतको म्युजिक भिडियोमा मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र संगीतकार थापाको अभिनय छ। गीतको संगीत संयोजन आशिष अविरलले गरेका हुन् भने म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका हुन्।

गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कथा छ। अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानलबाट २०७५ असोज १ गते सार्वजनिक गरिएको थियो। गीतका बारेमा युट्युबमा झण्डै १६ हजार बढीले प्रतिक्रिया जनाएका छन्।

१० करोड ‘भ्यूज’ नाघेपछि उक्त गीतको पुनःचर्चा भइरहेको छ। गीत हेर्ने, लाइक, कमेन्ट, शेयर र सस्सक्राइब गर्नेको सङ्ख्याका आधारमा युट्युबमा गीतको सफलता मापन हुन्छ। सोही आधारमा कलाकारले पैसा पाउँछन्। पैसा आउनका लागि तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र सस्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ।

सुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र मोनिटाइज भएपछि मात्र पैसा आउने सर्जक बताउँछन्। श्रव्य क्यासेट, सीडी, सीआरबीटी हुँदै संगीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ। रासस