
विराटनगर। देशभरिका स्टिल उद्योगले डन्डी र एंगल च्यानलको नयाँ अर्डर लिन छाडेका छन्। सिमेन्टपछि डन्डीमा कार्टेलिङ गर्ने उद्देश्यका साथ उद्योगीले यही फागुन २० गतेदेखि नयाँ अर्डर नलिएका हुन्।
स्टील उद्योगहरूले हार्डवेयर पसल र अन्य क्रेताले फागुन १९ गतेसम्म भुक्तानीसहित गरेको अर्डरको माल मात्र दिइरहेका छन्।
उद्योगका बिक्री फाँटका कर्मचारीले नयाँ रेट कायम भएको छैन भन्दै अर्डर र एडभान्स दुबै लिन मानिरहेका छैनन्।
एक उद्योगका सेल्स अफिसरका अनुसार आइतबारसम्म पनि रेट तय हुने सम्भावना छैन।
देशभरिका प्रमुख स्टिल उद्योगका सञ्चालकहरू शुक्रबारदेखि काठमाडौंमा भेला भइरहेका छन्। उनीहरूले शनिबार र आइतबार लगातार बैठक गरेर छिटोमा सोमबार रेट तय गर्नेछन्।
‘बैठकको उद्देश्य उत्पादन र बिक्री सीमित गर्ने तथा आपसी प्रतिस्पर्धा नगर्ने हो,’ ती अफिसरले भने, ‘अहिले त रेट नै छैन। सेल्स क्लोज भनेर विराटनगरका ४ वटै उद्योगका कर्मचारीलाई भनिएको छ। कुन दरमा र कुन आधारमा सौदा गर्नु ? रेट खुलेपछि मात्र अर्डर लिन सकिन्छ।’
उनले हाल पुरानो भुक्तानी र अर्डरको मात्र सामान निस्किरहेको स्पष्ट पारे।

देशभरिका स्टिल उद्योगीले कार्टेलिङको सहमतिका लागि लामो समयदेखि प्रयास गर्दै आएका छन्। सिमेन्टको कार्टेलिङ हुने बेलामा नै स्टिल उद्योगीले पनि विभिन्न चरणमा बैठक गरेका थिए।
आपसी सहमतिमा मूल्यवृद्धिपछि सिमेन्ट उद्योगले गरेको आर्जनले पनि आफूहरुलाई सहमतिमा ल्याउन प्रेरित गरेको एक स्टील उद्योगीको भनाइ छ।
ती उद्योगीका अनुसार काठमाडौंको बैठकपछि स्टिल उद्योगको क्रेडिट र ब्रान्डअनुसार उत्पादनको बिक्री मूल्य फरकफरक नै हुनेछ। जस्तो कि अहिले पनि उद्योग अनुसार सिमेन्टको बिक्री मूल्य फरकफरक छ।
‘तर उत्पादन र बिक्री भने सीमित हुनेछ। अभाव सिर्जना गरिने छ। सुक्खायामसँगै उद्योगमा सुरु भएको लोडसेडिङले उत्पादन सीमित गर्न थप साथ दिनेछ। यो विषय चर्को मुद्दाका रूपमा आयो भने सिमेन्ट उद्योगीले जस्तै लोडसेडिङले गर्दा मूल्यवृद्धि भएको भन्ने उत्तर दिइने छ,’ ती उद्योगीले निर्धक्कसाथ भने।
यसअघि सिमेन्ट उद्योगीले उद्योगमन्त्री दामोदर भण्डारीको आड भरोसा पाएर मूल्य चार महिनाकै अन्तरमा सतप्रतिशतसम्म बढाएकामा सरकारले कुनै हस्तक्षेप गरेको थिएन। सांसदहरुको चर्को विरोध गर्नुका साथै संसदीय समितिले मूल्य घटाउन निर्देशन दिएकामा मन्त्री भण्डारीले उद्योगीकै पक्षमा वकालत गर्दै आएका छन्।
विराटनगरको निरौला हार्डवेयरका सञ्चालक अनन्त निरौलाले ४ दिनदेखि उद्योगले टीएमटीको अर्डर लिन बन्द गरेको पुष्टि गरे। ‘कोशी प्रदेशका चार वटै स्टिल उद्योगका सेल्स फाँटका कर्मचारीले आफूलाई व्यवस्थापनले अर्को सूचना नभएसम्म अर्डर र एडभान्स दुबै नलिनू भन्ने निर्देशन दिएको बताइरहेका छन्,’ निरौलाले भने।
सुनसरीमा स्वस्तिक रोलिङ, हुलास वायर, पशुपति आइरन र प्रिमियर स्टिल गरी ४ वटा ठूला स्टिल उद्योग सञ्चालनमा छन्।

हार्डवेयर सञ्चालक निरौलाले उद्योगका सेल्स कर्मचारीले काठमाडौँमा हुने बैठकबाट निर्णय आएपछि मात्र नयाँ अर्डर लिन सकिने उत्तर दिइरहेको जानकारी दिए।
त्यस्तै जेएम हार्डवेयरका जीवन खड्काले उद्योगहरूले पुरानो अर्डरको सामान मात्र पठाइरहेको बताए। ‘हामीले कार्टेलिङतिरै गएको संकेत पाइरहेका छौं। बजारमा चर्चा पनि यही भइरहेको छ। पूर्वका कुनै पनि उद्योगले नयाँ अर्डर लिएका छैनन्’, खड्काले भने।
उद्योगीहरू स्टिलका उत्पादनमा कार्टेलिङ गर्न लागेको मान्न तयार छैनन्। नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका उपाध्यक्ष एवम् स्वस्तिक रोलिङ मिल्सका सञ्चालक रमेश राठीले स्टिल उद्योगीले कार्टेलिङ गर्न लागेको कुरा मिथ्या भएको बताए।
उनले कुनै उद्योग विशेषले खास कारणवश एक दुई दिनका लागि नयाँ अर्डर नलिन सक्छ भन्ने तर्क गर्दै उद्योगीले सल्लाह गरेरै नयाँ अर्डर नलिएको भन्ने आरोपमा सत्यता नभएको जिकिर गरे।
राठीले आफ्नो उद्योगले बिक्री गर्न र अर्डर लिन बन्द नगरेको बताए।
उद्योग संगठन मोरङका कार्यकारी सदस्य एवम् प्रिमियर स्टिलका सञ्चालक सौरभ शारडाले अहिलेको मूल्यमा हरेक स्टिल उद्योग किलोको ४ रुपैयाँसम्म घाटामा रहेकाले मूल्य बढाउनुपर्ने अवस्था रहेको बताए।
उद्योगी शारडाले आफ्नो उद्योगले लामो समयको ठूलो सौदा अहिले नलिएको तर सानो र मध्यम परिमाणमा बिक्री नरोकेको जानकारी दिए।
‘हरेक उद्योग कानुनको परिधिमा रहेर आ–आफ्नो क्रसिङ अनुसार मूल्य तोक्न स्वतन्त्र छन्। कसैले उत्पादन घटाउने र बिक्री रोक्ने सहमति गरेका छैनन्। गर्न लागेका पनि होइनन्’, शारडाले भने।