छात्रावासको जीवनमा आधारित फिल्म ‘होस्टेल ३’ तयार, विद्यार्थी र अभिभावकका कथा

बिजमाण्डू
२०८१ फागुन १० गते १३:३९ | Feb 22, 2025
छात्रावासको जीवनमा आधारित फिल्म ‘होस्टेल ३’ तयार, विद्यार्थी र अभिभावकका कथा


काठमाडौं। विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित कथामा आधारित फिल्म ‘होस्टेल ३’ तयार भएको छ। फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्देशक सशान कँडेलले विद्यार्थी जीवनको विभिन्न पाटोलाई चलचित्रमा प्रस्तुत गरेको बताएका छन्।

Tata
GBIME
NLIC

‘विद्यार्थी जीवनमा छात्रावासमा बस्नेले त्यही छुट्टै परिवार बनाउनुहुन्छ। त्यहाँको जीवन र भोगाइलाई समाज र अभिभावकले बुझ्न नसकेको गुनासो विद्यार्थीको हुने गर्छ। त्यसकारण यो अभिभावक र विद्यार्थी दुवैको कथा र व्यथालाई प्रस्तुत गरिएको छ,’ उनले भने, ‘यसले दुवै पक्षको परिस्थितिलाई उजागर गर्छ।’

‘होस्टेल’ र ‘होस्टेल २’ पछि शृंखलाकै रुपमा ‘होस्टेल ३’ निर्माण गरिए पनि परिवेश र घटनाक्रम नयाँ रहेको निर्देशक कँडेलले बताए। यसमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारले अभिनय गरेका छन्।

उल्लिखित कलाकारले यसै चलचित्रमार्फत आफ्नो अभिनय यात्राको सुरुआत गर्दैछन्। नवोदित कलाकार ठकुरीले फिल्ममा अभिनय आफ्ना लागि सपना झैँ भएको बताए। ‘मैले यो यात्राको बारेमा सोचेको थिइन्, तर अहिले अभिनय थालेको छु। मैले बुझेको र मलाई सिकाइएको अनुसार आफ्नो पात्रलाई निर्वाह गर्ने कोसिस गरेको छु,’ उनले भने, ‘यो चलचित्रमा काम गर्दा उस्तै उमेर समूहका भएर हुनसक्छ, हामी साथी बनेका छौं। होस्टेल जीवन र त्यहाँको यथार्थलाई बुझ्न मद्दत पुगेको छ।’

माधव शर्माले लेखन रहेको फिल्मलाई अर्जुन तिवारीले छायांकन निर्देशन, विकास दाहालले सम्पादन र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।