अब रेस्टुरेन्टको मेनुमा भ्याट तथा सेवा शुल्क जोडेपछिको मूल्य राख्नुपर्ने, अनुगमन थालियो



बिजमाण्डू
२०७५ असोज १६ गते १२:०५ | Oct 2, 2018


काठमाडौं। रेस्टुरेन्टले ग्राहकका लागि राख्ने खानाको 'मेनु'मा मूल्य अभिवृद्धि कर (भ्याट) र सेवा शुल्कसमेत जोडेर राख्नुपर्ने भएको छ। होटल तथा रेस्टुरेन्टहरुले तयार पार्ने मेनुमा ग्राहकले तिर्नुपर्ने अन्तिम मूल्य नै उल्लेख गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो।

Tata
GBIME

रेस्टुरेन्टले मेनुमा एउटा मूल्य राख्ने र ग्राहकसँग कुनै वस्तुको मूल्य लिँदा त्यसमा भ्याट र सेवा शुल्क जोडेर लिने गरेका छन्। अहिले रेस्टुरेन्टहरुले मेनुमा राखिएको मूल्यमा मूल्य अभिवृद्धि कर (भ्याट) तथा सेवा शुल्क समावेश गर्दैनन्।

त्यसो गर्दा ग्राहकहरु पनि अन्यौलमा पर्ने र उठाएको भ्याट बुझाए नबुझाएको पनि यकिन नहुने भएकाले नियमनको दायरामा ल्याउन कडाई थाल्न लागिएको हो।

आन्तरिक राजस्व विभागले रेस्टुरेन्ट सञ्चालकहरुलाई केही दिन अघि छलफलमा बोलाएर बिल बराबरको हुन आउने रकम नै मेनुमा राख्न निर्देशन दिएको थियो। 'ग्राहकसँग भ्याट उठाउने तर कार्यालयमा नतिर्ने ठुलो समस्या छ,' विभागका एक अधिकारीले भने, 'त्यसैलाई हटाउने उपायस्वरुप यो व्यवस्था गर्न लागिएको हो।

मूल्य अभिवृद्धि कर ऐन तथा नियमावलीको व्यवस्थाअनुसार विभागले रेस्टुरेन्टहरुलाई करसहितको 'प्राइस ट्याग' राख्न भनेको हो।

नियमावलीको दफा १४ मा 'दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेस्टुरेन्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस)मा करसहितको मूल्य उल्लेख गर्नुपर्नेछ,' भनिएको छ।

यसरी मेनुमा अन्तिम मूल्य नै राख्दा ग्राहकलाई सहज हुने र कर असुली प्रक्रियामा पनि सहजीकरण आउने विभागको दावी छ।

यसैबीच विभागले महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट, स्यानिटरी, इलेक्ट्रोनिक्स र निर्माण सामग्रीलगायतका वस्तुहरुको कारोबार अनिवार्य मूल्य अभिवृद्धि करमा दर्ता गराउन बजार अनुगमन सुरु गर्ने भएको छ।

यस्ता वस्तु बिक्री गर्ने काठमाडौंसहितका ६ महानगरपालिका तथा ११ उपमहानगरपालिका क्षेत्रभित्र रहेका ती व्यवसायलाई अनिवार्य करको दायरामा ल्याउन अभियान नै चलाउन लागेको हो।

चालु आर्थिक वर्षको बजेट बक्तव्यमा पनि उल्लेखित विषयवस्तु कार्यान्वयन गर्न र करको दायरा विस्तारकालागि अनुगमन थाल्न लागिएको विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जानकारी दिए।