
काठमाडौं। नेपालमा ६ हजारभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक चार्जिङ स्टेसन निर्माणमा एग्रेसिभ बनेको छ।
साइमेक्स इंकले काठमाडौंको गैरीधारा र चितवनमा ठूलो लगानीमा चार्जिङ हब निर्माण गरिरहेको छ। चितवनको चार्जिङ स्टेसन दक्षिण एसियाकै तालिम केन्द्र र काठमाडौं बाहिरको वेयरहाउस समेत हुनेछ।
यी दुईवटा चार्जिङ हबमा २४ वटा चार्जिङ पोइन्ट हुनेछन्। चितवनमा १६ वटा र गैरीधारामा ८ वटा चार्जिङ पोइन्ट हुने कम्पनीले जनाएको छ। अहिलेसम्म कम्पनीले नेपालभरी ५० वटा चार्जिङ स्टेसन संचालनमा ल्याइसकेको छ।
कम्पनीले यो हेरिटेज चार्ज पोइन्टलाई व्यापारिक हबका रुपमा स्थापित गर्ने योजना बनाएको छ। यो हबमा क्याफेटेरिया र रिकन्डिसनसहितका सुविधा समावेश हुनेछन्।

यस्तै, गाडीका लागि आवश्यक पर्ने एसेसरिज पनि चार्जिङ हबमा उपलब्ध हुनेछन्। एउटा चार्जिङ हब निर्माणमा ३ करोडदेखि ५ करोड रुपैयाँ खर्च हुने कम्पनीको अनुमान छ।
गैरीधारामा निर्माणाधीन चार्जिङ स्टेसनको काम अन्तिम चरणमा पुगेको छ। चार्जिङका लागि चाहिने ट्रान्सफर्मर हाल्ने काम सकिएको छ। अहिले कम्पनीले चार्जिङ पोइन्ट हाल्ने काम गरिरहेको छ।
कम्पनीका अनुसार यसमा ६० किलोवाटको एउटा, ३० किलोवाटका दुईटा र ७ किलोवाटका २ वटा चार्जिङ गन हुनेछन्। कम्पनीले अरु ठूला सहरमा पनि यस्तै खालको हेरिटेज चार्ज पोइन्ट निर्माण गर्ने योजना बनाएको छ।
कम्पनीले हेरिटेज चार्ज पोइन्ट एप निर्माण गर्ने र त्यही एपबाट नै सबै कन्ट्रोल गर्न सकिने जनाएको छ।

चितवनमा बीवाइडी म्युजियम
चितवनमा स्पेयर पार्ट्सका लागि वेयर हाउससहित बीवाइडी म्युजियम सेन्टर बनाउने कम्पनीका कर्मचारीहरूले बताएका छन्। चितवनमा अहिले केही चार्जिङ पोइन्ट संचालनमा आइसकेका छन्।
पूर्णरुपमा संचालनमा आउन केही समय लाग्नेछ। गैरीधारामा निर्माण भइरहेको चार्जिङ हबभन्दा चितवनको दोब्बर ठूलो हुनेछ।
चितवनमा अहिले २ विघा ८ कठ्ठा जग्गामा चार्जिङ हब निर्माण भइरहेको छ। यो चार्जिङ हबमा अहिले ४ वटा गन संचालनमा ल्याइएको छ। ६० किलोवाट चार्जरमा दुई वटा गन र ३० किलोवाटको एउटा गन छन्। एक हप्ताभित्र अर्को ६० किलोवाट क्षमताको दुई गन थप्ने तयारी छ।
उपत्यका बाहिरका लागि स्पेयर पार्ट्स यहीँ स्टकमा राखिनेछ। यहाँ सुविधा सम्पन्न ट्रेनिङ सेन्टर बनाइने र त्यसका लागि अर्को एक बिघा जग्गा लिजमा लिने कम्पनीले जनाएको छ।

बीवाइडीले साइमेक्स इंकलाई म्युजियमसहितको चार्जिङ स्टेसन निर्माण गर्न सुझाव दिएको छ। सुझाव अनुसार काम अगाडि बढाएको कम्पनीले जनाएको छ। म्युजियममा बीवाइडीका अहिलेसम्मका प्रविधि र ब्याट्री राखिनेछ।
यो तयार हुन ६ महिनाभन्दा धेरै समय लाग्ने कम्पनीले जनाएको छ। अहिलेसम्म कम्पनीले चितवनमा मात्रै ५ करोड रुपैयाँ खर्च गरेको छ। कम्पनीका अनुसार ट्रेनिङ सेन्टर र म्युजियम निर्माण गर्न अझै ४ देखि ५ करोड रुपैयाँ खर्च हुनेछ।
यो चार्जिङ पोइन्टमा रिकन्डिसन हाउससहितको शोरुम हुनेछ। जसमा पुराना गाडीसँग नयाँ बीवाइडी एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले क्याफेटेरियालाई ‘ड्रिम्स क्याफे’ नाम दिने योजना बनाएको छ। चार्जिङ परिसरभित्र सानो मार्ट पनि बन्नेछ।
६ प्रदेशका ५० स्थान चार्जिङ स्टेशन

बीवाइडीले ६ प्रदेशका विभिन्न ५० स्थानमा चार्जिङ स्टेशन बनाएको छ। जसमध्ये ६ वटा एसी फास्ट चार्जर र ४४ वटा डीसी फास्ट चार्जर छन्।
सूदुरपश्चिमको धनगढीमा बीवाइडीको ४० किलोवाटको एसी फास्ट चार्जर छ।
लुम्बिनीको बुटवलमा ३ वटा, नेपालगञ्जमा २ वटा, तुलसीपुर २ वटा तथा लमही, घोरही, अमेलिया, प्युठान, भैरहवा, कोहलपुरका १/१ स्थानमा ३० किलोवाटको डीसी फास्ट चार्जर छ भने नेपालगञ्ज र तुलसीपुरमा ४० किलोवाटको एसी फास्ट चार्जर पनि छ।
गण्डकीको पोखरामा ७ वटा र डुम्रेमा एउटा ३० किलोवाटको डीसी फास्ट चार्जर छ।


बागमतीको चितवनमा ४ वटा, गुहेश्वरीमा २ वटा, कुरिनटारमा २ वटा तथा अनामनगर, नक्साल, ललितपुर, भक्तपुरको सल्लाघारी, सोल्टीमोडमा १/१ स्थानमा ३० किलोवाटको डीसी फास्ट चार्जर छ भने काठमाडौं र चितवनमा ४० किलोवाटको एसी फास्ट चार्जर पनि छ।
मधेश प्रदेशको वीरगंज, जनकपुर र बर्दीबासमा ३० किलोवाटको डीसी फास्ट चार्जर छ।
कोशीको इटहरी, बिर्तामोड र विराटनगरमा २/२ वटा र झापाको दमकमा एउटा ३० किलोवाटको डीसी फास्ट चार्जर छ भने विराटनगरमा ४० किलोवाटको एसी फास्ट चार्जर पनि छ।