स्वास्थ्य बीमालाई १ लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्‍याउछौँ : मन्त्री पौडेल

बिजमाण्डू
२०८१ पुष २७ गते १७:४२ | Jan 11, 2025
स्वास्थ्य बीमालाई १ लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्‍याउछौँ : मन्त्री पौडेल
फाइल तस्बिर।

डुम्रे। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्‍याउन सरकार लागेको बताएका छन्।

Tata
GBIME

नेपाली कांग्रेस तनहुँले आज बिपी स्मृति भवन दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पैसा अभावले उपचार नपाउने अवस्थाको अन्त्य गर्दै सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध भएको बताएका हुन्।

उनले स्वास्थ्य बीमाको पहुँच र रकमको वृद्धि गरी उपचारमा सहजता कायम गरिने समेत उल्लेख गरे। बिरामीको जीवन रक्षामा मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलको भनाइ थियो।

स्वास्थ्य बीमालाई १ लाख रुपैयाँबाट वृद्धि गरी ५ लाख रुपैयाँ पुर्‍याउन स्रोत व्यवस्थापनमा सरकार लागेको मन्त्री पौडेलले जानकारी गराए।

उनले भने, ‘स्वास्थ्य बीमालाई ५ लाख रुपैयाँ पुर्‍याउँछौँ मात्र भनेका होइनौँ, कसरी स्रोत जम्मा गर्ने भन्ने विषयको गृहकार्य गरिरहेका छौँ, मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने प्रक्रियामा अगाडि बढिसकेका छौँ।’

निजी संस्था र नागरिकबाट उठ्ने करको केही रकम बीमा कोषमा ल्याउने तयारी भएको उनले बताए। जटिल रोग लागेका बिरामीलाई १ लाख रुपैयाँले उपचार सम्भव नहुने भन्दै उनले बीमाको रकम वृद्धि गरी ५ लाख पुर्‍याउने योजना तयार भएको जानकारी दिए।

स्वास्थ्य बीमाको स्रोत व्यवस्थापनमा नागरिक, सरकार, विभिन्न सङ्घसंस्थाको योगदानलाई सुनिश्चित हुने गरी कार्यक्रम ल्याइने पौडेलले बताए।

नागरिकको आफ्नो तलबबाट २ प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गर्न लागेको उनले जानकारी दिए। नेपाली नागरिकले तिर्ने करको ०.५ प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने उनले बताए।

उनले भने, ‘बीमाको प्रतिवेदन आइसकेको छ, कार्यान्वयनमा लैजान तयारी गरिरहेका छौँ।’

मन्त्री पौडेलले १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क हुने उपचार कार्यान्वयनमा आइसकेको उदाहरण दिँदै सरकार स्वास्थ्य सेवाप्रति गम्भीर रहेको बताए। क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भइसकेको तथा मतिष्काघातका बिरामीलाई निःशुल्क औषधिको व्यवस्थापन गर्न लागिएको पौडेलले बताए।

फरक प्रसङ्गमा उनले राष्ट्रिय गौरवलाई समेट्ने गरी नयाँ परियोजना ल्याउन आवश्यक रहेको बताए। उनले तनहुँ जलविद्युत् र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबाहेक अन्य नयाँ परियोजना ल्याउनुपर्ने धारणा व्यक्त गरे।

उनले भने, ‘तनहुँको पहिचान हुनेगरी कुनै पनि योजना छैनन्, पहिचानसहित परियोजना ल्याउनुपर्ने अवस्था छ, राष्ट्रिय गौरवको परियोजना ल्याउन र समेट्ने गरी नयाँ परियोजना ल्याउनुमा यहाँका राजनीतिक दलले पहल गर्नुपर्ने हुन्छ, यसतर्फ ध्यान दिनुहोस्।’ रासस