कर दिवस २०८१ : उत्कृष्ट १६ करदातालाई सम्मान

बिजमाण्डू
२०८१ मंसिर १ गते ११:५८ | Nov 16, 2024
कर दिवस २०८१ : उत्कृष्ट १६ करदातालाई सम्मान


काठमाडौं। कर दिवस-२०८१ का अवसर पारेर आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मान गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न क्षेत्रका ठुला करदातालाई सम्मान गरेका हुन्।

Tata
GBIME
NLIC

सम्मानित हुनेमा २०७९/८० को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिल गर्ने नेपाल टेलिकम, एकलौटी फर्ममध्ये श्रुती ट्रेडर्स, वस्तु निर्यात कारोबार गर्नेमध्ये डाबर नेपाल प्रालि, सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने कोडावतार टेक प्रालि छन्।

यस्तै कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये पतञ्जली आयुर्वेद प्रालि, बैंक तथा वित्तीय संस्था र बीमा कारोबार गर्नेमध्येबाट नबिल बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्ये लुम्बिनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर छन्।

यस्तै पर्यटन व्यवसायमध्येबाट तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, वार्षिक कारोबार रकम ५० करोडभन्दा बढी १०० करोडसम्म कारोबार गर्ने करदातामध्येबाट सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये बढी आयकर दाखिल गर्ने सिटी एक्सप्रेस प्रालि छन्।

यस्तै व्यक्तिगत आयमा २०७९/८० को आय विवरणअनुसार सर्वाधिक आयकर बुझाउने राजबहादुर शाह सम्मानित भएका छन्। २०७५ साउनदेखि २०८१ असारसम्मको कर अवधिमा भ्याट विवरण र सो बमोजिमको कर समयमै दाखिल गरि नियमित सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी भ्याट दाखिल गर्नेमा होङ्सी सिमेन्ट प्रालि सम्मानित भएको छ।

यस्तै वार्षिक ५० करोड रुपैयाँसम्मको कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राइजेज प्रालि र विशेष उद्योगहरुमध्ये बढी आयकर बुझाउने बरुण वेभरेज नेपाल प्रालि सम्मानित भएको छ।