
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुहेश्वरी मन्दिर पुगेर छठी माताको पूजा आराधना गरेका छन्।
राष्ट्रपतिले गुहेश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका हुन्। पूजास्थल पुगी राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले छठी माताको पूजा आराधना गरेका हुन्।


कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरिने यो पर्व मंगलबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।
त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको हो।




