टी-२० सिरिजमा ‘क्लिन स्विप’ले नहटाएको बेचैनी, फरक फर्म्याटमा दबाबमा नेपाली टोली

मुकुन्द घिमिरे
२०८१ कात्तिक १० गते १७:०९ | Oct 26, 2024
टी-२० सिरिजमा ‘क्लिन स्विप’ले नहटाएको बेचैनी, फरक फर्म्याटमा दबाबमा नेपाली टोली
अमेरिकाविरुद्धको टी-२० सिरिजमा नेपाल फ्यान। तस्बिर : क्यान


काठमाडौं। नेपाली क्रिकेट टोली हाल अमेरिकामा छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली त्यहाँ पुगेको हो।

Tata
GBIME

अमेरिकामा नेपालले घरेलु टोलीसँग केही दिन अघि टी-२० सिरिज खेलेको थियो। झट्ट हेर्दा सो सिरिजमा क्लिन स्विप गरेको नेपालको प्रदर्शनका हिसाबले हर्षित हुने स्थिति देखिन्छ। तर अलि लामो टाइम फ्रेममा नेपाली टोलीलाई हेर्ने हो भने स्थिति ठीक उल्टो छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा हाल नेपालका लागि धेरै अर्थ राख्ने कुनै प्रतियोगिता छ भने त्यो हो क्रिकेट विश्वकप लिग-२। केही वर्षसम्म चलेर एकदिवसीय विश्वकपसम्म पुग्ने यो लिग नेपालजस्ता शीर्ष ८ एसोसिएट टोलीका लागि खासगरी दुई अर्थमा महत्त्वपूर्ण छ।

पहिलो, यो यी टोलीका लागि एकदिवसीय विश्वकपमा पुग्ने एकमात्र बाटो हो। ८ टोली सहभागी यो लिगका टप टेबलका टिमहरू सोझै विश्वकपको ग्लोबल छनोटमा पुग्छन्। त्यहाँबाट च्यालेन्ज लिग र सुपर लिगबाट आएका टोलीसँग प्रतिस्पर्धा गरेर सोझै विश्वकप पुग्ने बाटो खुल्छ।

दोस्रो, यो एसोसिएट टोलीका लागि एकदिवसीय मान्यता जोगाउने एउटै विकल्प हो। यो लिग साइकलमा मिडटेबलसम्म रहन सके पनि एकदिवसीय मान्यता जोगिनेछ।

अघिल्लो सिजन लिग-२ मा प्रतिस्पर्धा गरेको पपुवा न्युगिनी बटम टेबलमा रहँदा एकदिवसीय मान्यता जोगाउन सकेन र हाल च्यालेन्ज लिग खेलिरहेको छ भने अघिल्लो पटक च्यालेन्ज लिग खेलेको क्यानडा यसपाला एकदिवसीय मान्यता पाएर लिग-२ खेलिरहेको छ।

क्यानडाबाट अमेरिका पुगेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले क्यानले सामाजिक सञ्जालमा जारी गरेको भिडियोमा सिरिजका लागि आफू तयार भएको बताएका थिए।

‘पछिल्लो वर्षदेखि अमेरिकाले राम्रो खेलिरहेको छ। स्कटल्याण्ड पनि हामीलाई थाहा छ धेरै राम्रो टोली छ। अघिल्लो सिजनको च्याम्पियन पनि हो। दुवै टोली एकदमै राम्रो छन्। आफ्नो बेस्ट दिनसके हामी कुनै पनि टोलीलाई हराउन सक्छौँ,’ उनले भनेका थिए।

क्यानडामा सोचेजस्तो नतिजा नआएपछि फोकस त्रिकोणात्मक सिरिजमा भएको उनी बताउँछन्। यसअघि नेपालले टी-२० सिरिज पनि त्यही मैदानमा खेलेकाले ओडीआईलाई मद्दत पुग्नेछ।

क्यानडामा एकदिवसीय फर्म्याटमा नेपालका लागि चित्त बुझ्दो प्रदर्शन गर्ने एकमात्र खेलाडी थिए गुल्सन झा। अमेरिकाविरुद्ध टी-२० सिरिजमा फर्किएको कुशल भुर्तेल र सोमपाल कामीको लयलाई निरन्तरता दिन सके उत्साहित बन्ने ठाउँ भने छ।

अमेरिकाविरुद्ध टी-२० सिरिजमा सानदार प्रदर्शन गरेका सोमपाल कामी। तस्बिर: क्यान

‘अघिल्लो प्रतियोगिता हाम्रो पक्षमा गएन। अब फरक देश र फरक प्रतिस्पर्धा छ। पुरानो बिर्सेर नयाँ स्टार्ट गरौँ। हाम्रो भविष्यका लागि पनि यहाँको अंकहरू धेरै महत्त्वपूर्ण छ। हामीले बढीभन्दा बढी अंक लिएर जानुपर्नेछ,’ गुल्सन झाले क्यानसँगको भिडियोमा भनेका छन्।

टी-२० मा क्लिन स्विपले दिन नसकेको हर्ष

नेपाली क्रिकेट टोलीको क्यानडामा निराशाजनक प्रदर्शन थियो। पछि अमेरिका पुगेर टोलीले उत्साहजनक प्रदर्शन गर्‍यो। घरेलु टोलीविरुद्धको तीन खेलको टी-२० सिरिजमा ‘क्लिन स्विप’ गर्दै ऐतिहासिक उपलब्धि हात पार्‍यो।

तर नेपाली टोलीको वर्तमान अवस्थामा यसमै हर्षित हुने अवस्था भने छैन। क्यानडामा पनि टी-२० सिरिजमा औसत प्रदर्शन गरेको नेपालले एकदिवसीय फर्म्याटमा भने एउटै जित निकाल्न सकेन। चारमध्ये नेपाल तीन खेलमा पराजित हुँदा एउटा खेल वर्षाले बाधा गर्‍यो।

टी-२० सिरिज क्लिनस्वीप पछि नेपाली खेलाडी। तस्बिर: क्यान

यस्तोमा क्यानडामा नेपालले फेरि टी-२० सिरिज खेल्यो। जसमा प्रदर्शन औसत रह्यो। अमेरिका पुगेर फेरि टी-२० सिरिज खेलेको नेपालले उच्च प्रदर्शन गरेको छ।

तर नेपालको वास्तविक परीक्षा हाल टी-२० सिरिजमा नभएर एकदिवसीय सिरिजमा छ। टी-२० सिरिजमा क्लिन स्विप गरेर एकदिवसीय अभ्यास खेल नेपालले अमेरिकाको दोस्रो रोजाइको टोलीसँग खेलेको थियो। जसमा खराब लयलाई निरन्तरता दिँदै ८० रनमा अलआउट भएको थियो र ४ विकेटले हार बेहोर्न पुगेको थियो।

यस्तोमा एकदिवसीय फर्म्याटमा नेपालको लयले टी-२० फर्म्याटमा मिलेको खुशीलाई पनि छायाँमा पारेको छ।

लिग-२ मा दबाब

एकदिवसीय फर्म्याटमा क्यानडामा मात्र नेपालले खराब प्रदर्शन गरेको होइन। अझ ठूलो टाइमफ्रेममा हेर्ने हो भने अमेरिकामा नेपालले अब खेल्न लागेको त्रिकोणात्मक सिरिज लिग-२ को आफ्नो तेस्रो सिरिज हो।

हरेक सिरिजमा चारवटा खेल एक टोलीले खेल्ने गर्छ। लिग-२ का दुई सिरिजमा ८ खेलमध्ये नेपालले एउटा खेलमा मात्र जित निकालेको छ।

नेपालले लिग-२ को पहिलो सिरिज काठमाडौंमा नेदरल्याण्ड्स र नामबियाविरुद्ध खेलेको थियो भने दोस्रो सिरिज क्यानडामा ओमन र क्यानडाविरुद्ध खेलेको थियो। यसमध्ये नेपालले एउटा खेलमा नेदरल्याण्ड्सलाई हराएर २ अंक ल्याउँदा ओमनसँगको खेल रद्द हुँदा १ अंक पाएको थियो।

विकेट सेलिब्रेट गर्दै गुल्सन झा। तस्बिर: क्यान

यसरी कुल ८ खेलबाट ३ अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ। यसबीच नेपाल क्रिकेट संघ (क्यान)ले बाउन्स ब्याक गर्नका लागि केही बल पनि लगाएको छ।

नेपाली टोलीका जानकार प्रशिक्षक जगत टमाटालाई कन्सलटेन्ट कोचका रुपमा अमेरिका पठाएको छ भने नेपाल र क्यानडाका मुख्य प्रशिक्षक रहिसकेका पुबुदु दासानायकेलाई यो सिरिजका लागि मेन्टरमा नियुक्त गरेको छ।

दासानायकेलाई नियुक्त गर्नुका पछाडि उनीसँग अमेरिकी कन्डिसन र खेलबारेको जानकारी मुख्य कारण भएको क्यानका प्रवक्ता छुम्बी लामा बताउँछन्।

अंक तालिकामा मिल्न सक्छ छलाङ

लिग-२ को अंक तालिकामा नेपालको अवस्था यति खराब छ कि यो सिरिजका सबै खेल जितेको खण्डमा पनि नेपाल बल्ल मिड टेबलसम्म मात्र उक्लन सक्छ। अर्थात सबै खेल जितेपछि यही सिरिजबाट शीर्ष तीनमा नेपाल पुग्ने सम्भावना नै छैन।

अंक तालिकामा १२ खेलबाट १६ अंक जोडेको क्यानडा शीर्षस्थानमा छ। दोस्रो र तेस्रो स्थानमा रहेको अमेरिका र नेदरल्याण्ड्सले समान ८ खेलबाट १२ अंक जोडेका छन्।

त्यस्तै, चौथो स्थानमा रहेको स्कटल्याण्डको ११, पाँचौं स्थानको नामिबियाका १० र छैटौं स्थानको ओमनको ६ अंक छ।

नेपाल भने ३ अंकसहित सातौं स्थानमा र युएई २ अंकसहित तालिकाको पुछारमा छ।

अमेरिका सिरिजमा नेपालको खेल

  • अमेरिका भर्सेस नेपाल, कात्तिक ११ गते
  • नेपाल भर्सेस स्कटल्याण्ड, कात्तिक १३ गते
  • अमेरिका भर्सेस नेपाल, कात्तिक १७ गते
  • नेपाल भर्सेस स्कटल्याण्ड, कात्तिक १९ गते