काठमाडौं। असोज दोस्रो साता आएको बाढीले बगाएको बीपी राजमार्गको १२ किलोमिटर सडक बनाउन जापान तयार देखिएको छ।
सरकारको आग्रहमा सडक पुनर्निर्माणका लागि जापान तयार देखिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि जापानका राजदूत किकुुता युताकालाई असोज ३० गते बालुवाटार बोलाएर राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक पुनर्निर्माणका लागि गरेको आग्रहलाई सकारात्मक रुपमा लिइ जापानी टोली अध्ययन गर्न आउने निश्चित भएको बताए।
‘हामीले जापान सरकारलाई आग्रह गरेका छौं। उनीहरु पनि इच्छुक देखिएका छन्। अब अध्ययन गरेर प्रतिवेदन आएपछि मात्रै त्यसबारेमा निर्णय हुन्छ,’ एक सय दिनमा गरेका कामबारे जानकारी दिन बिहिबार पत्रकारमाझ प्रस्तुत भएका दाहालले भने, ‘अध्ययनका लागि जापानी प्रावधिक आउने निश्चित भइसकेको छ।’
वीपी राजमार्ग अन्तर्गत चौकीडाँडादेखि कालढुंगासम्मको १८ किलोमिटर खण्डमा १२ किलोमिटर सडक पूर्णरुपमा बगेकामा सडक विभागले अस्याथी ट्रयाक खोलेर असोज २५ देखि संचालनमा ल्याएको छ।
मन्त्रालयले यसअघि वीपी राजमार्ग पुनररनिर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्न अनुमान गरेकामा अहिले त्यसलाई संशोधन गरेर ७ अर्बमा झारेको छ। मन्त्री दाहालले वीपी राजमार्गसहित बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए।
१६० किलोमिटर लामो वीपी राजमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १९ वर्ष लगाएर निर्माण गरी २०७१ को अन्तिममा सरकारलाई हस्तान्तरण गरेको थियो। हस्तान्तरणको २ महिनामै भुकम्पले विभिन्न ठाउँमा क्षति पुगेपछि जापान सरकारले नै मर्मत गरिदिएको थियो।











