स्वदेशी मार्फा स्याउ बजारमा आउँदा यसपटक चाडवाडमा फुजी स्याउको भाउ किन घटेन् ?

बिजमाण्डू
२०८१ असोज २६ गते १०:४५ | Oct 12, 2024
स्वदेशी मार्फा स्याउ बजारमा आउँदा यसपटक चाडवाडमा फुजी स्याउको भाउ किन घटेन् ?

काठमाडौं । यतिबेला बजारमा स्वदेशी मार्फा स्याउ पर्याप्त मात्रा भित्रिरहेको छ। असोजदेखि बजारमा आउने गरेको मार्फा स्याउको कारोबार राम्रो भइरहेको कुलेश्वर फलफूल बजारका व्यवसायीले जनाएका छन्।

Tata
GBIME

यतिबेला बजारमा स्वदेशी भारतीय र चिनीयाँ स्याउको समेत खरिद बिक्री भइरहेको छ। स्वदेशी स्याउ पनि होलसेलमै महंगो छ। पहिले स्वदेशी उत्पादित स्याउ बजारमा आउँदा आयात गरेको स्याउको पनि भाउ केही हदसम्म घट्ने गरेको थियो। 

दसैं तिहारका लागि व्यवसायीले चिनियाँ फुजी स्याउ ठुलो परिमाणमा आयात गर्छन्। उत्तरी नाकाबाट आयात गरेको स्याउ बाटोमै रोकिए पछि यसपटक फुजीको भाउ बढेको व्यवसायी बताउँछन्।

यसपटक बजारमा स्वदेशी र आयातित स्याउको भाउ महंगो रहेको छ। उपभोक्ताले प्रतिकेजी ४ सय भन्दा बढी रुपैयाँमा स्याउ खरिद गरिरहेका छन्।

कुलेश्वर फलफूल बजारका अध्यक्ष अम्बर बानियाँले यसपटक स्वदेशी स्याउको भाउ महंगो रहेको बताए।

‘हाल बजारमा स्वदेशी स्याउ धेरै आइरहेको छ। उत्पादन अघिल्ला वर्ष भन्दा तीन गुणासम्म बढे पनि भाउ भने सस्तो छैन,’ उनले भने।

उपत्यकाका बजारमा मात्र दैनिक ५० टन स्वदेशी स्याउ भित्रिरहेको छ। स्याउले भाउ पनि राम्रो पाएको छ। होलसेलमै प्रतिकेजी १८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ। जात अनुसार भाउ रहेको व्यवसायी बताउँछन्। भारतीय स्याउ प्रतिकेजी १५० देखि २२० रुपैयाँ थोक मूल्य छ। चिनियाँ फुजी २२५ देखि ३०० रुपैयाँसम्म बिक्री भइरहेको छ।

चिनियाँ स्याउ बोकेका करिब २०० वटा कन्टेनर उत्तरी नाकामा अड्किएपछि फुजी स्याउको आपूर्ति कम भएको छ। बजारमा फुजी स्याउको स्टक न्युन मात्रामा रहेकोले भाउ थोकमै घट्न नसकेको व्यवसायी बताउँछन्

‘उपभोक्ताले खरिद गर्न नसक्ने गरि स्याउको भाउ बढेको छैन, ‘अध्यक्ष बानियाँले भने।

यसअघि व्यवसायीले स्वदेशी स्याउ आउने समयमा आयात कम गर्थे। गत महिना व्यवसायील‍े दसैंलाई लक्षित गरेर ल्याएका स्याउ बाटोमै अड्किए पछि व्यापारीसगँ भएको फुजी स्याउको भाउ घट्न नसकेको हो।

अहिले स्वदेशी स्याउको गुणस्तर राम्रो भएपछि यसको भाउ महंगिएको व्यवसायीको राय छ। स्याउको मूल्य बोटमै प्रतिकेजी १२० देखि १५० पर्छ। उक्त स्याउ उपत्यका आइपुग्दा सम्म ढुवानीका कारण महंगो हुन्छ। आयातित स्याउको आपूर्ति सहज नहुँदा स्वदेशी स्याउले राम्रो बजार भाउ पाएको व्यवसायी बताउँछन्।

 हरेक वर्ष नेपालमा स्याउको उत्पादन बढ्दै गइरहेको छ। करिब ५३ हजार मेट्रिक टन भन्दा बढी स्याउ उत्पादन हुँदै आएको छ। ७ अर्ब भन्दा बढीको स्याउ आयात हुने गर्छ। चालु आर्थिक वर्षको दुई महिनामा मात्रै एक अर्ब ३८ करोड रुपैयाँको स्याउ आयात भइसकेको छ।

कुलेश्वर बजारका अनुसार यतिबेला बजारमा फलफूलको खपतमा कमी आएको छ। गत वर्ष जस्तो फलफूल खरिद तर्फ उपभोक्ता आकर्षित नभएको बजारका व्यवसायी बताउँछन्।