फेडरल रिजर्भको ब्याजसँग अब हामी जोडिन्छौं, एनएमबी बैंकका सिइओ सुनिल केसीको विचार

सुनिल केसी
२०७४ चैत्र १८ गते १०:१४ | Apr 1, 2018
फेडरल रिजर्भको ब्याजसँग अब हामी जोडिन्छौं, एनएमबी बैंकका सिइओ सुनिल केसीको विचार


एनएमबि बैंकले विश्व बैंकको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीसँग ऋण सम्झौता गरेको छ। आइएफसीबाट ऋण आएपछि त्यो पैसा साना तथा मझौला व्यवसाय र कृषि क्षेत्रमा लगानी गर्नेछौ। हामीले बाहिरी संस्थाहरुबाट पैसा खोज्नुको कारण भनेको आन्तरिक निक्षेप परिचालन गरेर मात्र ऋण विस्तार गर्न सकिँदैन भनेर हो।


 
अहिले आयात उच्च दरले बढिहरेको छ। व्यापार घाटा त्यसरी नै वृद्धि भइरहेको छ। यसअघि पनि व्यापार घाटा थियो, तर त्यसलाई रेमिटेन्सले केही न केही रुपले धान्दैआएको थियो। अहिले रेमिटेन्सको ग्राफ ओरालो लाग्न थालेको छ। 
 
पूँजीगत खर्च धेर/थोर जसरी पनि भइरहेको छ। पूँजीगत खर्च भएको पैसामध्ये अधिकांश सामान आयातका लागि बाहिरिने गरेको छ। सर्वसाधारणका हातसम्म आएको पैसा पनि उपभोगका लागि बाहिरिन्छ। विकास खर्च ह्वात्तै बढेका बेला केही महिना बैंकिङ प्रणालीमा पैसा आउँछ तर उच्च आयातका कारण केही समयमै बिलाएर जाने गरेको छ। त्यसो हुँदा जुन खालको कर्जा वृद्धि हामीले सोचिरहेका छौं, त्यो हुन सक्दैन। यसले आर्थिक वृद्धिलाई पनि सघाउँदैन। गत बर्षको जति ऋण विस्तार गर्ने हो भने अहिले बैंकलाई २०० अर्ब रुपैयाँ हाराहारी निक्षेप चाहिन्छ। त्यो निक्षेपको स्रोत हामीले देखिरहेका छैनौं। सरकारी खर्च आयातमा जाने, रेमिटेन्स घटिरहने अवस्था छ। विदेशी मुद्रा जुटाउने माध्यम निर्यात व्यापार कमजोर छ। पर्यटन क्षेत्रमा सम्भावना भए पनि त्यति ठूलो पैसा जुटाउने खालको पूर्वाधार हामीसँग छैन। यस्तो अवस्थामा निक्षेप परिचालनका लागि प्रत्यक्ष वैदेशिक लगानी वा बैंकहरुले विदेशी संस्थाबाट सापटी ल्याएर लगानी गर्नु पर्यो। त्यही भएर हामीले आइएफसीबाट पैसा ल्याउन खोजेका हौं। 
 
नेपालको बैंकिङ क्षेत्रमा अलिक बढि मिसम्याच पनि छ। यहाँ एक बर्षको निक्षेप लिएर लामो समयका लागि ऋण लगानी गर्छौं। त्यसैले पनि हामीलाई अलिकति रकम लामो अवधिको चाहिएको छ। भविश्यमा निक्षेपको राम्रो स्रोत नेपालमा जन्मिएला तर त्यतिन्जेलसम्म हामीले विदेशी संस्थाबाट पैसा ल्याएर ऋण लगानी गर्नु पर्छ। ताकी कर्जा बन्द गर्नु पर्ने अवस्था नआओस्। 
 
हामीले यसरी विदेशी पैसा सापटी लिएर परिचालन गर्नु पर्छ भनेर पहिलेदेखि नै भनिरहेका थियौं। यसले हामीले नकारात्मकभन्दा सकारात्मक फाइदा बढी दिन्छ। हाम्रै छिमेकीहरु श्रीलंका र बंगलादेशमा आर्थिक वृद्धि ६/७ प्रतिशतले गइरहेको छ। उनीहरुले यसरी नै बाहिरबाट निक्षेप ल्याइरहेका छन्। विदेशी मुद्रा ल्याएर लगानी विस्तार गरिरहेका छन्। संसार गाउँजस्तो भइसकेको छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा बढी भएको तरलता अभाव भएको हाम्रो जस्तो मुलुकले प्रयोग गर्नु पर्छ। 
 
विदेशी मुद्रा सापटी लिएर लगानी गर्दा धेरै फाइदाहरु छन्। केही जोखिमहरु पनि हुन्छन्, जुन अन्तर्राष्ट्रिय बजारसँग जोडिएर आउने हुन्। अन्तर्राष्ट्रिय बजारमा ब्याज दर तलमाथि हुँदा त्यसको असर हामीलाई पनि पर्छ। हामीले फ्लोटिङ वा फिक्स्ड कुन दरमा ल्याउने त्यसले पनि जोखिमको मात्रा निर्धारण गर्छ। अमेरिकाको फेडरल रिजर्भले तोक्ने ब्याजको असर पनि हामीले सामाना गर्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय ब्याज दरको प्रत्यक्ष प्रभाव हामीले पनि सामाना गर्नु पर्छ। त्यसभित्र जोखिम पनि केही हुन्छन्। काम गर्ने भएपछि अलिकति जोखिम पनि उठाउनु पर्छ हामीले।
 
राष्ट्र बैंकले विदेशबाट पैसा सापटी लिएर लगानी गर्ने नीतिगत ब्यवस्था गर्दैमा सबै बैंकले पैसा ल्याइहाल्छन् भन्ने पनि छैन। आजको दिनमा हाम्रो बाह्य  रेटिङ छैन। यसले गर्दा हामीले तिर्नु पर्ने ब्याज दर केही बढी हुनसक्छ। यसले गर्दा पूँजीको लागत बढ्न सक्छ। हाम्रो जोखिम जति बढी उनीहरुले महशुस गर्छन् उति बढी ब्याज दर कायम हुने हो। 
 
अहिले हाम्रो शोधनान्तर घाटा बढ्दै गएको छ। चालु खाता ऋणात्मक छ। यसले गर्दा उनीहरुले कसरी हेर्छन् भन्ने महत्वपूर्ण बिषय हो। तर हामी बाहिर जान खोज्नुले राम्रो सुरुवात भने गर्ने छ।  हाम्रा नराम्रा कुराहरु हामीले सुधार गर्न सक्छौं। यहाँ काम गरिसकेपछि विदेशीहरुका लागि क्रेडिट हिस्ट्री बन्दै जान्छ। केही गरेपछि उनीहरुको कन्फिडेन्स बढ्छ। क्रेडिट रेटिङ हुन थाल्छ। उनीहरुले अहिले नेपालको जोखिम बढी नै देख्लान् तर विस्तारै उनीहरुको मूल्यांकनमा फरक पर्छ। भविष्यका लागि यो एकदमै राम्रो सुरुवात हुने छ।
 
नेपालको सामाजिक, आर्थिकलगायतको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु छन्। गरिवी निवारणमा उनीहरुले काम गरिरहेका छन्। नवीकरणीय उर्जादेखि वातावरणीय क्षेत्र र साना तथा मझौला व्यवसायमा पनि उनीहरुको चासो छ। त्यसो हुँदा त्यस्ता संस्थाले नेपाली बैंकहरुलाई पत्याउन सक्छन्। एनएमबी बैंकको कुरा गर्दा, हामीले अहिले उर्जा र भ्यालु एड गर्ने क्षेत्रमा काम गरिरहेका छौं। साना उद्यमको क्षेत्रमा लगानी गरिरहेका छौं। अरु बैंकको पनि फरक फरक रणनीति छ। त्यस बारे काम गर्ने बाहिर धेरै संस्था छन्। उनीहरुले त्यो पैसा यहाँ लगानी गर्नसक्छन्। लगानी गर्ने बेलामा हामीले तिर्ने सक्ने क्षमता हेरेर उनीहरुले पैसा दिन्छन्। 
 
नेपालमा पैसा ल्याउने सुरुवात स्पष्ट रुपमा भइसकेको छैन। बाहिरबाट ल्याउने पैसा निक्षेपका रुपमा बैंकहरुमा आउने हो। त्यो ऋणका रुपमा सर्वसाधारणलाई लगानी गरिन्छ। नेपालमा हामीले जसरी निक्षेप उठाउछौं त्यसै गरी उताबाट पैसा ल्याउने हो। यसरी ल्याउने पैसामा कतिसम्म  सम्बन्धी बैंकले जोखिम उठाउन सक्छ भनेर राष्ट्र बैंकले पनि हेर्नु पर्छ। निक्षेपका रुपमा ल्याउने भएकाले त्यसमा रकमको सीमा तोकिनु हुँदैन। सबैलाई एउटै नियमभन्दा पनि सम्ब्नधित बैंकको  जोखिम उठाउन सक्ने क्षमताका आधारमा काम गर्न दिनु पर्छ। 
 
बाहिरबाट ल्याएको पैसा केमा प्रयोग गर्ने भनेर दिने र लिनेबीच नै सहमति भएको हुन्छ। अहिलेको परिस्थितिमा हेर्दा त्यो पैसा उत्पादनमूलक क्षेत्रमा जाँदा नै राम्रो हुन्छ। यसले व्यापार घाटामा कमी ल्याउन सघाउँछ। उपभोगका लागि बाहिर जाने पैसालाई यहीँ रोक्ने क्षेत्रमा लगानी गर्नु नै उचित हुन्छ। बाहिरबाट पैसा ल्याइसकेपछि त्यसलाई अर्थतन्त्रलाई फाइदा पुग्ने क्षेत्रमै लगानी गर्नु पर्छ।

Tata
GBIME
NLIC