कास्की प्रहरीको पत्राचारपछि गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी जोशी पक्राउ



बिजमाण्डू
२०८१ असोज ६ गते १७:३७ | Sep 22, 2024
कास्की प्रहरीको पत्राचारपछि गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी जोशी पक्राउ

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेका पूर्वडीआइजी छविलाल जोशी पक्राउ गरेका छन्। गृहमन्त्री रमेश लेखकले आइतबार मात्र प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए।

Tata
GBIME
Nepal Life

सूर्यदर्शन सहकारीको पूरक अनुसन्धान कास्की प्रहरीले गरिरहेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई पक्राउ गरेको हो। उनलाई पोखरा पठाउने तयारी भइरहेको छ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ।

समितिले रवि गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा सहकारी संस्थाहरुको रकम प्रवाह भएको र रकम प्रवाहमा उनको संलग्नता रहेको पुष्टि हुने कागजात फेला नपरेपनि गोरखा मिडियाको सेयर सदस्य र प्रबन्ध निर्देशकको नाताले दोषी रहेको भन्दै कारबाहीको सिफारिस गरेको छ। समितिले कारबाहीको सिफारिस गरेका गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने फरार छन्। राईलाई प्रहरीले रेडकर्नर नोटिस जारी गरी खोजी गरिरहेको छ।

एमाले सांसद सूर्य थापा सभापति रहेको समितिले भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन बुझाएको थियो। सभामुख देवराज घिमिरेले त्यहीदिन आवश्यक कारबाहीका लागि सरकारमा पठाउन सचिवालयलाई निर्देशन दिएका थिए। त्यसपछि मन्त्रिपरिषद्ले कार्यन्वयन गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो।

बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो।२०८० साउन २२ गते उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। १ हजार ३६ जनाले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। त्यतिखेर सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका केही पदाधिकारी पक्राउ परेका थिए।