शेयर बजार बारे सरकारको नीति के होला? युवराज खतिवडाले भने ‘खेलोफड्को गर्नेहरु तर्सिनु स्वभाविक’

बिजमाण्डू
२०७४ फागुन ८ गते ११:१५ | Feb 20, 2018
राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित हुने तीन जनामध्येमा सिफारिस परेका छन् योजना आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्व गर्भरन डा. युवराज खतिवडा। राष्ट्रिय सभामा उक्लिएसँगै उनी अर्थमन्त्री वा अर्थ राज्यमन्त्रीमा नियुक्त हुने स्रोतहरुको दावी छ। यस्तोमा अबको शेयर बजार बारे सरकारले कस्तो नीति लेला? केही समयअघि बिजमाण्डूले पूँजी बजारका बिषयमा डा. खतिवडासँग कुराकानी गरेको थियो। 
बामपन्थीलाई पूँजी बजारले रेस्पोन्स गरेन भन्ने कुरा पनि आउँछ। पूँजी बजारमा यदि सही ढंगले संस्थाको क्षमता हेरेर, नाफाको अवस्था र कम्पनीको प्रोफाइल हेरेर लगानी हुन्छ भने खुसी हुनु पर्छ। 
 
तर, बजारलाई उचाल्ने अनि, पछार्ने र बीचबीचमा खेलोफड्को गर्नेले अब बन्ने सरकारबाट तर्सिनु स्वभाविक हो। र, उनीहरु तर्सिनु पनि पर्छ। अपारदर्शी हिसावले कारोबार गर्नेहरुले सोच्नै पर्ने दिन आएको छ अब। 
 
पूँजी बजारलाई ब्यवस्थित ढंगले अगाडि बढाउँदा त्यसको माध्यमबाट पनि अब बन्ने सरकारलाई बर्षमा एक डेढ खर्ब पूँजी परिचालन हुन्छ। यो क्षेत्र बामपन्थी नेतृत्वको सरकारका लागि पक्कै पनि अवसरको क्षेत्र हो। ठूलो मात्रामा पूँजी संकलन हुँदा शेयर बजारमा स्थायित्व पनि आउँछ। विदेशी लगानीकर्ता आए भने नेपालकै पूँजीबजारबाट पनि अलिकति अवसर लिन सक्छन्। 
 
समावेशी आर्थिक वृद्धिको एजेण्डा बनाउँदा धेरै मान्छे पूँजी बजारमा सहभागी होउन् भन्ने पनि चाहेका छौं। पूँजी बजारलई समावेशी आर्थिक वृद्धिको मोडेलको रुपमा पनि लान खोजेका छौं। त्यही भएर त जलस्रोतमा धेरै शेयरधनीहरु भएका छन्। गाउँगाउँमा शेयरधनी छन्। सबैको शेयर लिस्टेड हुन्छ बजारमा। राष्ट्रिय पूँजी निर्माण गर्ने भन्ने कुरा एमालेको घोषणापत्रैमा लेखिएको छ। बैंकिङ च्यानलका साथै राष्ट्रिय पूँजी निर्माण शेयर बजारबाट पनि गर्ने भन्ने हो। 
 
मान्छेको उपभोगमा जाने पैसा, सम्पतिका रुपमा जाने पैसालाई फाइनान्सियलाईज गर्ने भनिएको छ। यो गरेपछि मात्रै कहाँ एलोकेट गर्ने भन्ने निश्चित हुन्छ। यसका लागि शेयर बजार अगाडि बढ्नु पर्छ, स्थायित्व हुनु पर्छ। तर स्वस्थ ढंगले।