
काठमाडौं । गत शनिबार चीनको उपभोक्ता बजारमा नयाँ रेकर्ड कायम भयो। इलेभेन/इलेभेन (नोभेम्बर ११) का नामले चिनिने उक्त दिन चीनका र्इ-कमर्श साइटहरुमा बृहत 'सेल' लाग्ने गरेको छ।
चार वटा '१' मिलेर बन्ने दिन भएको कारण प्रेमी/प्रेमिका नभएका चिनियाँ युवायुवतीले सन् १९९० को दशकदेखि नोभेम्बर ११ मा 'एक्लो भए पनि हामी खुसी छौँ' भनेर 'सिङ्गल डे' मनाउँदै आएका थिए। फेब्रुअरी १४ मा मनाइने 'भ्यालेन्टाइन डे' विपरित दिनको रुपमा नोभेम्बर ११ चीनमा स्थापित हुँदै थियो।
अलिबाबाका प्रवर्द्धक ज्याकमाले सन् २००९ को इलेभेन/इलेभेन देखि 'सिङ्गल' युवा पुस्तालाई उत्सव मनाउने नयाँ 'बहाना' थपिदिए।उनले उक्त दिन 'सिङ्गल' युवाहरुलाई 'सपिङ' गर र खुसी मनाउ भन्दै आफ्ना र्इ-कमर्श साइट ‘टिमल’ र ‘थाओपाओ’मा भारी छुट दिने प्रवन्ध मिलाए। बर्षेनी इलेभेन/इलेभेनको व्यापारको ग्राफ उकालो लाग्न थाल्यो। अरु चिनियाँ र्इ-कमर्श साइटले पनि यो दिनमा छुट दिने थाले। सबैको बिक्री बढ्न थाल्यो। गत शनिबार मनाइएको इलेभेन/इलेभेनमा ज्याक माको अनलाईन व्यापारिक 'प्लेटफर्म' टिमल र थाओपाओले मात्र २५ अर्ब ३० करोड अमेरिकी डलरको बिक्री गरे।
जुन, गत बर्षको तुलनामा ४० प्रतिशत बृद्धि एवं नेपालको कुल गार्हस्थ उत्पादन (प्रचलित मूल्यमा) हाराहारी हो। अमेरिकामा सबैभन्दा धेरै बिक्री हुने गत बर्षको ब्ल्याक फ्राइडे र साइबर मण्डेको तुलनामा टिमल र थाओपाओको यसपालिको रेकर्ड दोब्बर धेरै हो।इलेभेन/इलेभेनमा गत बर्ष पनि १७ अर्ब १८ करोड अमेरिकी डलरको बिक्री हुँदै अघिल्लो बर्षको तुलनामा नयाँ रेकर्ड नै बनेको थियो। यसपाली गत बर्षको रेकर्ड तोडिन १३ घण्टा मात्र लाग्यो। यसरी दिउँसो एक बजेपछिका प्रत्येक मिनेटले नयाँ रेकर्ड बनाउँदै गए।
चीनमा अनलाइन व्यापारले यसरी फड्को मार्ने मुख्य कारण हो- सामाजिक सञ्जालबाट हुने बैंकिङ कारोबार। चीनका अधिकांश युवाले सामाजिक सञ्जाल विच्याट चलाउँछन्। विच्याटमा साथी बनाउन, कुरा गर्न, स्टाटस राख्नका अलावा अर्को एउटा सुविधा छ- वालेट। जसमा आफ्नो बैंक खाता लिंक गर्न सकिन्छ र अनलाइन सपिङ देखि बजारमा गएर किनमेल, साथी भाइसँग लेनदेन सबै गर्न मिल्छ। विच्याट वालेटकै कारण गाउँ गाउँबाट अनलाइन किनमेल बढ्दा इलेभेन/इलेभेनको ब्यापार ह्वात्तै बढेको हो। इलेभेन/इलेभेनमा छुट दिन सुरु गरेको आठ बर्षमा यति ठूलो सफलता पाउनुका पछाडि सामाजिक सञ्जालको वालेटकै मुख्य हात रहेको चिनियाँ सञ्चारमाध्यहरुले जनाएका छन्।
उत्तरी छिमेकको यस्तो सफलतासँगै नेपालमा पनि अर्को सामाजिक सञ्जाल भाइबरबाट बैंकिङ सेवा सुरु भएको छ। नबिल र ग्लोबल आइएमई बैंकले यो सेवाको सुरुवात गरेका हुन् भने अरु आधा दर्जन बैंक छिट्टै थाल्ने तयारीमा छन्। सबै बैंकलाई एफवान सफ्ट इन्टरनेशनलले यो सेवाका लागि प्राविधिक सहयोग पुर्याएको छ।
नबिलको कार्ड एण्ड इ-बैंकिङ सेवा प्रमुख निरज शर्मा नेपालमा भाइबर प्रयोगकर्ताको संख्याले यो सेवा थालनी गर्न लोभ्याएको बताउँछन्। एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालका अनुसार नेपालमा ६४ लाख भाइबर प्रयोगकर्ता छन्। 'जनसंख्याको अनुपातमा भाइबर प्रयोगकर्ताको संख्यामा नेपाल दक्षिणा एसियाकै पहिलो हो, ढकालले भने- साथै यो आधारमा हामी विश्वमै समेत तेस्रो स्थानमा छौँ।' स्मार्ट फोन प्रयोग बढेसँगै यो सेवा लिनेको संख्या थपिँदो छ।
'भाइबर प्रयोगकर्ताको संख्या उच्च रहेको अवस्थामा उनीहरुलाई इन्टरनेटमा आधारित बैंकिङ तर्फ लोभ्याउन यो सेवा सुरु गरेका हौँ, नविलका शर्माले भने- मूख्य रुपमा मोबाइल एवं इन्टरनेट बैंकिङ नलिएका ग्राहकलाई यसमा हामीले फोकस गरेका छौँ।' नबिलबाट एसएमएस बैंकिङ सेवा लिने ग्राहकको संख्या दुई लाख हाराहारी पुगे पनि मोबाइल र इन्टरनेट बैंकिङ लिने ६० हजार हाराहारी मात्र छन्। 'विश्वनै नगदरहित कारोबारतर्फ उन्मुख भइरहेको बेला हामीले पनि इन्टरनेट बैंकिङमा केही ने केही त गर्नै पर्छ' शर्मा भन्छन्।
कसरी गर्ने प्रयोग?
यो सेवा लिन सबैभन्दा पहिला भाइबर बैंकिङ सेवा सुरु गरेका बैंकमा खाता हुन जरुरी छ। जस्तो नविल बैंकमा खाता हुने ग्राहकले भाइबरको 'पब्लिक एकाउन्ट फिचर'मा गएर नबिल बैंक लाइक गर्नु पर्ने हुन्छ। त्यसपछि बैंकले ग्राहकको मोबाइल नम्बर माग्छ। बैंकमा खाता खोल्दा दर्ता भएको मोबाइल नम्बर र आफुले उपलब्ध गराएको नम्बर मिलेको खण्डमा बैंकले यो सेवा लिन योग्य सूचीमा राख्छ।
त्यसपछि आफुले चाहेको सेवा अर्डर गर्न सकिन्छ। तत्कालका लागि ब्यालेन्स इन्क्वायरी, पछिल्ला १० कारोबारको बिबरण, शाखा एवं एटिएम काउन्टरको लोकेसन, क्रेडिट कार्डबारे जानकारी, निक्षेप/कर्जाको ब्याजदर एवं अन्य जानकारी लिन सकिन्छ। रकम आदान/प्रदान लगायतका थप सुविधा समेत दिन सक्ने अवस्थामा आफुहरु रहेको शर्मा बताउँछन्। 'सुरक्षामा आश्वस्त भएपछि थप सुविधा पनि खुला गर्छौँ, उनले भने- अहिले उपलब्ध सेवाले नै बैंकिङलाई धेरै हदसम्म सहज बनाइ सकेको छ। रकम आदान प्रदान लगायतका सेवा सुरु हुँदा नगद रहित बैंकिङ अभियानमा नयाँ फड्को मारिनेछ।'
डिजिटल प्रणालीमा सुविधासँगै जोखिम पनि उच्च रहेको कारण सुरक्षामा ध्यान दिइएको उनको भनाइ छ। 'सबै खाले वित्तिय कारोबार एकै पटक खुला गरिँदैन, उनले भने- सुरुमा आफ्नै मोवाइलमा ब्यालेन्स हाल्ने लगायतका सेवाबाट अगाडि बढ्न सकिन्छ।' अहिले प्रदान गर्दै गरेको सूचना मुलक सेवामा भने तत्काल फिचर थप गर्ने उनले बताए। 'नविल बैंकको मर्चेन्टको रुपमा रहेको कुनै रेष्टुरेन्ट या सपिङ सेन्टरले हाम्रा कार्ड बाहकलाई छुट दिएको खण्डमा त्यसको जानकारी भाइबर बैंकिङबाटै ग्राहकलाई दिने फिचर थप गर्ने सोचमा रहेका छौँ' उनले भने।
भाइबर बैंकिङलाई 'गुगल म्याप'सँग पनि लिंक गरिएको छ। त्यसैले कुनै ग्राहकले आफु रहेको ठाउँबाट नजिकैको शाखा या एटिएम मेसिनको जानकारी पनि भाइबर बैंकिङबाटै लिन सक्छन्। साथै यो सेवाले विदेशमा जाँदा समेत आफ्नो खातामा भएको कारोबार एवं आफुले पठाएको रेमिट्यान्स आफ्नो खातामा पुगे/नपुगेको हेर्न सकिने नबिलका शर्मा बताउँछन्।
नबिलले गत कात्तिक १५ गतेबाट यो सेवा सुरु गरेको हो। आइतबारसम्ममा यसका प्रयोगकर्ता १७ सय नाघिसकेका छन्। फेसबुक लगायतका अरु सामाजिक सञ्जाल र डिजिटल मिडियामा प्रचार प्रसार गरेर अधिकतम भाइबर प्रयोगकर्ता खाताधनीलाई यो सेवामा आकर्षित गर्ने शर्माले जानकारी दिए।उत्तरी छिमेकी चीनले सामाजिक सञ्जालमा आधारित बैंकिङमा ठूलो छलाङ मारि सके पनि 'क्यास लेस' कारोबारमा तीब्र लबिङ गरिरहेको भारतले यस्तो सेवा सुरु गर्न सकेको छ। नेपालले यसमा सफलता पाए नयाँ ट्रेन्ड बस्ने एफवान सफ्टका ढकालको विश्वास छ।