काठमाडौँ। दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता ११ लाख ५२ हजार पुगेका छन्। शेयर बजारमा कारोबार गर्न नेपाल स्टक (नेप्से)को कारोबार कक्षमा ब्यक्तिगत र संथागत दुबै गरी यति संख्यामा लगानीकर्ता दर्ता भएको नेप्सेले जनाएको छ।
संस्थागत लगानीकर्ताको रुपमा पाँच हजार तीन सय १६ लगानीकर्ता छन् भने बाँकी ब्यक्तिगततर्फ दर्ता भएका हुन्। हितग्राही(डिम्याट)खाताबाहक भने नौ लाख पाँच हजार ४७ पुगेको केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी)ले जनाएको छ।
६२ निक्षेप सदस्य मार्फत देशभरबाट यति सङ्ख्यामा लगानीकर्ताले खाता खोलेका हुन्। दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न बैंक खाता, डिम्याट खाता र नेप्सेको कारोबार कक्षमा दर्ता हुन अनिवार्य छ।
नेप्सेमा सूचिकृत लगानीकर्ता र डिम्याट बाहकका आधारमा वास्तविक लगानीकर्ता कति छन् भन्ने यकिन अझै हुन सकेको छैन। दोस्रो बजारमा कारोबार गर्न ५० वटै ब्रोकरमार्फत संस्थागत र व्यक्तिगत तर्फ नेप्सेमा दर्ता हुन पाइने प्रावधान छ।
नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार एक ब्यक्ति वा संस्थाले दुईवटासम्म डिम्याट खाता खोल्न सक्ने प्रावधान छ। यसैले पनि तथ्यांक फरक देखिएको हो।
गत वर्ष दोस्रो बजारमा दुई खर्ब ३४ अर्ब रुपैयाँको कारोबार भएको थियो । जस अनुसार ४३ अर्ब ८३ करोड ९४ लाख ४९ हजार ५०९ रुपैयाँ बराबरको संस्थागत लगानीकर्ताले शेयर किनबेच गरेका थिए। बाँकी रकमको कारोबारभने व्यक्तिगत लगानीकर्ताले गरेको नेप्सेले जनाएको छ। संस्थागत लगानीकर्ताले मात्रै कुल कारोबारमा १८ प्रतिशतको योगदान दिएका छन्।
दोस्रो बजारमा कारोबार गर्न नेप्सेमा दुई तरिकाले दर्ता हुने प्रावधान रहेको छ। व्यक्तिगत र संस्थागत। संस्थागत र व्यक्तिगत लगानीकर्तालाई सरकारले पूँजीगत लाभकर फरक दरमा लिने गरेको छ।
व्यक्तिगत लगानीकर्ताले पाँच प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभ कर लिने गरेको छ। संस्थागत लगानीकर्तामा पनि सामुहिक लगानीकोषलाई सरकारले पूँजीगत लाभकर छुट दिएको छ।
उनीहरुले शेयर खरिद बिक्री गर्दा कमाएको नाफाको पूँजीगत लाभकार तिर्नु पर्दैन। अहिले ५० वटा ब्रोकर मार्फत दोस्रो बजारमा कारोबार गर्न ७४ वटा म्युचुअल फण्ड नेप्सेमा दर्ता छन्। फरक फरक ब्रोकर मार्फत दोहोरिएर दर्ता भएकोलेपनि यो संख्या बढी देखिएको हो।
उनीहरुले गरेको कारोबारमा पूँजीगत लाभकार छुट पाएका छन्। गएको वर्ष म्युचुअल फण्डले दुई अर्ब ७६ करोड २२ लाख नौ हजार तीन सय ४१ रुपैयाँको शेयर खरिद बिक्री गरेका थिए।