
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित पाँच जना निलम्बनमा परेका छन्।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफ्नो अनुमतिविनै र आफूले मान्यता नदिएको कम्पनीमा ९ एन-एएलवाई कलसाइनको वाइडबडी जहाज सि-चेक (विस्तृत मर्मत सम्भार)का लागि पठाएका कारण अधिकारीसहित एनएसीका पाँच अधिकारीलाई निलम्बन गरेको हो। क्यानले अधिकारीलाई एनएसीको अकाउन्टेबल म्यानेजरका रुपमा काम कारबाही गर्न रोक लगाएको छ।
हवाई सुरक्षामा एकपछि अर्को खेलाँची गर्दै आएका अधिकारीलाई क्यानले यसपालि लापरबाहीको हद पार गरेको भन्दै कारबाही गरेको हो।
क्यानले यसअघि उनलाई दुई पटकसम्म अकाउन्टेबल म्यानेजरबाट हटाउन खोजेको थियो। तर, विभागीय मन्त्रीको साथ नपाएका कारण क्यानका महानिर्देशक प्रदीप अधिकारीले निर्णय गर्न सकेका थिएनन्।
‘यसपटक एनएसीका अध्यक्षले लापरबाहीको सीमा नाघे। हामीसँग अनुमति नलिइ र हामीले मान्यता नदिएको कम्पनीमा जहाज सि-चेकका लागि पठाए। त्यसैले यसपालि कुनै पनि बहानामा छुट दिन सक्ने अवस्था रहेन। त्यसैले उनको अकाउन्टेबल म्यानेजरको जिम्मेवारी खोसिएको हो,’ क्यान स्रोतले भन्यो।
नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ मा वायुयान मर्मत संभार गर्ने विदेशी संस्थाले नेपाली वायुयान मर्मत संभार गर्ने भएमा क्यानसँग अनुमति लिनुपर्छ। क्यानका महानिर्देशकले दरखास्त परेपछि आवश्यक जाँचबुझ गरी सर्त तोकेर नेपाली वायुयानको मर्मत संभार र ओभरहल गर्न पाउने गरी मान्यता दिन सक्ने व्यवस्था नियमावलीमा छ।
विदेशी कम्पनीले जहाज मर्मत संभार वा ओभरहल गर्दा लापर्बाही गरेमा क्यानका महानिर्देशकले त्यस्तो संस्थाको मान्यता फिर्ता लिन सक्ने पनि नियमावलीमा उल्लेख छ।
तर, एनएसीले सि-चेकका लागि भनेर जहाज पठाएको इटालियन कम्पनी एटिटेक एसपीएले जहाज मर्मत सम्भारका लागि क्यानमा निवेदन नै दिएको छैन। आफूले मान्यता नै नदिएको कम्पनीमा एनएसीले अनुमतिविनै जहाज सि-चेकका लागि पठाएपछि क्यान एनएसी व्यवस्थापनसँग चिढिन पुगेको हो।
अध्यक्ष अधिकारीलाई साथ दिएका अपरेसन डाइरेक्टर दिपु ज्वारचन, कन्टिन्युइङ एयर वर्दिनेस मेन्टिनेन्स अर्गनाइजेसन म्यानेजर ज्ञानबहादुर कुँवर, क्याप्टेनद्वय रमन घिमिरे र महेश्वरमान डंगोल पनि कारबाहीमा परेका छन्। क्याप्टेनद्वय घिमिरे र डंगोलले अब क्यानले अर्को निर्णय नगरेसम्म जहाज उडाउन पाउने छैनन्। ज्वारचनलाई अपरेसन डाइरेक्टर र कुँवरलाई न्टिन्युइङ एयर वर्दिनेस मेन्टिनेन्स अर्गनाइजेसन म्यानेजरका रुपमा काम गर्न रोक लगाइएको छ।
एनएसीले आइतबार काठमाडौं-दुबई उडानपछि जहाज इटली लगेको हो। आइतबार राति लगिएको जहाजमा इटलीको कम्पनीले सि-चेकको काम अगाडि बढाएको छैन। जहाज इटली लाने क्याप्टेन घिमिरे र डंगोल फर्किसकेका छन्। जहाज अहिले कसैको रेखदेखमा छैन। क्यानले जहाज बेवारिसे अवस्थामा रहेको जनाएको छ।
इटली युरोपियन युनियन अन्तर्गत पर्छ। युरोपियन युनियनले आफ्ना सदस्य मुलुकमा सुरक्षाको कारण देखाउँदै वायुसेवा प्रदायक नेपाली कम्पनीको जहाज उडानमा रोक लगाएको ११ वर्ष भइसकेको छ।
अनुमति नदिएको कम्पनीमा जहाज सि-चेकका लागि पठाउन हुँदैन भन्दा भन्दै एनएसीले सेड्युयल फ्लाइटमा दुबईमा उडान गरी त्यतैबाट आफ्नो अनुमतिविना इटली लगेको भन्दै क्यानले कारबाहीको पत्र काटेको हो।
क्यानले एनएसी अध्यक्ष अधिकारीलाई मंगलबार लेखेको पत्रमा भएको ‘प्राधिकरणबाट जारी भएको ऐन, नियम, आदेश तथा निर्देशन पालना समेत नगरी तपाईंले गैरजिम्मेवारीपूर्ण कार्य गरेको देखिंदा प्राधिकरणबाट पछि छानबिन हुँदा ठहरे बमोजिम हुने गरी नागरिक उड्डयन नियमावली, २०५८ को नियम ८० तथा एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्टस १.१२.४ बमोजिम तपाईंलाई प्राधिकरणबाट प्रदान गरिएको निगमको एकाउन्टेबल म्यानेजर पदको कार्य गर्न रोक लगाइएको व्यहोरा प्राधिकरणको मिति २०८१।०३।११ को निर्णयानुसार जानकारीको निमित्त अनुरोध छ,’ भनिएको छ।
क्यानले अधिकारीलाई कारबाही गरिएको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र एनएसी सञ्चालक समितिलाई दिएको छ।