सिधा सिड्नी उडानका लागि एयरबससँग एनएसीको त्यो पत्राचार, न्यारोबडी र वाइडबडीको पुरा मोडिफिकेसन

वसन्तराज उप्रेती
२०८१ जेठ २७ गते १२:४५ | Jun 9, 2024
सिधा सिड्नी उडानका लागि एयरबससँग एनएसीको त्यो पत्राचार, न्यारोबडी र वाइडबडीको पुरा मोडिफिकेसन

काठमाडौं। नेपाल वायुसेवा निगमले सिधा सिड्नी उडानका लागि एयरबसलाई विशेष पत्राचार गरेको पाइएको छ। निगम र एयरबसका प्रतिनिधिबीच भएको पत्राचारमा हाल भएको एयरबस-३२० र एयरबस ३३० दुवै जहाजको मोडिफिकेसन आवश्यक परेको जनाइएको छ।

Tata
GBIME

हाल सिंगापुरतर्फ टेक्निकल ल्याण्डिङमार्फत अष्ट्रेलियाको सिड्नी उडान सम्भावना निगमको छ। यो भनेको अष्ट्रेलिया उडान गर्दा बीचमा जहाज अवतरण गर्नैपर्ने हुन्छ। सिधा उडानका लागि निगमले पत्राचारमार्फत दुवै जहाजको म्यक्सिमम टेकअफ वेट (एमटीओडब्लु), म्याक्सिमम ल्याण्डिङ वेट (एमएलडब्लु) र म्याक्सिमम जेरो फ्युल वेट (एमजेएफडब्लु) लगायत जहाजका तीन क्षमता अभिवृद्धिलाई जोड दिइएको छ।

निगमले आफूसँग भएको दुई वाइडबडी ‘ए-३३०’ सिरिजको जहाजमार्फत भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिड्नी उडान गर्नका लागि भन्दै सुरुमा जहाजको प्राविधिक क्षमता विस्तार गरिपाउँ भनेर पत्राचार गरेको हो।

स्रोतका अनुसार निगमका एक प्राविधिकले एयरबस कस्टमर सपोर्ट डाइरेक्टर कोनराड भ्येन्टिनोलाई पत्राचार गर्दै निगमका वाइडबडी जहाजलाई २३० टनबाट २४० टनमा रुपान्तरण गर्न अनुरोध गरेका थिए।

जवाफमा कोनराडले निगमका ती पदाधिकारीलाई एयरबसकी दक्षिण एसियाका प्रतिनिधि कनिका चावलासँग समन्वय गर्नका लागि पत्राचार गरेका थिए।

यसमा निगमले आफू अष्ट्रेलिया उडानको तयारीमा रहेको जनाउँदै हाल सिंगापुरमा टेक्निकल ल्याण्डिङ गरेर सिड्नी क्षमता रहेको पत्राचार गरेको थियो। अर्को विकल्पमा आफूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिड्नी उडानका लागि जहाजको अधिकतम उडान भारवाहन क्षमता (एमटीओडब्लु) २३० बाट २४२ मा रुपान्तरण गर्ने कुरा उल्लेख गरेको छ। निगमले यसका लागि लागत अनुमानसँगै व्यावसायिक फाइदाबारे जानकारी लिनका लागि पत्राचार  गरेको थियो।

निगमको न अष्ट्रेलिया उडानको टुंगो छ, न त तत्काल प्राविधिक क्षमता नै छ। कागजी तयारी भने भित्रभित्रै चलिरहेको छ।

निगमले एयरबसलाई यसका लागि आवश्यक अनुमानित लागत र एमटीओडब्लु रुपान्तरणका लागि अनुमानित समयको माग गरेको छ।

के हो टेक्निकल ल्याण्डिङ?

कुनै पनि जहाजको क्षमता अनुसार यात्रु र इन्धन सन्तुलन गराउनका लागि टेक्निकल ल्याण्डिङ गराइन्‍छ। काठमाडौं-सिंगापुर हवाई उडान दुरी साढे ४ घण्टाको छ। रिफ्युलिङ गरेर जहाज उडान गर्दा यसमा अतिरिक्त दुई घण्टा लाग्छ। सिंगापुर-सिड्नी उडान दुरी करिब ८ घण्टाको छ। यसरी टेक्निकल ल्याण्डिङ गरेर नेपाल-अष्ट्रेलिया उडान गर्दा झण्डै १५ घण्टा लाग्ने देखिएको छ।    

सिधा उडान गर्ने योजना प्रचारमै रहँदा कार्यविधिविपरीत कर्मचारी खटनपटन

नेपाल-अष्ट्रेलिया सिधा उडान गर्ने योजना पब्लिसिटीमै सीमित रहँदा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने कार्यविधिविपरीत आफूखुसी तीन जना कर्मचारीलाई अष्ट्रेलिया खटाउने निर्णय गरिसकेका छन्। उनले गत साता हाल इन्टर्नल अडिटमा कार्यरत विपुला बराल, मार्केटिङका कविता आचार्य र अर्णिमा शाक्यलाई अष्ट्रेलियातर्फ नियुक्त गरिसकेका छन्।

तर, निगमको अस्ट्रेलियातर्फ सिधा उडानका लागि कुनै पनि आवश्यक तयारी पुरा नभएको निगमकै कर्मचारीले बताए।

निगमले बराललाई अस्ट्रेलियास्थित फाइनान्स मेनेजर, मार्केटिङमा कार्यरत शाक्यलाई कन्ट्री मेनेजर र आचार्यलाई एयरपोर्ट म्यानेजरमा नियुक्त गर्ने निर्णय गरेका हुन्।