
काठमाडौं। वीरगंजको नेसनल मेडिकल कलेजको विषयलाई लिएर दाजुभाइ डाक्टर जैनुद्दिन र बसुरुद्दिनको विवाद टुङ्ग्याउन डाक्टर भोला रिजाललाई अगाडि सारिएको छ।
दुवै दाजुभाइको विवाद समाधानका लागि नेपाल मेडिकल कलेजका अध्यक्ष समेत रहेका रिजाललाई अगाडि सारिएको हो। बुधबार नेपाल मेडिकल कलेजका अध्यक्ष रिजालको नेतृत्वमा बसुरुद्दिनसँग छलफल भएको थियो।
यसअघि दुवै दाजुभाइले सुरक्षा थ्रेट भएकाले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दिएपछि छलफल भएको थियो। त्यो छलफलले विवाद टुङ्ग्याउन सकेको थिएन। त्यसपछि फागुन २२ गतेका लागि बैठक बोलाइएको थियो। दाजु जैनुद्दिन काठमाडौंमा भएकाले बैठक पनि बस्ने सकेको थिएन। बुधबारको बैठक पनि निष्कर्षमा पुग्न सकेको थिएन।त्यसपछि दाजुभाइ नै विवाद सुल्झाउन लागेका हुन्।
‘केही मिलन विन्दु निस्किन्छ भन्ने आशा गरेको छु,’ डाक्टर जैनुद्दिनले भने।
अन्सारी परिवारको स्वामित्वमा रहेको नेसनल मेडिकल कलेज नै अहिलेको झगडाको मूल बिउ बनेको छ। भाइ बसुरुद्दिन मेडिकल कलेजको स्वामित्वमा आधा हिस्सा दाबी गरिरहेका छन्। दाजुले कागजी रूपमा देखिएको १० प्रतिशतभन्दा बढी दिन चाहेका छैनन्। कलेजमा सुरुमा एकल सञ्चालक जैनुद्दिन मात्र रहेको कागजातबाट देखिन्छ। कम्पनी २०५६ सालमा दर्ता भए पनि २०६१ असार २५ मा मात्रै बसुरूद्दिनका नाममा १० प्रतिशत सेयर कायम भएको देखिन्छ।
स्थापनाको २३ वर्षपछि मेडिकल कलेजको ९० प्रतिशत स्वामित्व भएका जैनुद्दिनले गएको साउन महिनामै आफ्ना छोराछोरीलाई ४५ प्रतिशत सेयर हिस्सा बाँडफाँट गरिसकेका थिए। जसअन्तर्गत छोरा शाहनवाजलाई १५ प्रतिशत र छोरीहरू नुशरत जहाँ, इशरत जहाँ र निकहत यास्मिनलाई १०-१० प्रतिशत सेयर दिएका थिए। यसले दाजुभाइको झगडा सतहमा ल्याइदिएको थियो।
झन् फागुन ४ गतेदेखि लागू हुने गरी कलेजको सञ्चालक समितिमा हेरफेर भएको सूचना जारी गरेपछि बसुरुद्दिन आक्रोशित देखिएका छन्। नयाँ सञ्चालक समितिमा डा.जैनुद्दिन अध्यक्ष, छोरा शाहनवाज प्रबन्ध निर्देशक र छोरी नुशरत जहाँ सञ्चालक कायम हुन पुगे। यो निर्णयपश्चात् बसुरूद्दिन अल्पमतका सेयर लगानीकर्तामा सीमित हुन पुगे।
दाजु जैनुद्दिनले घट्टेकुलोको १५० करोडको अस्पताल र देबदेह मेडिकल कलेजमा ५० करोड रुपैयाँको सेयर किन्न तयार भएका छन्। तर बसुरुद्दिन दुई वटा मेडिकल कलेजमध्ये एउटा आफूलाई दिनपर्ने दाबी गरिरहेका छन्।