
काठमाडौं । चितवनमा यही फागुन २५ देखि १७ गतेसम्म हुने नवौं फर्मा एक्स्पो हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) ले एक्स्पो आयोजना गर्न लागेको हो।
एक्सपोको माध्यमबाट चितवनकझ पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त लिइएको छ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले एक्स्पोमा स्वदेशी तथा विदेशी पाहुना आउने बताउँदै यसले यहाँको पर्यटन क्षेत्रमा राम्रो प्रभाव पार्ने बताएका हुन्। भरतपुर भ्रमण वर्ष मनाइरहँदा भएको यो एक्स्पोले केही हदसम्म भए पनि टेवा पुग्ने उनको विश्वास छ।
एक्स्पोमा विदेशी विज्ञ प्राविधिक, उपकरण उत्पादक, सरकारी प्रतिनिधिलगायतका पाहुनाको उपस्थिति रहनेछ। यस्तै, विदेशीलाई नेपाली औषधि उद्योगको अवलोकन गराइनेछ।
आर्थिक वर्ष २०७८-२०७९ नेपालका औषधि उद्योगीले करिब ३४ अर्बको औषधिको कारोबार गरेको सो अवसरमा जानकारी दिइएको थियो। आर्थिक वर्ष २०७९-२०८० मा व्यापार घटेर २९ अर्ब ३६ करोडमा सीमित भएको जनाइएको छ।
एक्स्पोमा १६० वटा स्टल राखिने छन् जसमा भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मनी, चीनलगायत ९ देशले उत्पादनमा प्रयोग गर्ने उपकरण, प्रयोगशाला उपकरण, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिने छन्।
एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ। एक्स्पो २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।