धरान एक्सपोमा १२ करोडको कारोबार, पोहोरभन्दा दुई करोड बढीको व्यापार

बिजमाण्डू
२०८० फागुन २४ गते ०६:५९ | Mar 7, 2024
धरान एक्सपोमा १२ करोडको कारोबार, पोहोरभन्दा दुई करोड बढीको व्यापार
तस्विर धरान एक्सपोको फेसबुक पेजबाट

काठमाडौं । स्थानीय व्यवसायीका उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको व्यापारिक मेला ‘धरान एक्स्पो’मा १२ करोडको आर्थिक कारोबार भएको छ।

Tata
GBIME

फागुन ११ गतेदेखि सुरु भएको एक्स्पो बुधबार समापन भएसँगै १२ करोड बराबरको कारोबार भएको आयोजक सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले जानकारी दिए। उनका अनुसार एक्स्पो एक लाख ८० हजार जनाले अवलोकन गरेका थिए।

अघिल्लो वर्ष संघले आयोजना गरेको एक्स्पोमा १० करोडको कारोबार भएको थियो। यसपटक अघिल्लो वर्षको तुलनामा दुई करोड कारोबार वृद्धि भएको हो।

उत्सवको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोशी प्रदेशसभाका सदस्य रमेशकुमार बस्नेतले एक्स्पोका माध्यमबाट स्थानीय व्यापारी व्यवसायी र उपभोक्ताबीच पुलको काम गरेको बताएका थिए। कार्यक्रममा विशेष अतिथिका रुपमा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले धरान एक्स्पोले बजारको पुँजी चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए। एक्स्पोले आर्थिक गतिविधि बढाउन मात्र नभई धरानको कला, संस्कृति प्रवर्धन गर्न पनि सहयोग पुर्‍याएको उनले बताए।

आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले हरेक वर्ष धरान एक्स्पोलाई निरन्तरता दिन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।