सर्वसाधारणलाई प्रिमियममा सेयर जारी गरेको सोनापुर सिमेन्ट करिब १५ करोड नोक्सानीमा

बिजमाण्डू
२०८० माघ २९ गते १०:०८ | Feb 12, 2024
सर्वसाधारणलाई प्रिमियममा सेयर जारी गरेको सोनापुर सिमेन्ट करिब १५ करोड नोक्सानीमा

काठमाडौं। सर्वसाधारणलाई प्रिमियममा सेयर जारी गरेको सोनापुर मिनरल्स एण्ड आयल(सोनापुर सिमेन्ट)को नोक्सानी करिब १५ करोड रुपैयाँ पुगेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीको वित्तीय अवस्थालाई नजरअन्दाज गर्दै १ सय ३७ रुपैयाँ प्रिमियममा सर्वसाधारणमा सेयर जारी गर्न अनुमति दिएको थियो।

Tata
GBIME

कम्पनीले निकालेको वित्तीय विवरणमा पुस मसान्तसम्म १४ करोड ७८ लाख रुपैयाँ नोक्सानी छ। गत वर्ष कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा थियो। कम्पनीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म व्यापार ५९.२१ प्रतिशतले घटेको छ। कम्पनीले यो वर्षको पुस मसान्तसम्म ७० करोड ५६ लाख बराबरको व्यापार गरेको छ। गत वर्षको सोही अवधिमा १ अर्ब ७३ करोडको व्यापार कम्पनीले गरेको थियो।

गत वर्षको तुलनामा  कम्पनीको संचालन नाफा १०४ प्रतिशतले घटेको छ। गत वर्ष २५ करोड रहेको संचालन नाफा यस वर्षको पुस मसान्त सम्म आइपुग्दा १ करोड १४ लाख ऋणात्मक छ।

कम्पनीको जगेडामा ६५ करोड संचित छ। गत वर्ष ८० करोड थियो। यस्तै चुक्ता पुँजी हाल ३ अर्ब ७ करोड छ। नाफा प्रभावित हुँदा कम्पनीको प्रति सेयर आम्दानी ऋणात्मक देखिएको छ। पुस मसान्त सम्म कम्पनीको प्रति सेयर आम्दानी ९.६२ ऋणात्मक छ। यस्तै प्रति सेयर नेटवर्थ १७४.९८ रुपैयाँ छ।