प्रधानमन्त्रीको प्रश्नपछि मन्त्री किराती यूटर्न, एनएसी अध्यक्षलाई सोधे- न्यारोबडी जहाज मर्मतमा किन खेलाँची?



वसन्तराज उप्रेती
२०८० माघ १७ गते १८:३९ | Jan 31, 2024
प्रधानमन्त्रीको प्रश्नपछि मन्त्री किराती यूटर्न, एनएसी अध्यक्षलाई सोधे- न्यारोबडी जहाज मर्मतमा किन खेलाँची?

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगम (एनएसी)का अध्यक्ष युवराज अधिकारीसँग न्यारोबडी जहाज मर्मत सम्भारमा गरेको चरम ढिलाइलाई लिएर जवाफ मागेका छन्।

Tata
GBIME
Nepal Life

एनएसीको बेथितिमा ठोस कदम नचालेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्टि जनाएपछि मन्त्री किरातीले बुधबार अधिकारीलाई मन्त्रालयमा बोलाएर जहाज मर्मतमा किन लापरबाही गरेको भनी प्रश्‍न सोधेका हुन्। उनी आफ्नै पद जाने डरका कारण केही दिनयता यूटर्न भएका हुन्।

किरातीले गत शनिबारसम्म एकपछि अर्को कैफियतमा पनि एनएसी अध्यक्ष अधिकारीको काँध थाप्दै आएका थिए। तर प्रधानमन्त्रीले आफूलाई बोलाएर एनएसीभित्रको बेथितिमा ठोस कदम चाल्न नसके आफैं अग्रसरता लिने बताएपछि अधिकारीसँग अरुकै सामुन्ने स्पष्टीकरण सोध्न थालेका हुन्।

मन्त्रालयमा बुधबार एनएसीको ‘संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ को प्रतिवेदन कार्यन्वयन गर्न बनेको अर्को समितिको प्रतिवेदन बुझाउने कार्यक्रम थियो। त्यो कार्यक्रममा एनएसी अध्यक्ष अधिकारीलाई पनि बोलाइएको थियो। मन्त्री किरातीले प्रतिवेदन तयार पार्ने समितिका संयोजक कुलबहादुर लिम्बु र सदस्यहरुकै सामु अधिकारीसँग जवाफ मागेका थिए।

मन्त्री किरातीले मर्मतमा न्यारोबडी जहाज मरम्तमा खेलाँची किन भनेर प्रश्‍न गरेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए। ‘जहाज मर्मतमा यत्रो समय लगाएपछि निगम कसरी चल्छ? यो ढिलाइको कारण के हो? मलाई जवाफ चाहियो,’ किरातीलाई उद्यृत गर्दै उनको सचिवालयका एक सदस्यले भने।

सुदन किराती

एनएसीको ९ एन-एकेएक्स कलसाइनको न्यारोबडी जहाज मंसिर १५ गतेदेखि ग्राउण्डेड छ। त्यो जहाज ग्राउण्डेड हुँदा एनएसीले ७० करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइसकेको छ। तर जहाज कहिले मर्मत हुन्छ भन्ने अझै टुंगो छैन।

मर्मतका लागि पुस २७ गते जहाज इजरायल पठाइएको थियो। तर मर्मतको जिम्मा पाएको एमआरओ इजरायल एरोस्पेस इन्डस्ट्रिजले इन्जिन बनाएर दिने मिति टुंगो लागेको छैन।

एनएसीको ९ एन-एकेएक्स जहाज

तर अधिकारीले यसबारे मन्त्रीलाई कुनै जवाफ दिएनन्। उनले ९ एन-एकेडब्लु कलसाइनको अर्को न्यारोबडी जहाजको सिट ब्रिग्रिएको विषयमा भने कानुनी प्रकृया अपनाउँदा बनाउन समय लागेको जवाफ दिए। उनले केही दिनमै सिट मर्मत हुने जवाफ दिएको मन्त्रीको सचिवालयले जनाएको छ।

जहाज मर्मतमा खेलाँचीका कारण एनएसी आर्थिक रुपमा कमजोर बन्दै जाँदा पनि किन कुनै कदम नचालेको भनेर प्रधानमन्त्री दाहालले प्रश्‍न गरेपछि पर्यटनमन्त्री किराती अध्यक्ष अधिकारीसँग खरोरुपमा प्रस्तुत हुन थालेका हुन्।

दाहालले किरातीलाई बोलाएर ‘जहाज दुई महिनासम्म ग्राउण्डेड गरेर राखिरहँदा पनि विभागीय मन्त्रीले मौनता साँधिरहन मिल्छ?’ भनेर प्रश्‍न गरेका थिए।

पुष्पकमल दाहाल

जहाज मर्मतमा खेलाँची गरिरहेको एनएसी व्यवस्थापन लिजमा जहाज भित्र्याउने योजनामा लागेका कारण प्रधानमन्त्रीले मन्त्री किरातीलाई ‘कि तपाईं हस्तक्षेप गर्नुस्, होइन भने म आवश्यक निर्णय लिन्छु’ भनेको स्रोतले जानकारी दियो।

यसअघि अध्यक्ष अधिकारीका गलत कदममा काँध थाप्दै आएका मन्त्री किराती प्रधानमन्त्रीले नै हस्तक्षेप गर्ने संकेत देखाएपछि आक्रामक हुन थालेका हुन्। उनी सोमबार ट्विनअटर जहाज मर्मत नगरेको भन्दै अधिकारीसँग झोक्किएका थिए।

त्यस क्रममा उनैले प्रधानमन्त्रीले एनएसीमा सुधारका लागि आफूलाई निर्देशन दिएको आशयको अभिव्यक्ति दिएका थिए। ‘परिणाम देखिने गरी काम नगरे प्रधानमन्त्रीले मलाई मन्त्री पदमा किन राखिरहनु हुन्छ?’ भन्दै उनले एनएसीमा सुधार नगरे अध्यक्ष अधिकारीलाई हटाउनेसम्म बताएका थिए।

‘तपाईंबाट मैले जस्तै मबाट प्रधानमन्त्रीज्यूले परिणाम खोज्नु हुन्छ। परिणाम दिन नसके मलाई प्रधामन्त्रीज्यूले मन्त्रीको कुर्सीमा किन राख्ने? मैले तपाईंलाई किन राखिरहने?,’ किरातीले अधिकारीसँग सोमबार गरेको प्रश्‍न बुधबार पनि दोहोर्‍याएका छन्।