पर्यटनमन्त्री किराती एनएसी अध्यक्ष अधिकारीप्रति एकाएक आक्रोशित, परिणाम दिन नसक्नेलाई किन राख्ने?



वसन्तराज उप्रेती
२०८० माघ १५ गते १८:५८ | Jan 29, 2024
पर्यटनमन्त्री किराती एनएसी अध्यक्ष अधिकारीप्रति एकाएक आक्रोशित, परिणाम दिन नसक्नेलाई किन राख्ने?

काठमाडौं। एकपछि अर्को कैफियतमा नेपाल वायु सेवा निगम (एनएसी)का कार्यकारी अध्यक्ष युवराज अधिकारीको काँध थााप्दै आएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सोमबार भने फरक रुपमा प्रस्तुत भएका छन्।

Tata
GBIME
Nepal Life

उनले जहाज मर्मत सम्भारमा बेवास्ता गरेको भन्दै अधिकारीप्रति एनएसीका कर्मचारीकै सामुन्ने आक्रोश पोखेका हुन्।

मन्त्री किराती सोमबार अपराह्‍न त्रिभुवन विमानस्थल गएका थिए। उनले विमानस्थलमा एनएसीको ट्विनअटर जहाज मर्मत नगरी थन्क्याएर राखेको देखेपछि अधिकारीको आलोचना गरेका छन्। त्यो जहाज मर्मत नगरी ११ वर्षदेखि ग्राउण्डेड छ।

उनले ट्विनअटर जहाज मर्मतका लागि अधिकारीलाई ६ महिनाअघि नै निर्देशन दिएका थिए। आफ्नो निर्देशन कार्यान्वयनका लागि कुनै प्रक्रिया नै अगाडि नबढाएको पाइएपछि मन्त्री किरातीले संचालक समितिका सदस्य किशोर प्रधान र निगमका केही कर्मचारीकै सामुन्ने अधिकारीलाई हटाउनेसम्मको आशयको अभिव्यक्ति दिएका छन्।

‘परिणाम दिन नसक्नेलाई किन अध्यक्षको रुपमा राखि राख्‍ने?,’ उनले आक्रोशित मुद्रामा प्रश्‍न गरे। मन्त्री आक्रोशितरुपमा प्रस्तुत भएपछि अध्यक्ष अधिकारी निकै मलिन देखिएका थिए।

‘निगम सञ्चालक समितको बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो। निगमका अध्यक्ष अधिकारीले कानुनी प्रकृया पूरा भएको २ महिनामै जहाज बनाइसक्ने जवाफ दिनुभएको थियो,’मन्त्री किरातीको सचिवालयका एक कर्मचारीले भने, ‘जहाज मर्मत गरी दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने योजना थियो। तर मर्मतका लागि कुनै प्रक्रिया नै अगाडि बढाएको नपाइएपछि मन्त्री आक्रोशित हुनुभएको हो।’

पर्यटनमन्त्री सुदन किराती सोमबार त्रिभुवन विमानस्थलमा

मन्त्री किरातीले अध्यक्ष अधिकारीमाथि आफूलाई ढाँटेको आरोप लगाएका छन्। ‘पहिला जस्तो ढाँट्न पाइन्न । मलाई परिणाम चाहिएको हो। परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने?’, उनले अधिकारीलाई लक्षित गर्दै भने छन्, ‘मलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेका हुन् र प्रधानमन्त्रीज्यूले मलाई यो मन्त्रालयको जिम्मा दिनुभएको हो। तपाईंबाट मैले जस्तै मबाट प्रधानमन्त्रीज्यूले परिणाम खोज्नु हुन्छ। मैले परिणाम दिन नसके मलाई प्रधामन्त्रीज्यूले मन्त्रीको कुर्सीमा किन राख्ने?’

संचालक समितिको बैठकले ग्राउण्डेड ट्विनअटर जहाज मर्मत संभारका लागि २० करोड रुपैयाँसम्म खर्च गर्न स्वीकृति दिएको थियो। तर हालसम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना बनाइएको छैन।

त्यसो त एनएसीको ९ एन-एकेएक्स कलसाइनको न्यारोबडी जहाज २ महिनादेखि ग्राउण्डैड छ। त्यो जहाज मंसिर १५ देखि ग्राउण्डेड हुँदा एनएसीले ७० करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइसकेको छ।

तर, त्यो जहाज कहिलेसम्म मरम्त हुन्छ भन्ने अझै टुंगो छैन। एनएसी व्यवस्थापनले मर्मतका लागि एमआरओ कम्पनीलाई इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई) लाई ताकेता गरेको छैन।

मन्त्री किरातीले अध्यक्ष अधिकारीका कमजोरीलाई अब सहेर नबस्ने बताएका छन्। ‘परिणाम दिन नसक्ने अध्यक्षलाई पालिरहन सकिंदैन,’ किरातीलाई उद्यृत गर्दै उनको सचिवालयका एक सदस्यले भने। किरातीले अधिकारीलाई हटाउनका लागि कानुनी बाधा हटाउन समेत पछि नपर्ने बताएका छन्।

अधिकारीले मन्त्री किरातीलाई एनएसीको आम्दानीबारे झुटो विवरण बुझाएका छन्। अधिकरीले दिएको विवरणका आधारमा किरातीले संसदीय समितिको बैठकमै एनएसीले गत आर्थिक वर्ष मुनाफा कमाएको झुटो दाबी गरेका थिए। एनएसीले गत आर्थिक वर्ष १० महिनामै २ अर्ब १६ करोड रुपैयाँ घाटा बेहोरेको मन्त्री किरातीले गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, न्यारोबडी जहाज मर्मतमा बेवास्ताले एनएसीले ठूलो आम्दानी र विश्वसनियता गुमाउँदा पनि मन्त्री किरातीले अधिकारीलाई धाप मार्दै आएका थिए। मन्त्री किराती डिजाइन नै नबनाइएको एनएसीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भन्दै अधिकारीको लहलहैमा लागेर शनिबार सिनामंगलमा भूमिपूजामा सहभागी भएका थिए।