
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले वैकल्पिक इन्धन (नवीकरणीय उर्जा) प्रयोगमा ल्याउने योजना सार्वजनिक गरेको छ।दाङको घोराही उपमहानगरपालिकामा सम्पन्न तेस्रो वार्षिक साधारण सभाका क्रममा यो तयारीबारे जानकारी दिइएको हो।
कम्पनीका अध्यक्ष पुरुषोत्तम लाल संघईले उद्योगका लागि कोइलाको सट्टा वैकल्पिक इन्धन (नवीकरणीय उर्जा) समेत प्रयोगमा ल्याउने योजना रहेको बताएका हुन्।
‘उद्योगले कोइलाको सट्टामा वैकल्पिक इन्धनको समेत प्रयोग गरि उद्योगको उत्पादन लागत घटाई बढी प्रतिस्पर्धी बनाउँदै लैजाने नीति लिएको छ। यसले उद्योगको आम्दानीमा थप योगदान पुग्ने विश्वास लिएको छु,’ संघइले भने।
पुस २८ गते दाङको घोराही उपमहानगरपालिका-१५ भरतपुरमा कम्पनीको तेस्रो साधारण सभा सम्पन्न भएको थियो।
साधारण सभाले नयाँ संचालक समितिमा दुईजनालाई नियुक्त गरेको छ। कात्तिक २ गते राजीनामा दिएका संचालकहरु गोविन्दलाल संघई र हर्षबर्धन संघईको पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पास गरेको हो। हाल कम्पनीमा ५ जना संस्थापक समूहका संचालक छन्।
कम्पनीले सर्वसाधारणको तर्फबाट निर्वाचित गरेर मिलन सिक्देललाई संचालकमा नियुक्ति गरेको छ। यस्तै, संचालक समितिले सिफारिस गरे अनुसार स्वतन्त्र संचालकमा विमलप्रसाद ढकाललाई नियुक्ति गरेको छ।
साधारण सभाबाट लाभांश दिने विशेष प्रस्ताव अनुमोदन भएको छ। गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित भएको छ। सो लाभांश पुस १५ गते सम्म कायम सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुनेछ।
सभाबाट संचालक समितिले तयार पारेको वार्षिक प्रतिवेदन, सो प्रतिवेदन सहितको नाफा/नोक्सान/ नगद प्रवाह विवरण सहितको वार्षिक आर्थिक विवरण लगायतका प्रस्तावहरु पारित गरिएको छ।
सो अवसरमा अध्यक्ष संघईले सिमेन्ट र क्लिङ्कर भारत निर्यात गर्न अनुमति पाइसकेको र प्रक्रिया सुरु भइसकेको समेत बताएका थिए। साथै चुनढुङ्गाको भरपर्दो आपूर्तिका लागि थप खानी संचालनको प्रक्रिया समेत अगाडि बढाइएको उनले बताएका थिए।
कम्पनीले चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा दुई लाख ८९ हजार ८७० मेट्रिक टन सिमेन्ट तथा क्लिङ्कर उत्पादन गरेको छ। सो उत्पादनमध्ये १ लाख ८२ हजार ७८७ मेट्रिक टन उत्पादन बजारीकरण गरेको छ। कम्पनीले मंसिरसम्म निकासी सहित १ अर्ब ४२ करोड २५ लाख बराबरको व्यापार गरेको छ।