चितवनमा ३ वर्षपछि हात्ती महोत्सव, हात्ती पोलो भने नहुने, लगत्तै नयाँ वर्ष अफर

बिजमाण्डू
२०८० पुष ३ गते १२:४१ | Dec 19, 2023
चितवनमा ३ वर्षपछि हात्ती महोत्सव, हात्ती पोलो भने नहुने, लगत्तै नयाँ वर्ष अफर


काठमाडौं । चितवनमा हात्ती एवम् पर्यटन महोत्सव हुने भएको छ। कोभिड-१९ का कारण ३ वर्षयता रोकिएको महोत्सव पुस १० देखि १४ गतेसम्म आयोजना हुने भएको हो।

Tata
GBIME
NLIC

होटल संघ नेपाल ( हान) ले मंगलबार महोत्सवको बारेमा जानकारी दिएको हो। यसपटकको महोत्सवमा हात्ती पोलो प्रतियोगिता भने नहुने भएको छ।

हात्तीमाथि शोषणको मुद्दा उठेसँगै यो वर्ष हात्ती पोलो प्रतियोगिता भने रोकिएको होटल संघले जनाएको छ। अन्य प्रतिस्पर्धा भने पहिलाका संस्करणमा झैं यथावत रहने संघका अध्यक्ष विनायक शाहले बताए।

‘वाइल्ड लाइफ टुरिजमको माग अनुसार सेवा दिइएको हो,’ उनले भने,’यसबाट प्रत्यक्ष प्रभाव पर्ने भनेको पर्यटक आवागमनमा नै हो।’

हात्ती पोलो प्रतिस्पर्धाबाहेक हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बीटुबी सहमति, सांस्कृतिक झाँकी लगायत कार्यक्रमको तालिका रहेको संघका कोषाध्यक्ष युवराज श्रेष्ठले बताए।

यो महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवर्धन हुने आयोजकले विश्वास लिएको छ।

चितवनमा यो महोत्सव सकिएसँगै होटल संघले नयाँ वर्ष सन् २०२४ को आगमनलाई लक्षित गरेर कार्यक्रम ल्याउने तयारी गरिरहेको क्षेत्रीय होटल संघ चितवनका कोषाध्यक्ष माधव दुवाडीले बताए। 

सन् २०२४ लाई ‘चितवन भ्रमण वर्ष’को रुपमा घोषणा गरिएको छ। हात्ती महोत्सवले सो भ्रमण वर्षको प्रचारप्रसारमा पनि ठूलो योगदान पुर्‍याउने उनले बताए।

१ करोड ८ लाख रुपैयाँ लागतमा संचालन हुन लागेको महोत्सवमा हरेक दिन करिब २० हजार जनाको सहभागिता रहने अनुमान आयोजकको छ।