
प्रभात भट्टराई/बिजमाण्डू
फ्रान्समा जारी युरोकप फुटबल २०१६ मा नक आउट चरणका खेल सुरु भएका छन्। पहिलोचरणबाट आठ टिम पराजय र आइतबार बिहान सम्ममा नक आउट चरणबाट तीन गरि ११ टोली घर फर्कि सकेका छन्। तर, जय र पराजय मैदानमा मात्र सिमित छैन । युरोलाई लिएर सिङ्गो कर्पोरेट दुनियाँ जित हारको होडमा छ।
युरोका कारण 'स्पोर्ट्स वेयर' देखि टिभी, वियर र हल्का पेय उत्पादक सम्मलाई दशैं आएको छ। 'स्पोर्ट्स वेयर' उत्पादकहरु एडिडास, नाइक, पुमा लगायतलाई बिभिन्न देशका साइज साइजका जर्सी बनाउन भ्याइ नभ्याइ छ। बजारमा नपुगि त्यो हारालुछ भएर सकिइ हाल्छ।
सहभागि मुलुकको संख्या १६ बाट २४ पुर्याउँदा पनि यिनै कम्पनीलाई फाइदा पुगेको छ, किनभने आफ्नै ग्राहक थपिएका छन्। सबै भन्दा धेरै एडिडासले युरो खेल्ने नौ टिमको जर्सी उत्पादनको अनुमति पाएको छ। यसमा विश्व बिजेता जर्मनी देखि युरोको डफेन्डिङ च्याम्पियन स्पेन सम्म छन्। यस्तै नाइक छ र पुमाले पाँच देशलाई आपुर्ती गरेका छन्। बाँकी देशहरुलाई साना कम्पनीहरु जुमा, उम्ब्रो लगायतले स्पोर्ट्स वेयर आपुर्ती गर्छन्।
फुटबलको नियमित प्रायोजक काल्सबर्गले युरो लक्षित प्रचारका लागि मात्र आठ करोड युरो खर्चिएको छ। कोकको बजार पनि त्यसै गरि उधुम उकालो लागेको छ। बिश्व भरनै युरोकप देखाउन ठूला स्क्रिन राखेरका रेष्टुराँ र बारहरुको ब्यापारमा पनि उछाल आएको छ।
त्यस बाहेक फ्रान्सका होटलहरुको चाँदी कटाइको त कुरै छैन। पर्यटकको सधैं घुइँचो लाग्ने राजधानी पेरिस लगायतका स्थानमा उसै पनि होटल महङ्गो छ। त्यस माथि युरोको मौका छोपेर व्यवसायीले ८० प्रतिशत सम्म मूल्य बढाएका छन्। अघिल्लो सातासम्म प्रति रात ९३ युरोमा पाइने होटलको कोठाको मूल्य खेल हुने रात एक सय ६७ युरो तोकिँदा पनि फ्यानहरुको हारालुछ कम छैन।
फ्रान्सका लागि युरोको लाभ त्यतिमा सकिन्न। समग्रमा बिभिन्न देशबाट आएका फुटबल फ्यानले खर्च गर्ने कुल करिब एक अर्ब ३० करोड युरो त्यहाँको अर्थतन्त्रमा थपिनेछ। यस्तै प्रतियोगिता फ्रान्सेली स्टेडियम सञ्चालन गरे बापत एक अर्ब ७० करोड पाउनेछ। यसरी आयोजक फ्रान्सले युरोकपबाट सोझै तीन अर्ब युरो फाइदा गरेको छ।
फुटबलमा युरोपको आधिपत्य
इतिहासमै सबैभन्दा धेरै टिम सम्मिलित यस पटकको युरो सहभागिता र खेल दृष्टिले मात्र भव्य छैन। लगातार बढ्दो बजेट यसको अर्को आकर्षण हो। युरोपेली फुटबल महासंघले यसपाली दुई अर्ब युरो रेभेन्यु उठाउने लक्ष राखेको छ। यो चार बर्ष अघि पोल्यान्ड र युक्रेनले सम्युक्त रुपमा आयोजना गर्दाको समय भन्दा ४३ प्रतिशत बृद्धिको लक्ष हो। त्यस बेला एक अर्ब ४० करोड रेभेन्यु संकलन भएको थियो।
यस्तै प्रायोजन रकम ४० प्रतिशतले बढेर युरो २०१६ युरोपकै ठूलो आर्थिक गतिविध समेत बन्न पुगेको छ। प्रायोजन रकममा १९९६ पछिको ठूलो छलाङ हो।
सहभागी टिमको संख्या अघिल्लो पटक भन्दा ५० प्रतिशतले बृद्धि हुँदा फ्यानसँगै टिकटबाट हुने आय त बढ्नेनै भयो। त्यस बाहेक टेलिभिजनहरुलाई लाइभ प्रशारणको अधिकार दिए बापत समेत युरोपेली फुटबलको सर्बोच्च संस्थाले एक अर्ब पाँच करोड युरो कमाएको छ। यो अघिल्लो पटक भन्दा २५ प्रतिशतले बढी हो।
यसबाट पनि युरोपेली फुटबल प्रतिको विश्व चासो बुझ्न सकिन्छ। प्रतिभाशाली फुटबलर उत्पादनमा युरोप भन्दा दक्षिण अमेरिका उर्वर मानिन्छ। तर, दक्षिण अमेरिकी देशमा जन्मिएका खेलाडी आफ्नो भूमीमा मात्र खेलेर विश्वमाझ चिनिन सक्ने अवस्था छैन। युरोपको कमर्शियल ग्लामरकै कारण हो दक्षिण अमेरिकाका हरेक खेलाडीको इङ्लिस, स्पेनिस, जर्मन, फ्रेन्च या इटालियन क्लवहरुमा आवद्ध हुने होड चल्ने। त्यहिँबाट उनीहरुले नाम र दाम कमाउन सफल भएका छन्।
युरोपको क्लव फुटबलमा चम्किएका सबै खेलाडी युरोकपमा देखिन्नन्। तर युरोपेली क्रेजी यति भइ सक्यो कि फुटबलमा व्यवसायमा जोड्न चाहने जो कसैको पहिलो आँखा त्यहिँ पर्छ। त्यसको पछिल्लो प्रमाण हो युरोपेली क्लबहरुमा एसिया र मध्यपुर्वका धनाड्यहरुको बढ्दो लगानी। त्यसैले युरोकपमा कुन खेलाडी खेल्दैछ भन्ने प्रश्न भन्दा पनि त्यो युरोप हो भन्ने कोणबाट लगानी र पैसाको बर्षा भइ रहेको छ। त्यहि लगानीले दर्शकको संख्या पनि लगातार बिस्तार गर्दैछ।
अहिले युरो सँगै दक्षिण र उत्तर अमेरिकी देशहरु सम्मिलित कोपा अमेरिका सेन्टेनारियो चलि रहेको छ। लियोनेल मेसी देखि एलेक्सिस साञ्चेज सम्म युरोपेली क्लवका हटकेक खेलाडी उक्त प्रतियोगिता खेल्दैछन्। दक्षिण अमेरिकी देशहरुबीच प्रतिश्पर्धात्मक फुटबल विश्वकप भन्दा नि जेठो छ। उक्त प्रतियोगिताको शतबार्षिकीको अवसर पारेर यसपाली कोपा अमेरिका आयोजना गरिएको हो।
तर, यो प्रतियोगिता युरोको पुरै छायाँमा छ किनभने त्यहाँ छेलोखेलो पैसा छैन। १६ टिम सम्मिलित कोपा अमेरिकाको टेलिभिजन ब्रोडकाष्ट अनुमति ११ करोड २५ लाख अमेरिकी डलरमा बिक्री भयो। जुन युरोको १० प्रतिशत पनि होइन।
युरोको लाभ आयोजक राष्ट्र र संस्थालाई मात्र छैन। बिजेता टोलीको पुरस्कार समेत बढाइएको छ। युरो २०१६ को ट्रफि चुम्नेले दुई करोड ७० लाख युरो पाउनेछ। जुन सन् २०१२ को तुलनामा ३५ लाख युरोले बढी हो। सहभागि सबै टोलीले न्युनतम ८० लाख युरो पाउनेछन्। त्यसपछि हरेक गेम जितेपिच्छे पुरस्कार रकम बढ्दै जानेछ।
-एजेन्सीको सहयोगमा