उदाउँदो ‘गिग अर्थतन्त्र’को फैलँदो साम्राज्य‚ यस्तो छ नेपाली गतिविधिको योगदान‚ अर्पण पौडेलको लेख

बिजमाण्डू
२०८० मंसिर २८ गते १२:४५ | Dec 14, 2023
उदाउँदो ‘गिग अर्थतन्त्र’को फैलँदो साम्राज्य‚ यस्तो छ नेपाली गतिविधिको योगदान‚ अर्पण पौडेलको लेख


कोरोनाको कहर सँगसँगै संसारभर विस्तारित प्राविधिक छलाङबाट सिर्जित डिजिटल व्यावसायिकताले आय आर्जनका क्षेत्रमा नौला आयामहरु थपी समग्र अर्थतन्त्रलाई नयाँ क्षितिजतर्फ डोर्‍याउँदै परम्परागत आर्थिक गतिविधिहरुमा नयाँ प्रतिमानहरु स्थापित गरिदिएको छ। जसबाट आगामी दिनहरुमा विद्यमान अर्थतन्त्रका आधार स्तम्भहरुमा विविधीकरण हुने निश्‍चित नै छ।

Tata
GBIME
NLIC

मान्छेहरुको विगतको जीवनशैली, काम गर्ने र पैसा खर्च गर्ने तरिका आदिमा तत्कालिन समयमा सिर्जित खण्डित कार्य पद्धति, सामाजिक दूरीमा आधारित दैनिकी आदि जस्ता जीवनशैलीलाई सहज बनाउन गरिएका प्राविधिक नवप्रवर्तनहरुले पछिल्लो दैनन्दिन विस्तारमा पृष्ठपोषण गरेका हुन्। विशेषगरि अस्थायी, स्वतन्त्र, अनौपचारिक तथा मागमा आधारित कार्यशैली वा गिग कार्यहरुको विकासमा कोरोनापछिको कालखण्ड निकै उर्वर बन्यो‚ जसबाट गिग अर्थतन्त्रको मौद्रिक आयतन विस्तारमा टेवा पुगी समग्र अर्थव्यवस्थामा यसको महत्त्वपूर्ण हिस्सा कायम हुन पुगेको देखिन्छ।

सामान्यतयाः गिग कार्यभित्र दीर्घकालीनरूपमा कर्मचारी तथा रोजगारदाताको सम्बन्ध स्थपित हुनुपर्ने विद्यमान परिपाटीभन्दा बाहिर रहेर अन्य स्वतन्त्र एवं अनौपचारिक क्रियाकलापहरुबाट गरिने आय आर्जनहरु समावेश हुने गर्दछन्। यस्ता क्रियाकलापहरुको समष्टिगत योगफललाई गिग अर्थतन्त्रभित्र गणना गरिन्छ।

विश्‍वको श्रमबजारमा गिग अर्थतन्त्रको करिब १२ प्रतिशतको योगदान रहेको विश्‍व बैंकका तथ्यांकबाट प्रष्टिन्छ। मोबाइल प्रविधिले मात्रै विश्‍व अर्थतन्त्रमा करिब ५ प्रतिशतको योगदान दिइरहँदा ५.२ ट्रिलियन अमेरिकी डलरको मौद्रिक योगदान गर्दै करिब २८ मिलियन रोजगारीका अवसरहरु सिर्जना गरेको प्रकाशित तथ्यमार्फत दाबी गरिएको छ। प्रविधिगत नवप्रवर्तन तथा बदलिँदो जीवनशैलीको आडमा झांगिदै गरेको गिग अर्थतन्त्रमा मुख्यरूपमा स्थान, कार्यतालिका, उद्देश्य तथा संसाधनका आधारमा निम्‍नलिखित पक्षहरु बीचमा स्वतन्त्र वा स्वैच्छिकरूपमा नियमित अन्तरक्रिया गर्ने गर्दछन्।

  • स्वतन्त्ररुपमा काम खोज्नेहरुको जमात जसले स्थायीरुपमा नभई केबल मागका आधारमा काम गरि आय आर्जन गर्ने अभिलाषा राख्दछन्। 
  • खुद्रा, अस्थायी तथा विशेष श्रम तथा सेवाका मागकर्ताहरु जसले स्थायीरूपमा नभइ अल्पकालीन वा परियोजनामा आधारित काम गर्न अस्थायी श्रमिक खोज्ने गर्दछन्।
  • काम खोज्नेहरुलाई श्रम तथा सेवाका मागकर्ताहरुसँग जोडने डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालहरु। 

माथिका क्रियाकलापहरुको सञ्‍चालनबाट एक नयाँ प्रकारको परिस्थितिजन्य चक्र निर्माण हुन्छ। जसबाट नयाँ व्यवसाय स्थापना गर्न, मध्यस्थता गर्ने तथा लचकदार रोजगारी प्राप्तिका लागि अनवरत अवसरहरु सिर्जना भइरहेका हुन्छन्। प्राविधिको बाहुल्यतामा आधारित स्वतन्त्र प्रणालीमा आधारित रहने हुँदा प्रायः गिग अर्थव्यवस्थामा विशेषतः सन् १९८१ देखि १९९६ सम्ममा जन्मेका सहस्राब्दी पुस्ता र त्यसपछि जन्मेका एक्स वा जुमर पुस्ता जस्ता श्रमका आपूर्तिकर्ता तथा मागकर्ताहरुको बाहुल्यता रहने गर्दछ।

पछिल्लो समयमा उदीयमानरूपमा रहेका गिग कार्यहरुमा यातायात सवारी तथा खाना वितरण, स्वतन्त्र लेखन, अनलाइन पठनपाठन, ग्रफिक डिजाइन, छोटो समयको लागि घर वा यन्त्र उपकरण भाडामा लगाउने, भर्चुअल सहयोग, घरपालुवा जन्तु तथा जनावर सेवा, विभिन्‍न क्रियाकलापहरु सम्पादनका सहयोगी सेवा, सेवा प्रवाहक चालक, अस्थायी तथा परियोजनामा आधारित काम आदि जस्ता अनेकन समय सापेक्षित कामहरुले यस लाई समृद्ध बनाएका छन्। यसमा अदक्षदेखि विशेषज्ञसम्म सबैले अपेक्षाअनुसार अवसरको सदुपयोग गरिरहेका देखिन्छन्।

नेपालमा पनि पठाओ, इनड्राइभ, टुटल, फुडमाण्डु, अनलाइन प्रशिक्षण तथा परामर्श, कम्प्युटर प्रोग्रामिङ तथा सूचना प्रविधिगत सेवा, सामान खरिदबिक्री आदिजस्ता अनेकन प्रकारका गिगहरुका विस्तार भइरहेको देखिन्छ। यस्ता क्रियाकलापहरुलाई गतिशीलता प्रदान गर्न डिजिटलीकरण तथा प्राविधिक संलग्नता, कृत्रिम बौद्धिकता, फाइभ-जीको विस्तार, क्लाउड कम्प्युटिङ, व्यवहारगत कौशल, कौशलगत पुनः सबलीकरण तथा उन्नयन आदि जस्ता पक्षहरुले प्रत्यक्ष्यरूपमा प्रभाव भने पारिरहेका भेटिन्छन्।

चीनको अर्थतन्त्रमा करिब ४२ प्रतिशत डिजिटल अर्थतन्त्रले योगदान गर्दै गर्दा करिब २०० मिलियन रोजगारी गिगमा आधारित रहेको प्रतिवेदनहरुमा देखिन्छ। त्यस्तैगरि भारतमा करिब १५ मिलियन रोजगारी गिगबाट सिर्जना भएका छन्। भारतीय श्रमबजारले गिग क्रियाकलापहरुमार्फत करिब ३१ प्रतिशत अदक्ष, ४७ प्रतिशत अर्ध-दक्ष तथा २२ प्रतिशत दक्ष श्रमिकहरुलाई रोजगारी प्रदान गरिरहेको देखिन्छ। भारतिय अर्थतन्त्रमा १० प्रतिशतभन्दा बढीको योगदान डिजिटल अर्थतन्त्रको रहेको देखिन्छ।

त्यसैगरि अमेरिकी अर्थतन्त्रमा डिजिटल अर्थतन्त्रको भार हेर्दा करिब १० प्रतिशतकै हाराहारीमा देखिन्छ भने गिग क्रियाकलापहरुले अमेरिकी श्रम बजारमा करिब ३६ प्रतिशतको रोजगारी सिर्जना गरिरहेको देखिन्छ। नवप्रवर्तनको उदाउँदो लहरसँगै जुमर तथा सहस्राब्दी पुस्ताहरुका लागि गिगका नयाँ नयाँ आयामहरु सिर्जना हुने हुनाले आउँदा दिनमा वैश्‍विक अर्थव्यवस्थामा गिगमा आधारित मौद्रिक आयतनले महत्त्वपूर्ण हिस्सा लिने देखिन्छ।

नेपालको गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २४.१२ प्रतिशत, १३.४५ प्रतिशत र ६२.४३ प्रतिशत रहेको देखिन्छ। त्यसैगरी कुल गार्हस्थ उत्पादनमा अनौपचारिक क्षेत्रको योगदान लगभग करिब ३० प्रतिशतको हाराहारीमा छ भने कुल रोजगारीमा अनौपचारिक रोजगारीको हिस्सा करिब ५६ प्रतिशत रहेको भेटिन्छ।

नेपालमा कृषि‚ वन तथा मत्स्य, थोक र खुद्रा, सवारीसाधन मर्मतसम्भार, उत्पादन, निर्माण आदि क्षेत्रको कुल राष्ट्रिय रोजगारीमा दुई तिहाइभन्दा अधिक योगदान रहेको तथ्यहरुमा देख्न सकिन्छ। क्षेत्रगत आधारमा प्रयोग हुने गिगलाई ध्यान दिने हो भने राष्ट्रिय रोजगारीमा ठुलै जनसंख्या आश्रित रहेको आकलन गर्न सकिन्छ।

परम्परागत रोजगारीका अलावा पनि आंशिकरूपमा गिग कार्य गरि आय आर्जन गर्न सकिने हुनाले यसमा आबद्ध वास्तविक रोजगारीको अवस्था तथ्यहरुमा देखिएको भन्दा झनै अधिक हुन भने सक्छ।

नेपालमा गैरकृषिमा अनौपचारिक रोजगारीको करिब ४१ प्रतिशत रहनुले अनौचापरिक रोजगारीको ठूलो हिस्सा कृषिमा नै आश्रित रहेको समेत स्पष्ट हुन्छ। गिगको विकास एवं विस्तारको प्रमुख घटकका रूपमा रहने युवापुस्ता नै करिब ३५ प्रतिशत रोजगारी, शिक्षा तथा तालिमबाट वन्चित रहेको देखिन्छ‚ जुन बंगलादेश, भारत, पाकिस्तान तथा श्रीलंकामा भन्दा अधिक हो।

यसरी हेर्दा नेपालका अधिकांश युवाहरुको या वैदेशिक रोजगारी आय आर्जनको आधार बन्छ वा गिग भनेर सजिलै आकलन गर्न सकिन्छ। परम्परागत रोजगारीका अलावा पनि आंशिकरूपमा गिग कार्य गरि आय आर्जन गर्न सकिने हुनाले यसमा आबद्ध वास्तविक रोजगारीको अवस्था तथ्यहरुमा देखिएको भन्दा झनै अधिक हुन भने सक्छ।

गिग कार्यहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सीमाका बावजुद पनि बिना आवतजावत प्राविधिक प्लेटफार्मबाट गर्न सकिने हुनाले यसको दायरा परम्परागत निश्चित समय तलिकामा रहेर गरिने काम भन्दा निकै विस्तारित छ। मौद्रिक आयतन पूर्णरूपमा राष्ट्रिय आयमा समावेश नहुनु, कामका आपूर्तिकर्ता एवं मागकर्ताहरु बीच विविध विषयमा नैतिक तथा आर्थिक मापदण्ड नहुनु, आय आर्जन तथा काममा एकरूपता तथा सुरक्षा नहुनु, कामबाट दीर्घकालीन सेवा तथा सुविधाहरु नपाउनु, कतिपय विषयमा स्पष्ट कानुनी आधार तथा नियमनका मापदण्ड नहुनु आदि जस्ता अनेकन व्यवहारिक कठिनाइहरुका कारणले गिग अर्थतन्त्रको विस्तारमा केही अवरोध सिर्जना भएको देखिन्छ।

विश्‍व अर्थतन्त्रमा प्राविधिक नवप्रर्वतनहरुले उल्लेख्य योगदान गर्दै गर्दा नेपालमा भने टिकटक लगायतका सामाजिक सञ्जालहरुमा नियमन गर्नुको सट्टा प्रतिबन्ध लगाउने काम गर्दा रोजगारी तथा आय आर्जनमा समेत प्रतिकूल अवस्था सिर्जना भएको चर्चा समेत हुन थालेको छ।

पर्यटक आगमन र विप्रेषण आप्रवाहमा उल्लेख्यरूपमा आएको वृद्धि, घट्दो बैंकको ब्याजदरमा बढ्ने क्रममा देखिएको कर्जा, अमेरिकी डलरको अकासिदो विनिमयका कारणले कमजोर बन्दै गरेको नेपाली मुद्रासमेतलाई टेवा पुग्नेगरि अबका दिनमा विश्‍व अर्थतन्त्रमा आफ्नो योगदान बढाउदै गरेको डिजिटल र गिग अर्थतन्त्रका आधार स्तम्भहरुलाइ सुदृढ बनाएर उर्लदो विश्‍वव्यापीकरणको तीव्र बेगमा समय सापेक्ष लय मिलाउन तत्पर रहनुको विकल्प देखिदैन।

(उल्लेखित विचारहरु लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्)