
काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएका छन्। उनले पदावधि सकिनु १५ महिनाअघि नै मंगलबार राजीनामा दिएका हुन्।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले थानीले आफूलाई राजीनामापत्र दिएको बताए। ‘उहाँ राजीनामा पत्र लिएर आउनु भयो। भोलिदेखि नै काम नगर्ने मनसाय बनाएर आउनु भएको रहेछ,’ उनले भने, ‘मैले अझै १५ महिना बाँकि छ, काम गर्नुस् भन्दा उहाँले मान्नु भएन। उहाँले अब आफू जागिरे जीवनबाट अलग हुन चाहेको बताउनुभयो।’
थानीले राजीनामा दिएर आएपछि मात्रै निगमका उच्च अधिकारीलाई डाकेर जानकारी दिएका थिए। उनी चार बजे टेकुस्थित कार्यालय पुगेर राजनीतिमा जानका लागि कार्यकारी निर्देशकबाट राजीनामा दिएको बताएका थिए। उनले हठात राजीनामा दिएको जानकारीपछि उच्च अधिकारी सक्ड भएका थिए। थानी कार्यालयमा १० मिनेट बसेर निस्किएका थिए।
थानीले निगममा निकट रहेका अधिकृतसँग पनि राजनीतिमा जाने र कार्यकाल नसकिँदै राजीनामा दिने बारेमा कुरा गरेका थिएनन्। ‘उहाँले हामीसँग अब राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गर्नुभयो। तर उहाँले यसअघि राजनीतिका बारेमा कुनै कुरा गर्नुभएको थिएन,’ निगमका एक उच्च अधिकृतले भने।
स्रोतका अनुसार अनुचित दबाब थेग्न परेपछि थानीले राजीनामा दिएका हुन्। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपो गुहेश्वरीतर्फ सार्नुपर्ने थियो। झण्डै ७ अर्ब रुपैयाँको टेण्डर खोल्न र रोक्न दुवैतर्फको दबाब थियो,’ निगमका एक कर्मचारीले भने, ‘प्रोफेसनल हिसाबले काम गर्दै आएका थानीले यस्तो दबाब थेग्न सक्ने थिएनन्। त्यही भएर राजीनामा दिएका हुन्।’
थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष भइसकेका व्यक्ति हुन्। उनी २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए। उनलाई नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको चाहनामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका हुन्।