मोटरसाइकलको मूल्य फेरि बढ्यो, तीन महिनाको अवधिमा एउटै बाइकमा ३० हजारसम्म बढाइयो

शुक्र गिरी
२०८० मंसिर १२ गते २०:४१ | Nov 28, 2023
मोटरसाइकलको मूल्य फेरि बढ्यो, तीन महिनाको अवधिमा एउटै बाइकमा ३० हजारसम्म बढाइयो


काठमाडौं। विभिन्न दुई पाङ्ग्रे सवारीसाधन बिक्रेताहरुले तीन महिनामा मोटरसाइकलको मूल्य ३० हजार रुपैयाँसम्मले बढाएका छन्।

Tata
GBIME
NLIC

नाडा अटोमोबाइल्स एसोसिएसनल अफ नेपालले प्रकाशित गर्ने मूल्यसूची अनुसार तीन महिनाको अवधिमा ३० हजार रुपैयाँ मूल्य बढाएको पाइएको छ। नाडाले हरेक तीन/तीन महिनामा मूल्यसूची सार्वजनिक गर्छ। राज्यले नजिकबाट मूल्य घटबढबारे अनुगमन नगर्ने भएकाले बिक्रेताले आफूखुसी मूल्य बढाउने गरेका छन्।

साउनमा होन्डाको एक्सआर १९० एलपी डीके ७ लाख ३९ हजार रुपैयाँ रहेकोमा मंसिरसम्म आइपुग्दा ३० हजार रुपैयाँले मूल्य बढेर ७ लाख ६९ हजार ९०० रुपैयाँ पुगेको छ। यो ज्योति समूह अन्तर्गतको स्याकार ट्रेडिङले बिक्री गर्दै आएको छ। जगदम्बा मोटर्सले बिक्री गर्ने टीभीएस अपाचे आरटीआर-२०० को मूल्य १२ हजार रुपैयाँ बढाइएको छ। यो कम्पनीले एनटर्क स्कुटरको मूल्य दुई हजार रुपैयाँ बढाएको छ।

यस्तै यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले पनि एउटै बाइकमा तीन महिनाको अवधिमा १० हजारसम्म मूल्य बढाएको छ। मंगलबार प्रकाशित तथ्यांक अनुसार एफजेड, आर-१५ र एमटी जस्ता बाइकको मूल्य १० हजार रुपैयाँले बढेको छ।

गत साउनमा ३ लाख २९ हजार ९०० रुपैयाँ पर्ने एफजेड एफआई मोडलको मूल्य १० हजारले बढेर मंसिरमा ३ लाख ३९ हजार ९०० रुपैयाँ हुन पुगेको छ। यस्तै यसको अर्को नयाँ मोडल एमटी १५ बिएस-६ ब्लाक एण्ड ब्लु मोडलमा पनि १० हजार मूल्य बढेर ५ लाख ९ हजार ९०० रुपैयाँ पुगेको छ। यसको गत साउनमा ४ लाख ९९ हजार ९०० रुपैयाँ थियो।

यसैगरी बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले पनि एउटै मोडलमा १० हजार रुपैयाँसम्म मूल्य बढाएको छ। बजाज एनएस २०० एफआई एबीएसको मूल्य तीन महिनामा १० हजार रुपैयाँले बढेको छ। गत साउनमा ३ लाख ९१ हजार ९०० रुपैयाँ थियो। तर मंसिरमा मूल्य ४ लाख १ हजार ९०० रुपैयाँ कायम गरिएको छ। यस्तै पल्सर १५० को एसडी मोडलमा पनि ५ हजार रुपैयाँ मूल्य बढेको छ।

एभेन्जर १६० स्ट्रिट एबीएस मोडलमा पछिल्लो तीन महिनाको अवधिमा १२ हजार रुपैयाँ मूल्य बढेको छ। गत साउनमा ३ लाख ६१ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको बाइकको मूल्य मंसिरसम्म आइपुग्दा ३ लाख ६८ हजार ९०० रुपैयाँ हुन पुगेको छ।

पोहोरसम्म २ लाखको हाराहारीमा किन्न पाइने बाइक र स्कुटरहरुको मूल्य अहिले सवा दुई लाखदेखि तीन लाखभन्दा माथिसम्म उक्लिएको छ।

नाडा अध्यक्ष ध्रुव थापाका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा नेपाली बजारमा प्रभाव परेको हो।’विश्वव्यापीरुपमै स्पेयर पार्ट्सको मूल्य बढेको छ। उत्पादकले मूल्य बढाएपछि यहाँ बढ्नु स्वभाविक हो’, उनले भने।

यसैगरी बजाजको बिक्रेता हंसराज हुलासचन्दका सहायक प्रबन्धक अमितराज चालिसेले उत्पादकले नै बढाएर पठाएकाले यहाँ मूल्य बढेको जिकिर गरे । ‘हामीले आफैँले मूल्य बढाएका होइनौं। उत्पादकका कारण यहाँ भाउ बढाउन बाध्य हुन्छौं,’ उनले भने, ‘उत्पादक कम्पनीहरुले स्पेयर पार्ट्सदेखि उत्पादनमा लाग्ने सामाग्रीको मूल्य बढेको जानकारी गराएको छ।’

उनका अनुसार हरेक उत्पादक कम्पनीहरुले ३ देखि ६ महिनाको अन्तरालमा मूल्य समायोजन गर्ने गरेका छन्।

यसैगरी यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु क्षेत्री भारतमा मूल्य बढ्दा नेपालमा आयात गरेको सामानमा मूल्य बढ्नु स्वाभाविक भएको बताउँछन्।

‘भारतमा मूल्य बढ्दा नेपालमा पनि स्वाभाविक रुपमा मूल्य बढ्छ। भारतमा कुनै बाइकमा १ हजार भारु मूल्यवृद्धि भएको छ भने नेपालमा सो बाइकको मूल्यमा ४ हजार रुपैयाँले वृद्धि हुन्छ,’ उनले भने, ‘तीन महिना अगाडि आयात गर्दाको मूल्य र तीन महिनापछि आयात गर्दाको मूल्य फरक हुन्छ। त्यही अनुसार नेपालमा पनि मूल्य बढ्छ।’ उनले बिक्रेताले मनलाग्दी हिसाबले मूल्य बढाउन नसक्ने जिकिर गरे।