
काठमाडौं । पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको सेयर बजारमा ब्रेक लागेको छ। सोमबार नेप्से सूचक ११.२७ अंकले घट्दा पुन :१९ सय तलभन्दा ओर्लियो।
हाल नेप्से १८९६.६७ को विन्दुमा कायम छ। गत बुधबार देखि निरन्तर बढीरहेको सेयर बजार ७७.८४ अंक उक्लिसकेको थियो। आइतबार मात्रै नेप्सेले ४७.७५ अंकको फराकिलो फड्को मारेको थियो। तर लगत्तैको कारोबारमा दोहोरो अंक गुमाएको छ।
जलविद्युतमा आकर्षण कम देखिए पनि अप्पर स्याङ्गे हाइड्रोको सेयरमा ‘पोजिटिभ सर्किट’ लागेको छ। कम्पनीका सेयरधनीले आज मात्रै ७७.४ रुपैयाँ कमाएका छन्। पहिलो त्रैमास मै एक करोड ४० लाख नोक्सनी ब्यहोरेको अप्पर स्याङ्गेको चुक्ता पुँजी २२ करोड रुपैयाँ मात्रै छ।
५.८ रुपैयाँका दरले घटेको सोनापुर मिनरल्सको आज सबैभन्दा बढी सेयर कारोबार भयो। ७ करोड ७७ लाखको सेयर आज किनबेच भयो। जबकी आइतबारको तुलनामा कुल कारोबार रकम २५ करोड साँधुरिएर एक अर्ब ७५ करोड मात्रै छ।
लगानीकर्ता रिलायबल लाइफ इन्स्योरेन्सको सेयरमा पनि झुम्मिएका छन्। ७ करोड ६० लाखको सेयर पनि आज कारोबारमा आयो। तर त्यसको मल्य भने ४ रुपैयाँले घटेको छ।