भारतका अर्बपति एनआर नारायण मूर्तिले युवाहरुले लामो समयसम्म काम गर्नुपर्ने बताएका छन्। बेहेमथ इन्फोसिसका सहसंस्थापक मूर्तिले भारतलाई हप्ताको ७० घण्टासम्म काम गर्ने ‘अत्यन्तै दृढ, अनुशासित र अत्यन्त मेहनती’ युवाहरू खाँचो रहेको बताएका हुन्।
युट्युबमा बिहीबार प्रकाशित च्याटमा इन्फोसिसका सिइओरहेका मूर्तिले महनदास पाइलाई भने, ‘दोस्रो विश्वयुद्धपछि जर्मन र जापानले यही गरेका थिए।’
सन् १९८१ मा इन्फोसिस सुरु गरेका उनको सम्पत्ति ४ बिलियन अमेरिकी डलर (करिब ५३३ अर्ब) रहेको फोर्ब्सले जनाएको छ। उनको कम्पनी विश्वकै ठूलो ‘आउटसोर्सङ’ कम्पनीमा पर्छ।
मूर्ति बेलायती प्रधानमन्त्री ऋषि सुनकका ससुरा हुन्।
भारतको ‘वर्क प्रोडक्टिभिटी’ विश्वकै कम मध्ये पर्ने भन्दै मूर्तिले भने, ‘पश्चिमा देशबाट मन नपर्ने बानीहरू लिएर देशलाई सहयोग नगर्ने बानी हाम्रा युवाहरूमा छ।’
उनले चीनजस्ता ‘इमर्जिङ मार्केट’को नीतिहरुबाट भारतीयहरुले पाठ सिक्नुपर्नेसमेत बताएका छन्। हाल भारतले विश्वमा सम्मान पाइरहेको कुरा उल्लेख गर्दै टेक टाइकुन कहलिने मूर्तिले भारतका कर्पोरेट लिडरहरुले युवाहरुलाई धेरै परिश्रम गर्न प्रोत्साहन गर्नुपर्ने बताएका छन्।
मूर्तिको सो अभिव्यक्तिको सामाजिक संजालमा भने आलोचना भइरहेको छ। अध्ययनहरुले धेरै भारतीयहरु कम पारिश्रमिकमा धेरै लामो समय काम गर्ने गरेको देखिएको भन्दै मूर्तिको आलोचना भइरहेको हो।











